प्रस, वीरगंज, २ मङ्सिर/

नेपाल–भारत सीमानाका बिहीवार राति १२ बजेदेखि ७२ घण्टाको लागि बन्द गरिएको छ। नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते हुन गइरहेकोले सीमानाका ७२ घण्टाअगाडि बन्द गरिएको हो।

भारत र नेपालमा निर्वाचन हुँदा सीमानाका ७२ घण्टाअगाडि बन्द हुने गरेको छ।

यसअघिका चुनावमा सीमानाका बन्द भएपनि नेपालमा रहेका भारतीयहरूलाई भारत जान र भारतमा रहेका नेपालीहरूलाई पैदल नेपाल आउन दिइने गरिएको थियो। नेपालतर्फ भारतीयहरू चुनावमा नफसून् र भारततर्फ रहेका नेपालीहरू पनि निर्वाचनमा मतदान गर्नबाट वञ्चित नहुन् भनेर दुवैतर्फका सुरक्षाकर्मीहरूले पैदल आवतजावत गर्न दिने गरेका थिए। तर यसपटक सीमानाकामा कडाइ गरिएको छ र दुवैतर्फका नागरिकहरूलाई आवतजावतमा रोक लगाइएको छ। नागरिकता र आधारकार्ड भएका दुवैतर्फका नागरिकहरू पनि यसपटक सीमा वारपार गर्नबाट वञ्चित छन्। धेरैजना नेपाली रक्सौलमा रोकिएको हाम्रF रक्सौलस्थित संवाददाता राजेश केशरीवालले बताए। 

सीमानाका बन्द भएपछि वीरगंज–रक्सौललगायत पर्सा जिल्लासँग जोडिएका भारतीय नाकाहरू बन्द भएका छन् र ती क्षेत्र सुनसान छन्। नाका बन्द भएकै कारण वीरगंजमा सवारीसाधनहरूको चहलपहल कम भएको छ। चुनावलाई मध्यनजर गरेर मानिसहरू आआफ्नो क्षेत्रमा गएकाले पनि वीरगंज सुनसान बन्दैछ।

सीमानाका मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएपछि सोही दिन राति १२ बजेदेखि खुल्ने बताइएको छ।

यसैगरी, सीमानाका ७२ घण्टाको लागि बन्द भएपछि नेपालमा भारतीय सवारीसाधनहरू रोकिएका छन्। आइसिपी गेटदेखि रामगढवा, जगरनाथपुर नहर तथा तिलावे पुलसम्म सवारीसाधनको लाम देख्न सकिन्छ।

भारतीय सवारीसाधनको लामका कारण अन्य सवारीसाधनलाई आवतजावतमा कठिनाइ भइरहेको छ। चुनावको लागि पर्साका सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीहरू मतदान केन्द्रमा गएकाले बाटोमा घण्टौं जाम लाग्ने गरेको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here