• डा शिवशङ्कर यादव

महाभारतमा एउटा कथा छ। भीमले कसैगरी पनि जरासन्धलाई मार्न सक्दैनन्। कृष्णले सङ्केत गर्छन् कि उसलाई दुई चिरा पारिदिनु किनभने जरासन्धको शरीर आधा–आधा दायाँ र बFयाँ मिलेर पूर्ण बनेको थियो। उसको दायाँ र बFयाँ मिलेर एउटा शरीर बनेको थियो। तर यहाँ भेन्टुरल र डोर्सल अथवा माथि र तलको भाग मिलेर एउटा अग्नाशय बनेको हुन्छ। गर्भमा पाँचौं हप्तामा सबैभन्दा पहिले मुटुको निर्माण हुन्छ। त्यसैबेला सानो आन्द्राको पहिलो भाग ड्युयोडिनमलाई बनाउने ठाउँबाट दुईटा बड अथवा पाउच निस्किन्छन्। एउटा माथि र अर्को तल। माथिलाई भेन्ट्रल बड र तलकोलाई डोर्सल बड भनिन्छ। यही भेन्ट्रल विकसित हुँदै भेन्ट्रल प्यान्क्रियाज र डोर्सलबाट डोर्सल प्यान्क्रियाज बन्छ। अब यी दुवै जरासन्ध जसरी मिलेर एउटा मात्र प्यान्क्रियाज बन्छ र दुवैको नली मिलेर एउटै मात्र नली बन्छ, जसलाई प्यान्क्रिएटिक डक्ट भनिन्छ, जसबाट भएर प्यान्क्रिएटिक जुस ड्युयोडिनममा जान्छ। कहिलेकाहीं  दुवै फ्युजन भएको हुँदैन, जसलाई प्यान्क्रिएटिक डिभिसम भनिन्छ र शल्यक्रिया गरी मिलाउनुपर्छ। यो बढ्दा दुःखदायी हुँदैन। यसको अलावा जन्मजात डिफार्मिटी एउटा अरू हुन्छ। प्यान्क्रियाजका दुवै पाउच ड्युयोडिनमसँगै विकसित पनि हुँदै जाने र सर्दै जाने हुन्छ। यदि सर्ने कुरा भएन भने प्यान्क्रियाज ड्युयोडिनमलाई बेरिएर बसेको हुन्छ। यस्तोमा आपत् नै पर्छ र शल्यक्रियाले पनि ठीक हुन कठिन हुन्छ।

अग्नाशयलाई अङ्ग्रेजीमा प्यान्क्रियाज भनिन्छ, जुन ग्रीकको पान र क्रियाजबाट बनेको हो। पानको अर्थ सबै र क्रियाजको अर्थ मासुदार हुन्छ। सबै मासु नै मासु भएको अङ्ग जुन मेरो विचारमा सही अर्थ राख्दैन। हाड नभएका त कलेजो, फोक्सो र मुटु पनि छन्। नेपालीमा अग्नाशयको अर्थ बिल्कुल सही छ। किन राखियो त यो नाम ? हाम्रो सभ्यतामा अग्नि, दावाग्नि र जठराग्नि गरी अग्निका विभिन्न रूप हुन्छन्। घरघरमा अग्नि हामी दिनहँु हेर्छौं। जङ्गलमा लाग्ने आगो दावाग्नि हो। तर जठराग्नि कसरी भयो त ? के पेटमा आगो लागेको हुन्छ र ? हो हुन्छ। त्यो केमिकल आगो हो। यो त्यो आगो हो, जसले सामान्य आगोमा पकाएको खानालाई पनि भस्मीभूत पार्छ। यसरी यो त अग्निको पनि अग्नि भएन त ? तेजाब आक्रमणको अपराधमा हामीले के हेर्छौं ? तेजाब त एउटा पानी जस्तो पदार्थ नै हो तर त्यसले त पूरा शरीरलाई नै जलाइदिन्छ। धन्य हो प्रकृति जसले आमाशयलाई यसरी