• सञ्जय साह मित्र

आज अन्तर्राष्ट्रिय समुदायले विद्यार्थी दिवस मनाइरहेको छ । विश्वले विद्यार्थी दिवस मनाइरहँदा नेपालका विद्यार्थीहरूले मनाउने खासै अवसर पाएका छैनन् । यसबारे यस वर्ष खासै धेरै बुझ्न पनि पाएका छैनन् । यसको मूल कारण चुनाव हो । यदि सामान्यरूपमा सबै विद्यालय सञ्चालनमा रहेका भए अधिकांश विद्यालयका विद्यार्थीले यसबारे जानकारी पाउने थिए र आजको दिन कुनै विशेष काम गरेर सम्झनायोग्य बनाउने प्रयास गर्ने थिए । विद्यार्थीले पनि आफ्नो लागि एउटा दिवस छ, जसको अन्तर्राष्ट्रिय महत्व पनि छ भन्ने बुझ्न पाउने थिए । म पनि अन्तर्राष्ट्रियस्तरमा मनाइने दिवसको एक अङ्ग हुँ भन्ने गर्व–बोध विद्यार्थीमा संचरण हुने थियो ।

हुनत सबै किसिमका शिक्षालय बन्द भइसकेका छन् भन्ने होइन, तर अधिकांश शिक्षालयका धेरै शिक्षक निर्वाचन कर्मचारीको रूपमा खटिसकेका छन् । यसले गर्दा विद्यालयमा पठनपाठन गर्ने गराउने शिक्षकको अभाव भइसकेको छ । यसै कारणले कतिपय पालिकाहरूले चुनावको भोलिपल्टसम्म बिदा दिएका छन् । नेपाल सरकारले पनि चुनावको दिन र त्यसको भोलिपल्ट गरी दुई दिन सार्वजनिक बिदा दिसकेको छ । कतिपय शिक्षालयले भने एक–दुई दिन पहिलेदेखि र चुनावको दुई दिनपछिसम्म बिदा दिएका छन् । तर कतिपय शैक्षिक संस्थाले आइतवार र सोमवार दुई दिन मात्र बिदा दिएका छन् । यसरी कम बिदा दिनेमा मुख्यगरी निजी क्षेत्रको संलग्नतामा रहेका शैक्षिक प्रतिष्ठानहरू हुन् । यहाँ उल्लेखनीय कुरो के छ भने जब अधिकांश सामुदायिक विद्यालय तथा क्याम्पसमा बिदा हुन्छ तब अधिकांश विद्यार्थी घरमा बस्छन् । नेपालमा सामुदायिक विद्यालयमा नै पढ्ने विद्यार्थीको सङ्ख्या बढी छ । विद्यार्थी सङ्ख्याको दृष्टिले मूल धार भनेका सार्वजनिक वा सामुदायिक विद्यालयका विद्यार्थीहरू नै हुन् ।

अहिले जस्तो माहोल बनिसकेको छ, यस्तो अवस्थामा यदि सामान्य दिनको जस्तो विद्यालय खुलेको भए पनि विद्यार्थी दिवसको विषयमा खासै चर्चा हुन पाउने थिएन । विद्यालयमा शिक्षकको अभाव हुुनु र सबैतिर चुनावको वातावरणले छोप्नु जस्ता कारणले हरेक क्षेत्र प्रभावित भइरहेको छ । चुनावको वातावरणले यस्तो अनुभूति भइरहेको कि पूरा देश नै चुनावमय भइसकेको छ । हुनत प्रत्यक्ष वा परोक्ष सम्पूर्ण देश र समग्र संयन्त्र तथा मानिसको मनोविज्ञान चुनावतिर केन्द्रित भइसकेको छ । चुनावका लागि अब तीन दिन मात्र बाँकी छ र निर्वाचन आचारसंहिताले हरेक पक्षलाई छोएको छ । निर्वाचन आचारसंहिताले नछोएको कुनै पक्ष नहोला । उसै त राज्यकोषबाट नियमित तलब–भत्ता बुझ्ने अर्थात् लाभको पद धारण गरेका हरेक व्यक्तिमाथि आचारसंहिता लागू छ । दल तथा उम्मेदवारले पनि आचारसंहिता पालन गरिरहेका छन् । सञ्चारकर्मी तथा सञ्चारगृह र अन्य पक्षलाई पनि आचारसंहिताले आफ्नै किसिमले प्रभावित पारेको छ । चुनावलाई निष्पक्ष तथा धाँधलीरहित र स्वतन्त्ररूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताले ठूलो भूमिका खेल्दछ । साथै शान्तिपूर्ण निर्वाचनको हकमा पनि यसको महत्व रहेको छ ।

