प्रस, वीरगंज, ४ मङ्सिर/
पर्सा जिल्लामा शान्तिपूर्णरूपले निर्वाचन सम्पन्न भएको छ। प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठवटा क्षेत्रमा आइतवार निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताइएको छ।
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२ गादीको बेलवास्थित थारू सेवा सदनमा रहेको मतदानस्थलमा प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको मतपत्र दिएको कारण केही घण्टालाई निर्वाचन स्थगित भएको थियो। पछि निर्वाचन शुरू भएको र शुरूमा मतदान गरिसकेका ५४ जनालाई चौकीदारद्वारा सूचना गराइ पुनः मतदान गराइएको थियो।
कालिकामाई गापामा मतदानको अन्तिम समयमा काङ्ग्रेस र जसपाका कार्यकर्ताबीच झडप हुँदा एकजनाको टाउको फुटेकोबाहेक जिल्लाभरिका निर्वाचन क्षेत्रमा एकदमै शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको छ।
प्रस, पोखरिया/
पोखरियाको जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्रFविधिक विद्यालयमा १७७३ मतदाता सङ्ख्या रहेको र १२५५ अर्थात् ७१ प्रतिशत मतदान भएको मतदान अधिकृत जयमोद ठाकुरले बताए।
पर्सा क्षेत्र नं ३ मा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भयो। निर्वाचन अधिकृत योगनाथ ढकालले आज राति ८ः३० बजे सर्वदलीय बैठक बोलाएका छन् र त्यसमा सहमति भएपछि मतगणना हुने बताए। यो क्षेत्रका मतपेटिकाहरू ल्याउने कार्य भइरहेको छ। मतदान सकिएपछि सिल लगाउने र मतपेटिका जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालयमा मतगणनाको लागि ल्याउने क्रम जारी छ।
प्रस, पंचगावाँ/
पर्सा क्षेत्र नं ३ अन्तर्गतकै पटेर्वासुगौली र सखुवाप्रसौनी गापामा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। निर्वाचन सम्पन्न भएपछि सर्वदलीय भेलाबाट मुचुल्का बनाइ र लाहाछाप लगाइ मतपेटिकालाई पोखरिया पठाउने कार्य भइरहेको छ।
प्रस, पर्सागढी/
पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछटैलीमा मतदान शान्तिपूर्णरूपमा सम्पन्न भयो। दुई हजार ३४० जना मतदाता रहेको यो केन्द्रमा एक हजार ६३५ जनाले मतदान गरेको मतदान अधिकृतले बताए। ७८५ जना महिला र ८५० जना पुरुषले मतदान गरेका थिए।
यसैगरी, वीरगंज महानगरपालिका–३१ स्थित नेरामावि सोलखपुरमा ९६९ जनाले मतदान गरेका छन्। एक हजार २३६ जना मतदाता रहेकामा ४२८ महिला र ५४१ पुरुष गरी ९६९ जनाले मतदान गरेको निर्वाचन अधिकृत धनञ्जय सिंहले बताए।
प्रस, ठोरी/
ठोरी गापाका पाँचवटा वडामा सातवटा मतदानस्थलबाट मतदान सम्पन्न भयो। सातवटै मतदानस्थलमा शान्तिपूर्णरूपमा मत खसेको बताइएको छ।
ठोरी गापाका आठ हजार ४६१ जनाले मतदान गरेको मतदान अधिकृतले बताए। यहाँबाट लाहाछाप लगाएर मतगणनाको लागि मतपेटिका पोखरिया लगिएको छ।