अग्निरोधक बनाएको छ कि जसलाई तेजाबले पनि जलाउन सक्दैन। तर त्यसले भने खानालाई जलाउन सक्छ। जसरी खपरीमा मकै भुटिन्छ, जसमा मकै मात्र जल्छ, खपरी जल्दैन। त्यस्तै, खपरी हो आमाशय। तपाईंले सोध्न सक्नुहुन्छ कि त्यसो भए आमाशयलाई अग्नाशय भन्नुपर्नेमा प्यान्क्रियाजलाई किन भनियो ? यसको कारण पनि जबरजस्त छ। पीठोलाई मुछेर डल्लो बनाइ बेलनद्वारा रोटी बनाइन्छ। तर सेकिन्छ चुलोको आगोमा अथवा तन्दुरमा। त्यस्तै, आमाशयमा खानाको डल्लो बनाइन्छ तेजाबमा। तर उसको असली सेकाइ त ड्युयोडिनमरूपी तन्दुरमा हुन्छ। तन्दुर त एउटा माटो हो। असली चीज त त्यसमा भएको आगो हो। त्यो आगो अन्यत्रबाट ल्याइएको हुन्छ। त्यही बाहिरबाट ल्याएको आगो हो प्यान्क्रिएटिक जुस जो दिनहुँ ड्युयोडिनममा डेढ लिटरको दरले आइरहेको हुन्छ। असलीरूपमा खाना पचाउने अनेक रस केवल प्यान्क्रियाजमा नै हुन्छ। त्यसैले यसलाई अग्नाशय भनिएको कुरा बिल्कुल सही हो।

आन्द्राभँुडी र आमाशयको सबैभन्दा पछाडि दाहिनेबाट बFयाँ जाने पातको आकारको १५ सेमी लामो एउटा ग्ल्यान्डुलर संरचना हो प्यान्क्रियाज जसको हेड, नेक, बडी, टेल र अनसिनेट प्रोसेस भन्ने पाँच भाग हुन्छन्। अङ्ग्रेजीको सी आकारको ड्युयोडिनम हुन्छ, जो सानो आन्द्राको पहिलो भाग हो। त्यसै सी कर्भेचरमा अग्नाशयको हेड हुन्छ, जो अग्नाशयको सबैभन्दा ठूलो भाग हो, जसको आकार ३.५ सेमी हुन्छ। प्यान्क्रियाज ठीक सैलिभरी ग्ल्यान्डको बनावट जस्तै हुन्छ, जुन धेरै साना–ठूला नलिका मिलेर एउटा मूल नली बन्छ, जसलाई प्यान्क्रिएटिक डक्ट भनिन्छ। प्यान्क्रियाज जुन एकाइले बनेको हुन्छ, त्यसलाई एसिनार सेल्स भनिन्छ, जुन १० देखि १५ क्लस्टरमा बसेका अनेकानेक हुन्छन्। प्रत्येकले प्यान्क्रिएटिक जुस बनाउँछ र प्रत्येक नली आपसमा मिल्दै अन्त्यमा प्यान्क्रिएटिक डक्टमा खुल्छन्। यो मुख्य नली ड्युयोडिनममा खुल्ने गरेको त हो तर त्यसभन्दा पहिले त्यो वाइल डक्टसँग मिल्दा एउटा फुलेको आकार बन्छ, जसलाई एम्पुला अफ भैटर भनिन्छ। हो यही एम्पुला अफ भैटर भने ड्युयोडिनममा खुल्छ, जसलाई डक्ट अफ वायरसङ पनि भनिन्छ किनभने यसको खोज जर्मन जोन जार्ज वायरसङले १७औं शताब्दीमा गरेका थिए। कहिलेकाहीं डोर्सल प्यान्क्रियाजबाट एउटा नली छुट्टै खुल्छ, जसलाई डक्ट अफ सैन्टोरिनी भनिन्छ किनभने यसको खोज गल्भानो डोमिनिको सैन्टोरिनीले सन्  १७७५ मा गरेका थिए। यसरी कमनवाइल डक्टबाट पित्त र