- सञ्जय मित्र
नारायणी वाङ्मय प्रतिष्ठान कुनै जमानाको निकै प्रतिष्ठित संस्था हो । स्थापनाकालदेखि पुरस्कार र वार्षिक कार्यक्रमले यसको प्रतिष्ठा बढाएको थियो । बिस्तारै सेलाउँदै गयो र जब देश सङ्घीय संरचनामा गयो, तब यो प्रतिष्ठानले खासै सक्रियता देखाएन ।
जो सक्रिय रहँदैन, उसलाई सबैले बिर्सिंदै जान्छन् । सक्रिय जीवन सबैको नजरमा हुन्छ । सक्रियताले त्यत्तिकै सार्थकता राख्दछ भने निरन्तर सार्थक सक्रियताले झन् सार्थक व्यक्तिहरूमा र सार्थक कार्य गरिरहने मानिसहरूमा सक्रिय र सार्थक चर्चा पाइरहनु स्वाभाविक हो । जो निरन्तर सार्थक कार्य गर्दछ, उसप्रति सकारात्मक आशा र संवाद भइरहन्छ । सकारात्मक कर्म गर्नेबाट निरन्तर सकारात्मक र अझ धेरै सकारात्मक कर्मको आशा राख्नु स्वाभाविक हो । र जहाँ निरन्तर सकारात्मक कर्म सम्पन्न हुन्छ, त्यहाँ निरन्तर सकारात्मक प्रतिफल आइरहन्छ ।
नारायणी वाङ्मय प्रतिष्ठानको मुख्य कार्यालय वीरगंजमा रहेको छ । जिल्ला प्रशासन कार्यालय, पर्सामा दर्ता भएको यो प्रतिष्ठान आफ्नो नामले झैं उच्च प्रतिष्ठा स्थापित गरिसकेको थियो र छ पनि । विगतमा देश चौध अञ्चलको आन्तरिक भौगोलिक राजनीतिक संरचनामा हुँदा १४ अञ्चलमध्ये एक नारायणी अञ्चललाई मुख्य कार्यक्षेत्र बनाएर स्थापना भएको बुझिन्छ ।
औपचारिक इतिहास हेर्दा यस संस्थाले जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०४५ भदौ १ मा संस्था दर्ताको प्रमाणपत्र पाएको देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ताको सूचीमा यस प्रतिष्ठानको दर्ता सङ्ख्या १६अFैं रहेबाट यो स्पष्ट हुन्छ कि वीरगंजजस्तो सुविधासम्पन्न ठाउँमा सामाजिक संस्थाको रूपमा दर्ताको हिसाबले १६औं हुनु आफैंमा कति पुरानो र गरिमामय रहेको छ ।
त्यस बेला नारायणी भन्नाले वर्तमानको पर्सा, बारा, रौतहट, मकवानपुर र चितवन जिल्लालाई बुझाउँथ्यो । अहिले नवयुवा पुस्ताले यो अञ्चलको संरचना बुझ्न बिस्तारै छोड्दै जालान् तर अहिलेको प्रौढ पुस्ताले अझै यो बिर्सिने अवस्था छैन । अहिले प्रदेश जसरी सबैको मन र व्यवहारमा घुसेको छ, त्यसभन्दा निकै रूढ थियो अञ्चल । अब यो स्मृतिको कुरो भइसकेको छ र बिस्तारै इतिहासको विषय बन्दैछ । राजनीतिक संरचनाको दृष्टिकोणले इतिहास भइसकेको पनि छ । अहिले नारायणी अञ्चलका तीन जिल्ला पर्सा, बारा र रौतहट मधेस प्रदेशमा आएका छन् भने मकवानपुर र चितवन वाग्मती प्रदेशको संरचनामा समेटिएका छन् । अहिले पनि पर्सा, बारा र रौतहटबाट मकवानपुर र चितवन जाँदा नारायणी अञ्चलको व्यावहारिक अनुभूति भोग्नेलाई आफ्नै पुरानै भूमिमा पुगेको