– हरिकृष्ण बराल
(राधामाधव स्वामी)
मूर्ली बगैंचा, वीरगंज

भगवान् त चाहनुहुन्छ कि तपाईं यस्तो बन्नुस् जस्तो अनजान अबोध बच्चा छ। यसमा तपाईं विश्वास गर्नुस्, विश्वास लाग्दैन भने जाँच गरेर हेर्नुस। तपाईं १०/२० जना मानिसलाई निरीक्षण गर्नुस्। केही यस्ता मानिसहरू लिनुस्, जसले आफूहरूलाई विशिष्ट बनाएका छन् र आफूहरूलाई चिनाउनको लागि विभिन्न किसिमका कर्मकाण्ड आयोजित गरिरहन्छन्, धेरै शास्त्रको ज्ञान राख्छन्। र केही यस्ता मानिसहरू लिनुस्, जो एकदम सामान्य हुन्छन्, तिनीहरूमा केही अनौठोपन हँुदैन, ज्यादा कर्मकाण्ड पनि गर्दैनन्। दुवै किसिमका मानिसहरूलाई राम्रोसँग निरीक्षण गर्नुस्। ककसमा कति आनन्दपन देखिन्छ, सबै प्राणीप्रति कतिको प्रेम ककसमा कतिको देखिन्छ। यो हेरेर शायद तपाईंलाई बुझ्न केही सजिलो हुन्छ होला। यसको मतलब यो होइन कि हामीहरू पुरुषार्थ नै नगरौं। हामीहरू पुरुषार्थ जरुर गरौं तर हामीहरू पुरुषार्थ जटिल बन्न हैन सरल बन्न गरौं। भगवान्लाई महसूस गर्नको लागि पुरुषार्थ गरौं। भगवान्लाई आफ्नै बलबूताले जान्नको लागि हैन भगवान्को कृपाप्राप्तिको लागि पुरुषार्थ गरौं। अरूलाइ चिनाउन हैन आफूलाई चिन्नको लागि पुरुषार्थ गरौं। जुन कार्य हाम्रो औकातभन्दा बाहिरको छ, त्यसमा आफ्नो ऊर्जा खर्च नगरौं। आफ्नो अन्तरआत्माको आवाज सुन्ने कोशिश गरौं। तर यो आवाज हामीहरूले तबमात्र सुन्न सक्छौं, जब हामी बाहिरबाट हैन भित्रबाट सुन्ने कोशिश गर्छौं।