प्यान्क्रिएटिक जुस सँगसँगै ड्युयोडिनममा जान्छन्। तबसम्म आमाशयबाट खानाको डल्लो जसलाई काइम भनिन्छ ड्युयोडिनममा आइपुगेको हुन्छ। असलमा भन्ने हो भने जब खाना त्यहाँ आइपुग्छ, तब तुरुन्त संवेदी नर्भलाई थाहा हुन्छ र प्यान्क्रिएटिक जुस र वाइल दुवै दगुरेर त्यहाँ पुग्छन्। यसको ठूलो कारण र आवश्यकता छ। त्यो के भने आमाशयमा भएको पाचन एसिडिक माध्यममा हुन्छ। तर आन्द्रामा त्यो चल्दैन। आमाशय मात्र तेजाबरोधक हो, आन्द्रा होइन। त्यस एसिडिक खानालाई तुरुन्त क्षारीय बनाउने आवश्यकता भएकोले दुवै वाइल र प्यान्क्रिएटिक जुस त्यहाँ पुग्नैपर्छ। अन्यथा आन्द्रा नै खाना जस्तो पच्न शुरू हुन्छ। खानालाई क्षारीय बनाउने प्रक्रियासँगै प्यान्क्रिएटिक जुसमा नै खाना पचाउने लगभग साराका सारा तत्वहरू हुन्छन्। आन्द्रामा त नाम मात्रका केही इन्जाइम हुन्छन्, नत्र त्यसले त खानालाई मात्र अगाडि बढाउँदै लग्ने र पचेको खानालाई अवशोषित मात्र गर्दै जाने हो। त्यसैले प्यान्क्रियाजलाई अग्नाशय भनिएको हो किनभने यसमा एक/दुई होइन पचाउने साराका सारा तत्वहरू हुन्छन्। वाइलमा दुईटा वाइल साल्ट मात्र हुन्छ तर प्यान्क्रियाजमा थुप्रै इन्जाइम हुन्छन्। यथाः ट्रिप्सिनोजेनबाट ट्रिप्सिन, काइमोट्रिप्सिन, न्युक्लिएज, इलास्टेज, कोलिजनेज, लाइपेज, कोलेस्ट्रोल इस्टर हाइड्रोलेज, फास्फोलाइपेज ए र बी, कोलिपेज आदि इत्यादि कति कति। यिनमा ट्रिप्सिन भने सबैभन्दा प्रमुख हो। यसले अन्य सबैलाई नै सक्रिय गर्छ। मतलब यो कि अन्य सबै निष्क्रिय अवस्थामा वा काम नगर्ने स्थितिमा हुन्छन्। सबैलाई उत्प्रेरित गरी ट्रिप्सिनले नै काम शुरू गर्न लगाउँछ। सुविधाको लागि यी सबैलाई मुख्यतः तीन भागमा बाँडिएको छः एमाइलेजले कार्बोहाइड्रेटलाई, ट्रिप्सिनोजेनले प्रोटिनलाई र लाइपेजले फ्याटलाई पचाउँछ।

यो त भयो प्यान्क्रियाजको एक्सोक्रिन भाग। तर प्यान्क्रियाज पनि डबलग्रन्थि हो अर्थात् एक्सोक्रिन र इन्डोक्रिन दुवै भएको। इन्जाइम निकाल्ने कोषहरूको बीचबीचमा एउटा क्षेत्र हुन्छ, जसलाई आइसलेट अफ लैंगरहेन्स भनिन्छ, जसको खोज जर्मन पाल लैंगरहेन्सले सन् १८६९ मा गरेका थिए। यही हुन् प्यान्क्रियाजको इन्डोक्रिन भाग। यसको सङ्ख्या तीनदेखि १४ मिलियन हुन्छ किनभने प्यान्क्रियाजको आकार नै शरीरको आकारको अनुसार हुन्छ। प्रत्येक आइसलेटको आकार ३० देखि १०० माइक्रो र भोल्युम ०.