जस्तो र मकवानपुर तथा चितवनबाट पर्सा, बारा र रौतहट आउँदा पनि सोही किसिमको अनुभूति हुने गर्दथ्यो । रौतहट सदरमुकाम गौरमा भएको एउटा साहित्यिक कार्यक्रममा चितवनका एक साहित्यकारले आफूलाई आफ्नै घरको भन्ठानेका थिए जबकि सर्लाहीको साहित्यकारले आफूलाई छिमेकी बताएका थिए । सर्लाही जिल्ला तत्कालीन संरचनाको जनकपुर अञ्चलमा पर्दथ्यो । यस किसिमको मनोविज्ञानबाट यो स्पष्ट हुन आउँछ कि तत्कालीन विकास क्षेत्रको संरचनाले व्यावहारिक जीवनमा पनि प्रभाव पारेको थियो । तर २०६२/६३ को आन्दोलनपछि देशको आन्तरिक संरचना फेरिएको छ । पहिलेका गाउँ विकास समितिहरू अब गाउँपालिका भएका छन् । अञ्चल र विकास क्षेत्र हराएका छन् तथा प्रदेशको संरचनामा देश गइसकेको छ । बिस्तारै अब अञ्चलको सम्झना पनि कम हुँदै जान थालेको छ । मानिसले वर्तमानलाई बढी हेर्ने हो । वर्तमानलाई मानिसले भोगिरहेको हुन्छ । जसको उपयोग र उपभोग भइरहेको हुन्छ, तत्काल त्यसैको अनुभूति र स्वाद मानिसले थाहा पाउने हो । विगतको स्वाद त कुनै सन्दर्भमा हुने हो । जीवित सम्झनामा आउने हो तथा इतिहास रेखाङ्कन र लेखाङ्कनमा आउने हो ।
अहिले नारायणी वाङ्मय प्रतिष्ठानले पुनर्जीवन पाएको छ । यो संस्था केही समयदेखि पूर्णतया शान्त थियो तर अहिले सक्रियता पाउन खोज्दैछ । वीरगंजबाट प्रकाशनरत चर्चित दैनिक पत्रिका प्रतीकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माको विशेष सक्रियता तथा पहलले नै यो संस्था बिउँझिएको हो । उमेरको हिसाबले ३४ वर्ष नाघिसकेको यस प्रतिष्ठानले पहिले नै प्रौढता हासिल गरिसकेको थियो । हरेक वर्ष नारायणी अञ्चलमा एउटा प्रौढ साहित्यिक कार्यक्रम गर्ने र पुरस्कार वितरण गर्ने गरी गरिमामय कार्यक्रमको आयोजन गर्दै आएको थियो । यस संस्थाको कार्यक्रममा अतिथिको रूपमा तथा सहभागीको रूपमा आउनलाई साहित्यकारहरू आफूलाई धन्य ठान्दथे । यस संस्थाले मुख्यगरी वीरगंज केन्द्रित कार्यक्रमहरू गर्ने गरेको थियो तर कहिलेकाहीं अन्य जिल्लामा पनि आधिकारिक कार्यक्रमहरू सम्पन्न गरेको पाइन्छ ।
विशिष्ट पत्रकार तथा साहित्यकार जगदीशप्रसाद शर्माको अगुवाइ र अथक परिश्रमले कुम्भकर्णे निद्राबाट बिउँतिएको नारायणी वाङ्मय प्रतिष्ठानको नेतृत्व डा विश्वम्भर शर्माले सम्हालेका छन् । यस संस्थाले आफू बिउँतिएको प्रमाणको रूपमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट आफ्नो प्रमाणपत्र पुनः प्राप्त गरेको छ । अर्थात् गत भदौ २२ मा यस संस्थाले आफ्नो प्रमाणपत्र र विधानको प्रथम प्रतिलिपि हात पारेको छ । यसपछि बैंकमा रहेको आफ्नो नामको पनि नवीकरण गरेको छ । यस संस्थाको बैठक पनि बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ ।
