सङ्घीयता लागू भएर देश सात प्रदेशमा विभाजन भएपछि आइतवार मङ्सिर ४ गते दोस्रोपटक प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन सम्पन्न भएको छ।  बिहान ७ देखि साँझ ५ बजेसम्म देशभर भएको मतदानपछि केही स्थानमा मतगणना कार्य शुरू भइसकेको छ। मतदान कार्य भने अपेक्षाकृतरूपमा शान्तिपूर्ण भयो। जबकि रौतहट, सिराहा, चितवन, दोलखा, जुम्ला र बाजुरामा भने गोली चले। तर त्यो गोली शान्तिपूर्णरूपमा मतदान सम्पन्न होस् भन्ने अभिप्रायले प्रहरीले हुलदङ्गाको प्रयास भएपछि प्रहार गर्नुपरेको थियो। हवाई फायर गरेर प्रहरीले स्थितिलाई नियन्त्रणमा पनि लिन सफल भयो। यसैगरी, आइतवार भएको मतदानमा २७ स्थानमा निर्वाचन स्थगित भएको थियो। केहीमा शुरू पनि गरियो तर त्यसको यकीन तथ्याङ्क भने आइसकेको छैन। यसअघिको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मितिमा मतदान भएको थियो। यसपटक दुवैतर्फको निर्वाचन एकैपटक हुँदा समस्या पनि देखियो।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि प्रत्यक्षतर्फ रातो रङ्गको मतपत्र थियो भने समानुपातिकतर्फ भने कालो रङ्गको मतपत्र थियो। देशभरका मतदानस्थलमा पहिलो रातो रङ्गको मतपत्र प्रतिनिधिसभा सदस्यको, दोस्रो रातो रङ्गको प्रदेशसभा सदस्यको र तेस्रो अनि चौथो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ कालो रङ्गको मतपत्र दिने व्यवस्था गरिएको थियो। मतपत्र दिने क्रममा केही मतदानस्थलमा पहिलो मतपत्र प्रतिनिधिसभा सदस्यको दिनुपर्नेमा प्रदेशसभा सदस्यको परेर स्थगित पनि भएको छ। पर्साको पटेर्वासुगौलीमा यस्तो भएको देखियो र मतदान तत्काल स्थगित गरेर पछि पुनः मतदान गराइयो। यस प्रकारका गलतीहरू भए, जुन सच्याएर मतदान सुचारु गरिएको थियो। मतदान कार्य बिथोल्ने, बहिष्कार गर्ने जस्ता कार्यहरू पनि गर्न खोजिएको थियो। शान्तिपथमा आएको घोषणा गरी सरकारसंँ सम्झौता गरेको नेकपा विप्लव समूहलगायतका केही कम्युनिस्ट विचारधाराका दलहरूले निर्वाचन बहिष्कार गर्ने, बिथोल्ने जस्ता धम्की दिएका थिए। तर उनीहरूको विरोधका कार्यक्रमहरू प्रभावकारी भएनन्। आम नेपाली जनता मतदानको पक्षमा उभिएको पाइयो। यद्यपि गएको स्थानीय चुनावको तुलनामा यो चुनावमा मत कम खसेको छ।

स्थानीय चुनावमा वडासदस्य, अध्यक्ष, प्रमखु र उपप्रमुख पदका लागि चुनाव भएको र कम मतले हारजीत हुने भएकोले उम्मेदवारहरूले बाहिर रहेका आफ्ना मतदाताहरूलाई बोलाएर मतदान गराउन लगाएका थिए। यसमा धेरैजसो मतदाता स्वस्फूर्त मतदानका लागि आए भने केही मतदाताहरू उम्मेदवारहरूको आग्रह, आतिथ्यमा आएर मतदान गरेका थिए। यस्तो कार्य अहिलेको आमनिर्वाचनमा देखिएन। देशभित्रै जिल्लाबाहिर रहेका मतदाताहरूले जिल्लामा पुगेर मतदान गर्ने जोश देखाएनन् भने उम्मेदवारहरूले पनि उनीहरूलाई बोलाउने चासो देखाएनन्। जसले गर्दा स्थानीय तहको निर्वाचनभन्दा आमनिर्वाचनमा थोरै मतदान भएको हो। यसमा निर्वाचन बिथोल्ने, बहिष्कार गर्नेहरूको भूमिका गौण रह्यो। मतदाताहरू उत्साहले बढी मतदान गर्छन् भने डरले कम। तर यो निर्वाचनमा उत्साह र डर दुवै देखिएन। जेहोस्, मतदान शान्तिपूर्णरूपमा सकिएको भन्न सकिन्छ र अब मतगणना कार्य पनि शान्तिपूर्णरूपमा हुने आशा गर्न सकिन्छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here