५ देखि दुई क्युब सेमीसम्म हुन्छ। अग्नाशयमा ७० प्रतिशत एसिनारकोष र ३० प्रतिशत आइसलेट हुन्छन्। यस आइसलेटमा अल्फा, बिटा, गामा र डेल्टा भन्ने चार प्रकारका कोषहरू हुन्छन्, जसलाई ए, बी, एफ र डी सेल भन्ने चलन पनि छ। यसमा अल्फासेलले ग्लुकागोन, बिटासेलले इन्सुलिन, गामासेलले सोमेस्टेटिन र डेल्टासेलले प्यान्क्रिएटिक पोलिपेप्टाइड भन्ने हार्मोन निकाल्छन्। ग्लुकागोनले रगतमा चिनी बढाउने, इन्सुलिनले घटाउने र सोमेस्टेटिनले दुवैलाई नियन्त्रण गर्छ। जब रगतमा चिनीको स्तर बढ्छ, तब इन्सुलिनले ग्लाइकोजिनेसिस प्रक्रिया बढाएर ग्लुकोजलाई ग्लाइकोजनमा परिण गरेर कलेजो र मांसपेशीमा जम्मा गरिदिन्छ। यसको अलावा प्रत्येक कोषको क्षमतालाई बढाएर ग्लुकोज बढी मात्रामा कोषहरूभित्र प्रवेश गराउने काम गर्छ। यसरी रगतमा बढेको चिनीको स्तर कम हुन्छ। जब रगतमा चिनीको मात्रा कम हुन्छ, तब ग्लुकागोनले ग्लाइकोजिनोलाइसिस अर्थात् कलेजो र मांसपेशीमा जम्मा भएका ग्लाइकोजनलाई ग्लुकोजमा बदलेर रगतमा पठाउँछ। यसरी भएन भने त आपत् नै पर्छ नि। तर सोमेस्टेटिनले यी दुईको पनि कान समातेर राख्छ ताकि दुवैले अनियन्त्रित काम गर्न नपाओस्। यसैलाई चिनीलाई पचाउने भनिन्छ, जो वास्तवमा कम वा बढी गर्ने कुरा हुन्। पचाउने काम त इन्जाइमहरूले गर्छन्। इन्सुलिनले प्रत्येक कोषलाई ग्लुकोज लेऊ भन्छ। अर्थात् प्रत्येक कोषलाई यसरी तयार पार्छ कि ग्लुकोज त्यसभित्र पस्छ, जसलाई ग्लुकोज अपटेक भनिन्छ। प्रत्येक कोषमा ग्लुकोज अपटेक बढेपछि रगतमा चिनीको मात्रा कम हुन्छ। यही इन्सुलिनलाई जब प्यान्क्रियाजले बनाउन छोड्छ, तब त्यसलाई टाइप १ डाइबिटिज मेलाइटस भनिन्छ। यसमा इन्सुलिन मात्र दिएर रोग ठीक हुन्छ। टाइप २ मा इन्सुलिन बनाउने काम त पूरा वा कम हुन्छ तर कोषहरूको ग्लुकोज अपटेक गर्ने शक्ति क्षीण हुन्छ। इन्सुलिन त छ तर ग्रहण गर्न कोषहरूको क्षमता हुँदैन। अतः यसमा कोषहरू र प्यान्क्रियाज दुवैलाई क्षमतावान् बनाउने विभिन्न एलोपेथिक र हर्बल औषधिहरू बनाइएका छन्। योगासनमा मण्डुकासनले पनि अग्नाशयको क्षमता बढाउँछ।

प्यान्क्रिएटिक इन्जाइम यति बलिया हुन्छन् कि तिनीहरूले खाना त पचाउँछन् नै, तिनीहरूको बहावमा रोकावट भयो भने भित्रै जम्मा भएर प्यान्क्रियाजका कोषहरूलाई नै पचाइदिन्छन् अर्थात् खाइदिन्छन्। त्यस हालतमा प्यान्क्रियाज निकम्मा नै भएर जान्छ र मानिसको मृत्युसमेत हुन्छ। यसलाई प्यान्क्रिएटाइटिस भनिन्छ। जब पित्तथैलीको ढुङ्गा