जीतलाल श्रेष्ठ, निजगढ, ५ मङ्सिर/

स्थानीय स्रोत साधनको उचित व्यवस्थापन, परिचालन र प्रयोग गरी सम्बन्धित स्थानीय तह अर्थात् नगरपालिका र गाउँपालिकाहरूले आमनागरिकको स्वस्थ जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने हो । त्यसमाथि वन, वातावरण, वन्य जीवजन्तुहरूलाई कुनै किसिमको समस्या सिर्जना हुने खालका गतिविधिहरू गराउन नहुने वातावरण संरक्षण ऐनमा प्रस्ट भनिएको छ । तर स्थानीय तह निजगढ नगरपालिकाको क्षेत्रभत्र रहेको फोहोरमैलालाई व्यवस्थापन गर्ने नाममा आगो सल्काउँदै मानवजीवन, वन्य जीवजन्तुको स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी वायु प्रदूषण विगत वर्षदेखि नै निजगढमा पुनः गरिएसँगै त्यस कार्यको स्थानीयहरू विरोध गरेका छन् ।

निजगढ नगरपालिकास्थित बकैया पुल दक्षिणतर्फ खोलानजीकै र पुलछेउ रहेको सशस्त्र प्रहरी सुरक्षा बेसबाट पनि प्रस्ट देखिने गरी प्रदूषण फैलाए पनि सशस्त्र प्रहरी बेससमेत मौन छ । निजगढ तामागढीस्थित राष्ट्रिय वन क्षेत्रसँगैको यस क्षेत्रमा नगरपालिका घोषणा भएसँगै खोला बगरभित्र पर्ने नदी उकास क्षेत्रमा निजगढ नगरपालिकाले फोहोरमैला राख्न डम्पिङ साइटको रूपमा प्रयोग गर्दै आइरहेको छ ।

यहाँबाट निस्किने दैनिक छ टन फोहोरमैलालाई यसरी नै गैरकानूनीरूपमा निजगढ नगरपालिकाले डम्पिङ गर्दै आइरहेको छ । केही वर्षअघि हालको बकैया–नागमणि सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रभित्र फोहोरमैला थुपारेसँगै वन समूहले नगरपालिकालाई उक्त फोहोर हटाउन लगाएको थियो ।

त्यस यता नगरपालिकाले राजमार्ग क्षेत्र, हाटबजार क्षेत्र, व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोरमैलालाई दिनहुँ सङ्कलन गरी नदी उकास क्षेत्रलाई कानूनविपरीत डम्पिङ साइटको रूपमा प्रयोग गर्दै आइरहेको छ । गत वर्ष यसरी नै यही स्थानमा डम्पिङ गरिराखेको फोहोरमैलामा आगो लगाउँदा घाम नै छेकिने र बस्ती नै कुहिरीमण्डल भई स्थानीयहरूलाई श्वासप्रश्वासमा समस्या हुन थालेसँगै उक्त कार्यको विरोध गर्दै रोकिएको थियो ।

त्यस बेला नगरपालिकाकै वारुण यन्त्रबाट आगो निभाउन लगाइएको थियो । त्यस बेला डम्पिङ साइटको लागि अन्यत्र स्थानको खोजी गरे पनि अहिले पुनः यसै स्थानलाई डम्पिङ साइटको रूपमा प्रयोग गरेसँगै बस्ती, वनक्षेत्रमा धूवाँले नराम्ररी प्रदूषण फैल्याएको छ ।

