• अनन्तकुमार लाल दास

मङ्सिर ५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको आवधिक निर्वाचनका लागि उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् भने मतदाता कसलाई मत दिने  निक्र्योल गर्न सकिरहेको छैन । यसको प्रमुख कारण दलहरूबीच भएको गठबन्धन त छँदैछ, गठबन्धनमा सामेल दलहरूका धेरै पुराना सदस्यले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्कोतिर स्थानीय तहमा एउटा गठबन्धनमा सामेल भई अर्को गठबन्धनलाई तथानाम गाली दिने दलहरूबीच नै नयाँ गठबन्धन देखिएको छ, जसबाट मतदाता भ्रमित भएको छ भने थुप्रै युवा, शिक्षित र कर्मठ उम्मेदवारहरू पनि स्वतन्त्ररूपमैं उम्मेदवारी दिएका छन् ।

स्थापित दलहरूमा उदाएको नयाँ पुस्ताका लागि उमेर ढल्किसकेका पुरानाले ठाउँ नदिंदा नेतृत्वको पुस्तान्तरण हुन सकेको छैन । नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता गुट–उपगुटबाट दीक्षित भएकोले आफू नजीकको गुट–उपगुटबाट प्राप्त क्षणिक लाभमैं रमाइरहेको यस पटकको निर्वाचनमा पनि देखा परिरहेको छ । भविष्यमा मूलधारको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले पनि स्वतन्त्र उम्मेदवारको रूपमा धेरै युवा देखा परेका छन् । तर राजनीतिमा गहिरो रुचि र इच्छा भएको नयाँ पुस्तालाई मतदातालाई सजिलै स्वीकार गर्ने चुनौती पनि छ । यो हामीले अहिले पनि देख्दै र भोग्दै आएको अवस्था हो ।

के नेपाली राजनीति अनि समाजले २५–३० वर्षको सङ्घीय सांसद स्वीकार गर्न सक्ला ? के हामीले युवा नेतृत्व तयार गर्न केही गरेका छौं ? भ्रातृ सङ्गठन चलाउने, आन्दोलन गर्ने र मोटरसाइकल ¥यालीबाहेक अन्य दलगत एवं संस्थागत जिम्मेवारीमा युवाहरूलाई कहिल्यै दलहरूले परीक्षण गरेका छन् ? राजनीतिमा आफ्नो क्षमताको परीक्षण गराउन युवाले के ५० वर्ष उमेर कटाउनुपर्ने हो ? राजनीतिबाहेक अन्य क्षेत्रमा युवाहरूले आफ्नो क्षमता प्रदर्शन गरेका थुप्रै उदाहरण छ । अन्य क्षेत्रमा उनीहरूले अवसर पाएकै कारण आफूलाई प्रमाणित र स्थापित गरेका हुन् । आज नेपाली युवामा राजनीतिप्रति वितृष्णा जगाउने कारणमध्ये स्वयं राजनीतिक दल एक हो । यसरी युवाहरूलाई पछाडि छाड्नु र उनीहरूको मुद्दालाई सम्बोधन नगरेको हुनाले नै मूलधारको नेपाली राजनीतिमा युवा प्रतिनिधि नहुनु पनि कारण हो । २०२२ को जनगणना अनुसार नेपालमा १६ देखि ४० उमेर समूहका युवाहरूको जनसङ्ख्या ४०.६८ प्रतिशत छ ।

४५ देखि ५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिलाई हुर्कंदै गरेको युवा पुस्ता आफ्नो नेता मान्न सकिरहेको छैन भने केही यस्ता छन् जो ‘पोलिटिक्स इज डर्टी गेम’ भनेर हुर्किरहेका छन् । मोफसलका युवा पुस्ताको सोच पनि यस्तै देखिन्छ । यिनीहरू के चाहन्छन् ? यिनीहरू कस्तो भविष्यको कल्पना गर्दैछन् भन्ने कुराको हेक्का न त नीति निर्माताले राखेको छ, न देशको सेवामा समर्पित राजनीतिमा लागेकाले नै राखेका छन् । त्यसैले स्वस्फूर्तरूपमा जब उनीहरू सडकमा ओर्लिन्छन्, यिनीहरू परिचालित भएको, कुरै नबुझी आन्दोलनमा कुदेको, सामाजिक सञ्जालमा फोटो भर्न आएको भन्ने आरोप पनि लाग्ने गरेको छ । यसो हुनुको मुख्य समस्या नेपालमा परिपक्व युवा नेतृत्वको अभाव नै हो । युवा पुस्तासँग ‘भिजन’ छ, तर आफ्नो परिकल्पना साकार गर्ने अवसर छैन । उनीहरूको कुरा सुनिदिने र बुझिदिने राजनीतिक नेतृत्व विरलै छ ।