महसूस गर्नको लागि भगवान् हर समय सहजरूपमा मौजुद छन्। आफूभित्र प्रेमको पवित्र झलक देखिनु नै भगवान्को नजीकमा पुग्नु हो। हामीहरू भगवान्लाई कहाँ–कहाँ खोजिरहेका छौं। हामीहरू आफू स्वयंलाई प्रेम गरौं। आफैंलाई म दिव्य आत्मा हुँ, म भगवान्को सन्तान हुँ भनेर प्रेम गर्नुस्। आफ्ना वरिपरिका छरछिमेकी सबैसँग शरीरले हैन मनले प्रेम गर्नुस्, पूरा वातावरणसँग प्रेम गर्नुस्, त्यसपछि जुन आनन्दको महसूस तपाईंले गर्नुहुनेछ, त्यो नै भगवान्को प्राप्ति हो। योभन्दा बढीको अपेक्षा हामी गरिरहेका छौं भने त्यो हाम्रो लोभ र तृष्णा हो। यो लोभ र तृष्णाको चक्करमा हामीहरू असली आनन्दलाई पनि बिर्सिरहेका छौं। जुन कुरा हामीसँग छ, त्यसलाई पनि हामीहरू महसूस गर्न सकिरहेका छैनौं। हामीहरू यसरी भौतारिरहेका छौं कि जसरी तिर्खाएको मृग मरुभूमिमा पानी खोज्दै भौतारिरहन्छ। शायद त्यो तिर्खाएको मृगले खोज्दाखोज्दै मरुभूमिमा पानी पाउन पनि सक्ला तर भौतारिनेलाई भगवान् कहिलै प्राप्त हुन सक्दैन। भगवान्लाई प्राप्त गर्नु छ भने संयमतापूर्वक पर्खन सक्नुपर्छ। जसले संयमतापूर्वक पर्खन्छ, उसैको दिन फर्कन्छ। तर हामीले पुरुषार्थ गर्न छोड्नुहुँदैन। लोभ चाहे भगवान् प्राप्त गर्ने होस् वा सांसारिक वस्तु प्राप्त गर्ने होस्, लोभले सधैं हामीहरूलाई भगवान्बाट टाढा–टाढा बनाउँदै लैजान्छ। लोभी मानिस त्यो चीज प्राप्त गर्न चाहन्छ, जुन चीज ऊसँग छैन र त्यो प्राप्त गर्ने धुनमा उसले आफूसँग भएका चीजहरूलाई समेत बिर्सन्छ। हामीहरू भगवान्सँग केही न केही मागि नै रहन्छौं तर भगवान्सँग केही माग्नु पनि अज्ञान हो। भगवान्ले हामीहरूलाई सबैथोक दिइसक्नुभएको छ। भगवान्ले हामीहरूलाई के के दिनुभएको छ भनेर हामीहरूले पत्ता लगाउनुपर्छ। हामीहरू जे जे चिन्न सक्छौं, त्यो त्यो चिनौं। यो पत्ता लगाउन हामीहरूले माथि भनिएबमोजिम पुरुषार्थ गर्नुपर्छ। तर हामीहरूको बानी खराब भइसकेको छ, त्यसैले हामीहरूलाई जुन जुन कुरा प्राप्त भइसकेको छ, त्यसमा सन्तुष्ट हुँदैनौं। आहारिसे स्वभावले गर्दा भगवान्सँग सधैं केही न केही मागिरहन्छौं। जति ध्यान हामीहरू भगवान्सँग केही कुरा माग्नमा लगाउँछौं, त्यति ध्यान जुन जुन कुरा हामीहरूलाई प्राप्त छ ती कुराहरू चिन्नलाई लगायौं भने निश्चितरूपमा हामीहरूलाई सबैथोक प्राप्त हुन सक्छ। हामीहरू यसको लागि प्रयत्न गर्नेतर्फ लाग्दैनौं, भगवानसँग माग्नतिर लाग्छौं। हामीहरू भगवान्सँग सबैथोक प्राप्त होस्, हामीहरूको भण्डार भरेर हामीहरूलाई खुशी दिनोस्, हामीहरूको पाप तथा पुण्यहरूबाट मुक्त गरी हामीहरूलाई मधुर प्रेमरस दिनुस् भनेर विभिन्न तरीकाले मागिरहन्छौं। हामीहरू भक्तिको नाममा माग्दछौं, प्रार्थनाको नाममा माग्दछौं, पूजाको नाममा माग्दछौं। हामीहरू भगवान्ले मालामाल गरिदिऊन् भनेर विभिन्न प्रकारका कर्मकाण्डहरू गर्ने गर्दछौं। प्राप्त भएका धनमध्ये केही भाग हजुरलाई नै चढाउनेछु भनेर भगवान्सँग मोलमोलाइ गर्दछौं। हामीहरू कतिसम्मका मूर्ख छौं कि यो सम्पूर्ण चराचरजगत् उनै सम्पूर्ण ब्रह्माण्डका नायक भगवान्कै हो भन्नेसमेत बिर्सन्छौं। हामीहरू दीनहीन छौं, हजुर धेरै शक्तिशाली हुनुहुन्छ, हजुर धेरै दयालु हुनुहुन्छ, त्यसैले हामीमाथि दया गर्नुहोस्, हामीहरूमाथि कृपा गर्नुहोस् भनी भगवान्सँग भन्ने गर्दछौं। कोही मानिस धन माग्छन् भने कोही आफ्नो मुक्ति माग्छन्। जे मागे पनि कुरो एउटै हो। मुक्ति माग्नेहरू पनि खुशी हुने आवश्यकता छैन। वास्तवमा केही नभएकाहरूले मात्र माग्ने काम गर्छन्। हामीहरूलाई भगवान्ले धेरैथोक दिएका छन्। शक्ति, बुद्धि, बल आदि पूरा साम्राज्य नै दिएका छन्। संसारमा प्रेम, आनन्द, शान्ति, वैभव सबैथोकको असीमित भण्डार छ। यी चीजहरूलाई आफ्नो कर्म तथा आचरणले बल तथा बुद्धिको उपयोग गरी हासिल गर्नुपर्दछ। पुरुषार्थ नगरी भगवान्ले हामीहरूलाई केही पनि दिंदैनन्। यसलाई हामीहरूले पुरुषार्थद्वारा प्राप्त गर्न सक्छौं। पुरुषार्थ गर्ने सबैलाई भगवान्ले मन पराउनुहुन्छ। जसले भगवान्सँग केही माग्दैन, उसले केही पनि प्राप्त गर्न सक्दैन भन्नेछैन।क्रमशः

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here