शैलेन्द्र झा, रौतहट, २९ कात्तिक/

रौतहट जिल्लामा पनि वाम लोकतान्त्रिक गठबन्धन र जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

रौतहटको क्षेत्र नं १ (१)बाट २०७४ सालको चुनावमा राजपाका लालबाबू साह जितेका थिए तर वाम लोकतान्त्रिक गठबन्धन बनेर नेपाली काङ्ग्रेसका नागेन्द्र साहले टिकट पाएपछि लालबाबू साह स्वतन्त्र उम्मेदवार बनेका हुन् । यो क्षेत्रबाट एमाले–जसपा गठबन्धनबाट एमालेका राजकिशोर यादव चुनावी मैदानमा छन् । अहिलेसम्म यो क्षेत्रमा त्रिपक्षीय भिडन्तको सम्भावना छ ।

क्षेत्र नं १ (२) बाट गत निर्वाचनमा जसपाका योगेन्द्र यादव जितेका थिए र अहिले पनि जसपा–एमाले गठबन्धनबाट उनैले टिकट पाएर लडिरहेका छन् । यो क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनबाट नेकाका कृष्ण यादव र स्वतन्त्र उम्मेदवार राजेश चौधरी चुनावी मैदानमा छन् र यहाँ पनि अहिलेसम्म त्रिपक्षीय भिडन्तको सम्भावना छ ।

यी दुई क्षेत्रबाट दल र स्वतन्त्र गरी  कुल १८ जनाको उम्मेदवारी छ । रौतहट क्षेत्र नं २ (१)बाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेकाका नागेन्द्रप्रसाद सिन्हा जितेका थिए । अहिले वाम लोकतान्त्रिक गठबन्धन बनेपछि उनले अवसर पाएनन् र स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका शेख जमसेद र एमाले–जसपा गठबन्धनबाट एमालेका महमद जयद आलम चुनावमा छन् ।

क्षेत्र नं २ (२)बाट जसपाका रामकिशोर यादवले गत निर्वाचनमा जितेका थिए र अहिले पनि उनी नै उम्मेदवार छन् । यो क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनबाट दुईजना उम्मेदवार छन्– नेकपा (एकीकृत समाजवादी)बाट कनिस पटेल र नेकपा माओवादी केन्द्रका सुरेन्द्र जयसवाल । क्षेत्र नं २ का दुई क्षेत्रबाट स्वतन्त्रसमेत कुल १७ जनाको उम्मेदवारी दर्ता छ ।

क्षेत्र नं ३ (१)मा तत्कालीन नेकपाबाट जितेका नागेन्द्र यादव यसपटक भने वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार भएका छन् । उनलाई जसपाका पूजा चौधरीले चुनावमा चुनौती दिएकी छन् । यो क्षेत्रमा यी दुवैबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

क्षेत्र नं ३ (२)मा गत चुनावमा नेकपाबाट जितेका कुन्दन कुशवाहा अहिले स्वतन्त्र भएर चुनावी मैदानमा छन् । प्रभु साहनजीक भएका यिनले साहसँगै एमालेको टिकटबाट चुनाव नलडेर स्वतन्त्र भएका हुन् । वाम लोकतान्त्रिक गठबन्धनबाट भने नेकाका सुनील यादव प्रतिस्पर्धामा छन् । यादव गत प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवार थिए र प्रभु साहसँग पराजित भएका थिए । यसपटक भने उनी प्रदेशसभा सदस्यमा चुनाव लडिरहेका छन् । यी दुईजनाबीच नै यसपटक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । क्षेत्र नं ३ का दुई क्षेत्रबाट दल र स्वतन्त्र गरी कुल २५ जना चुनावी मैदानमा छन् ।

क्षेत्र नं ४ (१)बाट गत चुनावमा नेकाका दानबहादुर ठोकरले जितेका थिए । यसपटक उनी उम्मेदवार छैनन् । वाम लोकतान्त्रिक गठबन्धनबाट यो क्षेत्रमा पनि दुईजनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट युवराज भट्टराई र नेकपा (एकीकृत समाजवादी)बाट बालकृष्ण श्रेष्ठ र जसपा–एमाले गठबन्धनबाट एमालेका अखिलेश्वर चौधरी प्रतिस्पर्धामा छन् । क्षेत्र नं ४ (२) बाट जसपाबाट शेख अब्दुल कलाम आजाद जितेका थिए । उनी गत स्थानीय चुनावमा पदबाट राजीनामा गरेर नगरप्रमुखको उम्मेदवार भएर पराजय भोगेपछि अहिले जसपाबाटै प्रदेशसभा सदस्यमा चुनावी मैदानमा ओर्लिएका छन् । यो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी)बाट शेख सतार अहमद चुनावी मैदानमा छन् । क्षेत्र नं ४ का दुई क्षेत्रबाट स्वतन्त्रसमेत गरी कुल ३६ जना उम्मेदवार छन् तर मुख्य प्रतिस्पर्धा जसपाका आजाद र नेकपा (एस)का अहमदबीच हुने आकलन गरिएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here