आएर कमन वाइल डक्ट र प्यान्क्रिएटिक डक्टलाई अथवा स्वयम् प्यान्क्रिएटिक डक्टमा नै ढुङ्गा बनी बन्द गर्छ, तब यस्तो हुन्छ। यस प्रकारको रोकावट ७० प्रतिशतमा देखिन्छ। बFँकी ३० प्रतिशत बढी मदिरा खाने व्यक्तिमा देखिन्छ। मदिराले कलेजोलाई मात्र खाँदैन, प्यान्क्रियाजलाई पनि खान्छ। यसलाई एक्युट प्यान्क्रिएटाइटिस भनिन्छ, जसमा प्रायः मृत्यु नै हुन्छ। तर अलिअलि मदिरा खानेलाई पनि अलिअलि प्यान्क्रिएटाइटिस हुँदै जाने र छुट्दै जाने हुन्छ। यस्तोलाई क्रोनिक प्यान्क्रिएटाइटिस भनिन्छ। एक्युटमा पेट असह्य दुख्ने हुन्छ। क्रोनिकमा पेट दुख्ने र मन्दाग्निको शिकायत सधैं बनिरहन्छ। फ्यट पच्दैन र बढी मात्रामा दिसा हुने, बेस्सरी गन्हाउने र नपचेको फ्याट स्पष्ट देखिने हुन्छ। प्यान्क्रियाज फेल भयो भने कुनै औषधि काम लाग्दैन। प्यान्क्रियाज नै प्रत्यारोपण गर्नुपर्छ। प्रत्यारोपण पनि कस्तो भने मिर्गौलाको पनि सँगसँगै गर्नुपर्छ। मिर्गौला प्रत्यारोपण गर्दा यसको मात्र गरे पुग्छ तर अग्नाशय प्रत्यारोपण गर्दा मिर्गौला पनि सँगसँगै प्रत्यारोपण गर्न जरुरी हुन्छ। प्रत्यारोपण किन गर्नुपर्छ भने यसको एक्सोक्रिन भाग त फेरि विकास हुन सक्छ तर इन्डोक्राइन भाग भने विकास गर्न सक्दैन। एक ग्रीक एनाटोमिस्ट जो ३३० बिसीमा जन्मेका थिए, उनले सर्वप्रथम अग्नाशयको खोज गरेका थिए। भनिन्छ ३२३ बिसीमा एलेक्जेन्डर दी ग्रेटको मृत्यु प्यान्क्रिएटाइटिसले नै भएको थियो। त्यसको २२०० वर्षपछि नै अग्नाशयको विस्तारित वर्णन हुन थाल्यो, जसमा पहिलो नाम आउँछ क्लाउड बर्नार्डको जसले सन् १९२२ मा यसको प्रक्रियाबारे पत्ता लगाए। जर्मन पाल लैंगरहेन्सले सन् १८६९ मा आइसलेट अफ लैंगरहेन्सको पत्ता लगाए, जसको विस्तार भने वैन्टिङ र वेस्ट भन्ने वैज्ञानिकले गरे। पहिले प्यान्क्रिएटाइटिसको खोज सन् १८८९ मा रिगिनाल्ड फिल्टजले गरेका थिए। मिर्गौलाको पहिलो प्रत्यारोपण रसियाली भेरोनोभले सन् १९३७ मा गरे तर त्यो असफल भयो। जोसेफ एडबर्ड मुरेले पहिलो सफल मिर्गौला प्रत्यारोपण २३ दिसम्बर १९५४ बोस्टनमा गरे पनि नोबेल पुरस्कार सन् १९९० मा पाए। पहिलो प्यान्क्रियाज प्रत्यारोपण युनिभर्सिटी अफ मिनिसोटा मिनियोपोलिसमा रिचार्ड लिलिहेई र विलियम केलीले दिसम्बर १९६६ मा गरेका थिए। यति भनेर अग्नाशयको वर्णन टुङ्ग्याउनु नै राम्रो होला। अस्तु।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here