प्रदूषणका कारण त्यस स्थानतर्फ दैनिक स्वास्थ्यका लागि मर्निङ वाक गर्न जाने स्थानीयहरूलाई समेत मर्का परेको छ । स्वास्थ्यका लागि बिहानै हिंड्डुल गर्ने क्षेत्रमा धूवाँको मुस्लोले प्रदूषण फैलिएसँगै समस्या थपिएको तामागढी सबडिभिजन वन कार्यालय निजगढका फरेस्टर भूषण राम र वनरक्षक नरेश कुशवाहाले बताए । अन्य स्थानीयहरू पनि प्रदूषणका कारण अहिले मर्निङ वाक गर्न छाडेको उनीहरूले बताए । त्यहाँ फोहोरमैलामा सल्काएको आगोको प्रदूषणले वन कार्यालयमा समेत असर पुगेको उनीहरूले बताए । आँखा पोल्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा पनि समस्या हुन सक्ने भूषण र नरेशले बताए ।

प्रदूषणका कारण कोल्हवी, सपही, विजयपुरलगायत अन्य दक्षिण भेग र रतनपुरी जान बस, अटो कुर्न तामागढी बस्ने अधिकांशलाई समेत समस्या हुने गरेको छ । यता आफूहरूलाई नगरपालिकाले यसै स्थानमा फोहोरमैला फाल्न भनेसँगै केही महीनायताबाट यहीं फोहोरमैला फाल्दै आइरहेको फोहोरमैला व्यवस्थापनमा खटिएका कामदार श्यामबाबू मल्लीलगायत अन्य कामदारहरूले बताए ।

ग्रीन क्लिन सिटी संस्था, हेटौंडाले निजगढ नगरको फोहोरको उचित व्यवस्थापन गर्ने भन्दै ५० लाखमा निजगढ नपासँग सम्झौता गरेको दुई वर्ष भयो । तर समस्या जस्ताको त्यस्तै नै छ । गत वर्षको माघ महीनाभित्र कुहिने फोहोर र नकुहिने फोहोर नागरिकहरूका घरदैलोबाट नै किनी फोहोरमैलाको उचित व्यवस्थापन गर्ने भन्दै स्थानीयलाई तालीमको नाटक मञ्चन गरे पनि अहिले त्यस संस्थाले पुरानै शैलीमा फोहोरमैलालाई गैरकानूनीरूपमा डम्पिङ गर्दै मानव, वन्य जीवजन्तु, चराचुरुङ्गीको स्वास्थ्यमा प्रतिकूल असर गर्ने गरी आगो सल्काएर वातावरण संरक्षण ऐनको धज्जी उडाइरहेको छ । निजगढ नगरपालिकाले डम्पिङ साइटको उचित स्थान छनोट गर्न नसक्दा फोहोरमैलाको व्यवस्थापन खोलाबगरको नदी उकास क्षेत्रमा गर्नुपरेको ग्रीन क्लिन सिटी हेटौंडाका सञ्चालक नवराज खतिवडाले बताए ।

 “अब हामी चाँडै नै घरदैलोबाट नै फोहोरमैलाको उचित व्यवस्थापन गर्छौं,” उनले भने  । तर सञ्चालक खतिवडाको भनाइलाई विश्वास गर्न सकिने आधार नभएको पीडित स्थानीयहरू बताउँछन् । अब पनि प्रदूषण फैल्याए, नगरपालिका घेराउ गर्ने बकैयाटोलका स्थानीयहरू बताउँछन् ।

यता आफूलाई डम्पिङ साइटमा थुपारिएको फोहोरमा आगो सल्किएको कुनै जानकारी नभएको भन्दै तत्कालै यसलाई रोकथाम गर्ने नगरप्रमुख सुरथ पुरीले जानकारी दिए ।

आइतवार दिनभर सल्केको आगोलाई स्थानीयले जानकारी दिएपछि निजगढ नगरपालिकाको वारुणयन्त्र आज बिहान करीब ११ बजे निभाउन गएको थियो ।

यसरी आमनागरिकको स्वास्थ्यमा खेलवाड गर्ने संस्था र खेलवाड गर्न लगाउने स्थानीय तहलाई सम्बन्धित निकायले कानूनी दायरामा ल्याइ सचेत गराउनुपर्र्ने टड्कारो आवश्यकता देखिन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here