युवा नेतृत्वको कुरा गर्दा हाम्रो समाजले उनीहरूलाई कसरी लिन्छ भन्ने अर्को महत्वपूर्ण विषय हो । नेपाली समाजमा राजनीतिमा लाग्ने युवालाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । युवा नेतृत्वको कुरा गर्दा हाम्रो छोरा, भाइ वा भतिज सकेसम्म राजनीतिबाट टाढै बसोस् भन्ने छ । माध्यमिक तहसम्मको पढाइमा राजनीतिलाई नकारात्मकरूपमा चित्रण गरिन्छ । क्याम्पस र विश्वविद्यालयमा राजनीति भनेकै आन्दोलन हो भन्ने सिकाइन्छ । तर परिकल्पना भने सक्षम युवा राजनीतिक नेतृत्वकै रहिरहन्छ । देशमा युवा नेतृत्वको आवश्यकता बोध न राज्यले गरेको छ, न समय–समयमा उनीहरूलाई प्रयोग गरेर माथि उठेका राजनीति दलहरूले नै । नेपालमा छोटो समयमा धेरै राजनीतिक व्यवस्था परिवर्तन भए पनि असल लोकतान्त्रिक संस्कारको जग बलियो नहुनु हाम्रो तीतो यथार्थ हो ।

हाल सम्पन्न हुन लागेको निर्वाचनमा युवाहरूले राजनीतिमा आफ्नो स्थान आपैंm खोज्ने प्रयास गरेका छन्, जुन राम्रो सङ्केत हो । तर हामी सधैं व्यवस्था, नीति र विचारभन्दा दलको क्षमतामा विश्वास गर्छौं । गणतन्त्र आउनेबित्तिकै नेपाल स्वीटजरल्यान्ड बन्ने कल्पना गरेका थियौं, त्यो हालसम्म सपनै छ । हालको गठबन्धनले अब आउने दिनहरूमा नयाँ राजनीतिक विकास ल्याउँछ भन्ने देखाएको छ तर यथार्थमा हेर्दा यो ‘कथा कुर्सीको’ बाहेक केही होइन । विगतमा पनि हामीले नेतृत्वबाट निकै आस गरेका थियौं तर हात केही लागेन । केपी ओली घरघरमा ग्याँसको पाइप पु¥याउनेदेखि पानीजहाजको गफ लिएर आए । त्यसबाट पनि ‘गफ’ भन्दा बढी केही हासिल भएन । यसरी हामीले नेतृत्व व्यवस्था र प्रक्रियामा भन्दा व्यक्तिमा गन्तव्यको खोजी गरिरह्यौं । अनि जब आस गरेका व्यक्तिहरूको आआफ्नो सीमा र बाध्यता उजागर हुँदै गयो, तब हाम्रा सपना पनि भताभुङ्ग गए ।

यसपटकको निर्वाचनमा हरियो आँपको बोट हेरेर त्यसले राम्रो फल दिन्छ भन्ने नसोची तराई–मधेसकै बगैंचा उर्वर बनाउन शिक्षित, कर्मठ, इमानदार युवा नेतृत्वको छनोट गरी आफ्नो मत दिंदा बुद्धिमानी हुनेछ । नयाँ पुस्ताले कसरी विचार निर्माण हुँदैछ, कसलाई नेतृत्व सुम्पँदा सार्थक हुन्छ भन्ने बृहत् मन्थन गरेर मत खसाल्दा राम्रो हुन्छ । असल नेतृत्व आयो भने तराई–मधेसको समस्या स्वतः हल हुन्छ । हिजो र आजको राजनीतिक परिवेशमा थुप्रै परिवर्तन देखा परेको छ । देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनताले त्यस्तै प्रवृत्ति अँगाल्न सिकाएको हुँदा विज्ञता, दक्षता र नैतिक चरित्रलाई प्राथमिकता दिने संस्कारको विकास अपरिहार्य भइसकेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा लाखौं नेपाली विदेशमा कार्यरत र अध्ययनरत छन् । उनीहरूले विप्रेषणको रूपमा अर्बौं रकम भिœयाएका छन् तर त्यससँगै अन्य देशका विचार र संस्कृतिलाई पनि लिएर आएका छन् जसबाट देशमा दिनहुँ सांस्कृतिक प्रदूषण बढिरहेको छ । त्यहीं अर्कोतिर सामाजिक सञ्जालले हाम्रै हातमा विश्वभरिको सूचना त ल्याइदिएको छ तर हाम्रै वरपरको विभिन्न भौगोलिक, सामाजिक, आर्थिक अवस्था बुझ्न हामी कति सक्षम छौं ? आधुनिक अभ्यास र विचारबाट सुसूचित हुन आवश्यक छ तर देशको मौलिकता र नेपाली समाजको विविधताको जानकारीबेगर नेतृत्वको कुनै अर्थ हुँदैन । त्यसैगरी राजतन्त्र हटेर गणतन्त्र आएको र संविधानको नयाँ थान ल्याउँदैमा समाज आफै परिवर्तन हुने होइन । व्यवस्था परिवर्तन भए पनि पुरानै ‘महाराजा’ प्रवृत्ति अङ्गीकार गर्ने नेतृत्व हामीले पटक–पटक भोग्दै आएका हौं । यसर्थ वर्तमानमा देशले युवा नेतृत्व खोजेको कुरामा सबै नागरिक गम्भीर हुनुपर्ने हो ।