हुनत चुनावमा विद्यार्थीको पनि भूमिका निकै महत्वपूर्ण हुने हुन्छ । विद्यार्थीमध्ये नवयुवा र किशोर वयका विद्यार्थी अत्यन्त जिज्ञासु र चुनाव बुझ्ने भइसकेका छन् भने यस उमेर समूहका विद्यार्थीले विशेष भूमिका खेल्न सक्छन् । कम्तीमा मतदानको दिन आफ्नो घरपरिवारका हरेक मतदातालाई समयमा मतदान गर्न उत्प्रेरित गर्ने, चुनाव चिह्नमा ठीक ठाउँमा, सही चिह्नमा छाप लगाउने, मत बदर हुन नदिने, टोलछिमेकका अशक्त, बिरामी, ज्येष्ठ नागरिक, सुत्केरीलाई मतदान केन्द्रमा सहयोग गर्ने तथा शान्तिपूर्ण मतदान होओस् भन्ने वातावरण बनाउन निकै प्रभावकारी भूमिका खेल्न सक्छन् । यद्यपि यस उमेरका विद्यार्थलाई यस्ता सहयोगात्मक कार्यको सम्बन्धमा पनि केही गम्भीर हुनु आवश्यक छ । ज्यादै संवेदनशील उमेर भएकोले बढी सतर्क हुनु आवश्यक छ ।

चुनावको महत्व र यसको प्रक्रिया जुन कक्षामा पढाइ हुन्छ, त्यसलाई व्यवहारमा देख्न पाउँछन् । यसकारण विद्यार्थीका लागि चुनावले विशेष महत्व राख्दछ । यो लोकतान्त्रिक व्यवस्थाको राष्ट्रिय पर्व भएकोले यसलाई निकटबाट हेर्न पाउनु पनि विद्यार्थीको लागि फाइदाजनक हुन्छ । फेरि पनि विद्यार्थीलाई राजनैतिक कार्यमा प्रयोग गरिनुहुन्न र राजनैतिक गतिविधिको अर्थ नलाग्ने किसिमले विद्यार्थी संलग्न हुँदा मतदानसित सम्बन्धित क्रियाकलाप फलदायी हुन सक्छ । प्रचारप्रसारबाट भने टाढा राखिनु बुद्धिमानी हुन्छ ।