आफ्नो गर्विलो र दर्विलो इतिहासमा लागेको धूलो टक्टक्याउँदै आफ्नो वर्तमानलाई यस प्रतिष्ठानले पुनः चम्किलो बनाउनुपरेको छ । प्रतिष्ठानले आफूलाई चिन्नुपरेको छ र आफूलाई चिनेकै आधारमा आफूलाई पुनः व्यावहारिक परिचय प्रदान गर्नुपरेको छ । विगतमा जस्तै कम्तीमा पुरस्कारका लागि पुस्तकको आह्वान गर्ने, पुस्तकहरूको प्राप्तिपछि पहिलेझैं निष्पक्ष मूल्याङ्कन गर्ने र त्यस्तै भव्य कार्यक्रम गरी पुरस्कार हस्तान्तरण गर्ने कामलाई प्रतिष्ठानले लगातार केही वर्ष गर्न सकेमा आफ्नो विगत सम्झेको र लयमा फर्केको दुनियाँले देख्न पाउनेछन् ।
पहिले संरचना अर्कै थियो र अहिले देशको संरचना नै बदलेको छ । पहिले अञ्चल र विकास क्षेत्र हुने गरेकामा अहिले प्रदेश छ । यस कारण कतिपयले यस प्रतिष्ठानलाई प्रादेशिक संरचनामा लैजानुपर्ने सुझाव पनि दिइरहेका छन् । यसबाट यसको कार्यक्षेत्र कोशीदेखि नारायणी नदीसम्म हुन पुग्छ । पहिले पाँच जिल्ला हुने गरेकामा अब आठ जिल्ला हुन पुग्छ । तर अर्कोथरीको राय यो पनि रहेको छ कि पहिलेको नारायणी अञ्चलको मूल भूगोललाई नछोडी यस संस्थाको भौगोलिक आयामलाई पूरा मधेस प्रदेश बनाउनु उचित हुन्छ । यसले गर्दा यस संस्थाको कार्यक्षेत्र दश जिल्ला हुने देखिन्छ । तेस्रो सुझाव पनि रहेको छ, पहिले जसरी नारायणी अञ्चल थियो, अब अञ्चल नराखेर नारायणी वाङ्मय प्रतिष्ठानको कार्यक्षेत्र पहिलेझैं पर्सा, बारा, रौतहट, मकवानपुर र चितवन जिल्ला नै रहनुपर्दछ । यस संस्थाको इतिहास यही हो र वर्तमान प्रादेशिक संरचनाले पनि प्रतिष्ठानलाई आफ्नो पाँच जिल्लालाई कार्यक्षेत्र बनाएर काम गर्न कुनै बाधा पार्ने अवस्था रहेको छैन । साहित्य भनेको सम्बन्धको विस्तार पनि हो, इतिहास र संस्कृति पनि हो । नारायणी वाङ्मयले आफ्नो इतिहास र संस्कृतिलाई सम्मान गर्नु उचित हुन्छ किनभने यस प्रकारको संस्थाबाट नै मानिसले इतिहास र संस्कृतिको अनुकरण गर्न मन पराउँछन् ।
देशको प्रतिष्ठित साहित्यिक संस्थाको रूपमा रहेको यस प्रतिष्ठानको पुनर्सक्रियताले अब फेरि पनि एउटा नयाँ आशाको सञ्चार भएको छ । साहित्यकार तथा भाषासेवीहरूमा एउटा सुखद विश्वासको पुनरोदय भएको छ । अबको दिनमा यस प्रतिष्ठानले गर्ने गतिविधिले यसप्रति आशावान् र आस्थावान् वाङ्मयसेवीहरूको आस्थाको धरहरा अझै आकाशिंदै जाने विश्वास लिन सकिन्छ । फेरिएको परिवेश अनुसार यस प्रतिष्ठानले आफ्नो भूमिकाको खोजी र त्यसको प्रतिष्ठा कायम गर्न सफल हुनेमा विश्वस्त छन् वाङ्मयसेवीहरू ।