यदि पुरानै नेतृत्वलाई अँगाल्ने हो भने हिजोको नेतृत्वमा देखिएको ढोङ नदेखिएला भन्न सकिन्न । तर यस्तो सम्भावनालाई निवारण गर्नु भनेको सामयिक परिमार्जनबाटै हो । यसका लागि हामीले असहज लाग्ने कुरा गर्नुपर्ने हुन्छ । असामान्य लाग्ने काम गर्नुपर्ने हुन्छ । सँगसँगै निर्वाचनमा हालसम्म हामीले गरिरहेका क्रियाकलापको आत्मालोचन गर्ने बानीको विकास गर्नुपर्ने हुन्छ अनिमात्र हामी सही नेतृत्व चयन गर्न सक्षम हुनेछौं । देशको शक्ति र सत्ताको मञ्चमा ‘कुर्सी’को लागि जुन नाटक प्रदर्शन भइरहेको छ त्यसले जनताको बौद्धिकता अपमानित भएको छ । यसर्थ यस्ता नेतृत्वको पहिचान गरी त्यसलाई निर्वाचनको अग्निमा होमेर राष्ट्रिय सपना साकार गर्नु वर्तमानको खाँचो हो ।

हामीले के पनि बुझ्नुपर्छ भने नेतृत्वमा युवाको पहँुच नहुनु नै समस्या हो र वर्तमान समस्याको समाधान पनि युवा नेतृत्व नै हो । यहाँनिर सोच्नुपर्ने कुरो के हो भने विगतको नेतृत्व ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता, मौलिकता आखिर के नपुगेर बेहाल हुन पुगेको हो ? देशलाई साँच्चीकै निकास दिने हो भने युवा नेतृत्वको आवश्यकता मात्र हैन, कस्तो युवा नेतृत्व भनेर पनि बहस गर्नुपर्छ । अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै टाढा छ । उनीहरूलाई आफ्नो आधारभूत आवश्यकता पूर्ति गर्न  देश वा विदेशको छेउ र कुनामा अल्झिएर बाँच्नुपरेको छ । त्यस्तै नेतृत्वसँग उदासीन अर्को ठूलो युवा समूह छ जो तुलनात्मकरूपमा शिक्षा र स्रोतमा केही पहुँच त राख्छ, तर सत्ताको खेलबाट वितृष्णाले गर्दा आफ्नो इच्छालाई व्यक्तिगत घेरामैं सीमित राख्न रुचाउँछ ।

यस भद्रगोलबीच पनि नेतृत्व लिन तत्पर युवाहरू तीन तहमा विभाजित छन् । पहिलो राजनीतिक दलसँग सम्बद्ध युवा, दोस्रो दलमा नभए तापनि राजनीतिक मुद्दा उठाउने युवा, जो व्यक्तिगत माध्यमबाट यस मुद्दामा कार्यरत छ । तेस्रो यस्ता युवा जो आफ्नै दल सिद्धान्त विहीन भएपछि विद्रोह गरेर उम्मेदवारी दिएको छ । देशमा गर्नुपर्ने काम यति धेरै छ कि एकजनाले गरेर केही हुनेवाला छैन । त्यसैले हामीले त्यस्तोलाई टुप्पोमा ठेल्नुपर्छ जसले तत्काल भ¥याङ दिन सकोस् र सबैका लागि मैदान बनाउन सकोस् । हामीले त्यस्तो नेतृत्वलाई छान्नुपर्छ जसले सामूहिकतामा विश्वास राख्दै आफूलाई हैन, समुदाय र सामुदायिकतालाई केन्द्रमा राख्ने बुद्धिमानी र उदारता देखाउन सकोस् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here