मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार रातिदेखि मौन अवधि अर्थात् स्थिर समय शुरू भएको छ । राति १२ बजेदेखि स्थिर समय शुरू भएको निर्वाचन आयोगले जनाएको हो । यसअघि निर्वाचन शुरू हुनुभन्दा ४८ घण्टाअघिदेखिको समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो समयमा उम्मेदवारले आफ्नो चुनाव प्रचार अवधिको समीक्षा गर्ने र मतदाताले कसलाई मत दिने भनेर स्पष्ट योजना बनाउने समय हो । निर्वाचनमा ‘स्थिर समय’ विश्वव्यापी प्रचलन हो । सामान्यतया निर्वाचन हुनुभन्दा ४८ घण्टा पहिलेदेखि मतदान सम्पन्न नभएसम्मको अवधिलाई स्थिर समय मानिन्छ । यो समयले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैको ध्यान मतदानतर्फ केन्द्रित गर्न प्रेरित गर्छ । राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर द्वन्द्वमा परिणत नहोस् वा निर्वाचनको मुखमा प्रचारप्रसारमा विकृति नबढोस्, निर्वाचनको वातावरण शान्त रहोस् र उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा नहोस् भनेर यो समय राख्ने गरिन्छ । निर्वाचन आयोगका लागि पनि मतदानको दिनका लागि गर्नुपर्ने आवश्यक तयारीबारे समीक्षा गरेर बाँकी काम पूरा गर्न स्थिर समयले सहयोग पु¥याउँछ ।

स्थिर अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचारप्रसार भौतिक वा अभौतिक कुनै पनि रूपले गर्न पाउँदैनन् । चुनावी सरगर्मीमा तातेको वातावरण शान्त पार्ने समय हो– ‘स्थिर समय’ । चुनावका बेला धेरैजनाबाट धेरै थरीका कुरा सुन्दासुन्दै मतदातामा आकुलता र तनाव महसूस भइसकेको हुन्छ । दुई दिन आराम गर्दा उनीहरू सामान्य अवस्थामा फर्कन्छन् । दुई दिनअघि आरोप–प्रत्यारोप गर्नेहरू पनि दुई दिनपछि शान्त हुन सक्छन् । यसले मतदानस्थललाई निर्वाचनमैत्री बनाउँछ । स्थिर समय तथा निर्वाचन आचारसंहिता मतदातामा पनि लागू हुन्छ । आचारसंहिता मान्ने, एकले अर्कोलाई सम्मान गर्ने, गलत काम नगर्ने परिपाटीले निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन सघाउँछ । स्वच्छ र धाँधलीरहित चुनाव लोकतन्त्रको नैतिक ताकत हो । आचारसंहिता हरेक नागरिकसित जोडिएको कानूनीसँगै नैतिकताको कुरा पनि हो । यो समाज, राष्ट्र र व्यवस्थाको भविष्यसँग जोडिएको हुन्छ ।

बितेका चुनावहरूमा मौन अवधि उल्लङ्घन भएका घटनाहरू धेरै देखिए । कतिपय घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो । अधिकांश घटनामा न कसैले उजूरी ग¥यो, न अनुगमनकर्ताहरूको नजरमैं प¥यो । यसपटक पनि स्थिर समय शुरू भएको प्रारम्भिक चरणमा उल्लङ्घनका केही हर्कत भएका छन् । यसको मूल्याङ्कन हुनुपर्छ । निर्वाचन आयोगले बनाएको आचारसंहितामा हस्ताक्षर गरेर शपथ लिएका दलहरूले त्यसको पालना गरे–नगरेको मूल्याङ्कन गर्ने दायित्व सिङ्गो मुलुकवासीको हो । निर्वाचन आचारसंहिता दलहरूका लागि नैतिक बन्धन पनि हो । तर अधिकांश राजनीतिक दल र तिनका उम्मेदवार ४८ घण्टाको अवधिलाई मत आफूतिर तान्ने अवधिको रूपमा उपयोग गर्न चाहिरहेका हुन्छन् । त्यसका लागि उनीहरूले साम, दाम, दण्ड, भेद सबै रणनीति अख्तियार गर्ने कुरा विभिन्न घटनाहरूले पुष्टि गरेका छन् । आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग पनि शून्य सहनशील बन्न जरुरी छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here