हो, चुनावको समयमा विद्यार्थीको पढाइ बाधित हुन्छ । गत स्थानीय तहको चुनावको समयमा पनि केही दिन पढाइ रोकिएको थियो । हुनत विद्यालय तहमा एउटा कक्षाको वार्षिक परीक्षा दिइएको र नतीजा भर्खर प्रकाशित हुँदै गरेको वा प्रकाशन हुन बाँकी रहेको अवस्था थियो । यसकारण सङ्क्रमणकाल भन्न सकिन्छ । यद्यपि चुनावको कारणले नतीजा प्रकाशन, विद्यार्थीले पाउने पुस्तकको ढुवानी तथा वितरण र पठनपाठनमा केही विलम्ब हुन गएको थियो । अहिले पनि चुनावको कारणले केही दिन पढाइ बाधित हुने अवस्था सिर्जना भएको छ । एक किसिमले हेर्ने हो भने देशको निर्वाचनमा विद्यार्थीको त्याग पनि हो, यो । विद्यालयमा नै मतदानस्थल र मतदान केन्द्रहरू हुन्छन् । विद्यालयमा पढाइ नहुँदा विद्यार्थीहरू घरमा पनि खासै पढ्न पाउँदैनन् । चुनाव अवधिभर गाउँघर वा शहर बजारमा जताततै चुनावकै चर्चा–परिचर्चा हुन्छ । सम्पूर्ण समाज नै चुनावमय बन्न पुग्दा विद्यार्थीले घरमा पढ्ने मौका पाउने कुरा पनि रहेन । कतिपय विद्यार्थीको टोल, छिमेक, आफन्त, नातेदार चुनावमा उम्मेदवार बनेका हुन सक्छन् । यस्तो अवस्थामा तिनको घरपरिवारका सबै सदस्यले चुनावमा अर्कै किसिमले व्यस्त हुुनुपरेको हुन्छ । अनि विद्यार्थीले पढ्ने मौका पाउँदैनन् । विद्यार्थी वा यस उमेरका मानिसलाई चुनाव प्रचारप्रसार तथा जुलूसमा पनि प्रयोग गरेको पाइएको छ जुन वास्तवमा राम्रो कुरो होइन । प्रचारप्रसार तथा नारा जुलूसजस्ता राजनैतिक क्रियाकलापमा विद्यार्थीको प्रयोग पूर्णतया निषेध गरिएको छ । यदि यस्तो हुन्छ भने ती कार्यमा प्रयोग हुने विद्यार्थीको मनोविज्ञानमा केही समयसम्म चुनावको त्यही माहोलले प्रभाव पारिरहेको हुन्छ । साथै पढाइमा भन्दा बढी राजनीतिमा मन लाग्न थाल्छ । आलोकाँचो उमेरमा पढाइ गर्नुपर्नेमा ¥याली, जुलूस, नारा र कसैको पक्ष र कसैको विपक्षमा हुने तर्कवितर्कमा प्रत्यक्ष सहभागी हुँदा पढाइमा मन लाग्ने अवस्थामा कमी आउन सक्छ ।

विद्यार्थी उमेर सिर्जनात्मक हुन्छ । सिर्जनात्मक उमेरमा सकारात्मक कुराको सिकाइ बढी प्रभावकारी हुन्छ । नेपालको कानूनले बालबालिकाको उमेर समूहमा राखेका विद्यार्थीलाई राजनैतिक गतिविधिमा संलग्न गराउनुहुँदैन । राजनैतिक गतिविधि, अझ चुनावका बेला विद्यार्थीको मनोविज्ञानमा पर्ने दीर्घकालीन नकारात्मक प्रभाव पर्न सक्छ, यसले बालबालिकाको भविष्यमाथि पनि प्रभाव पर्ने हुन्छ । बालबालिकालाई कुनै पनि किसिमको राजनैतिक गतिविधिमा प्रयोग गर्नुहुँदैन । चुनावको मर्यादामा आँच पु¥याउने काम हुनुहुँदैन ।

कुनै दिवसको महत्व विशेषरूपमा त्यसको उपयोगितासित सम्बन्धित हुन्छ । विद्यार्थी दिवसलाई चुनावसित पूर्णतया जोड्नु भने हुँदैन । चुनावको आंशिक कार्यसित जोड्नु उचित हुन्छ । यद्यपि हरेक बालबालिका वा विद्यार्थीको घरमा अभिभावक हुन्छन् र अभिभावक मतदाता भएको हुँदा अनेक किसिमले बालबालिका प्रभावित हुन सक्छन् । तर सम्भव भएसम्म कम उमेरका विद्यार्थीलाई चुनाव प्रचारप्रसारसम्बन्धी कार्यबाट टाढा राख्नु उचित हुन्छ । संवेदनशील बालबालिका तथा अभिभावक र उम्मेदवारहरू पनि सम्भव भएसम्म यस्ता कुराप्रति संवेदनशील हुनु आवश्यक छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here