• विश्वराज अधिकारी

नेपालमा बेरोजगारी कुन स्तरमा बढेको छ भन्ने कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने नेपाली युवाको भीड हेर्दा ज्ञात हुन्छ । दिनहुँ हजारौंको सङ्ख्यामा युवा रोजगारका लागि खाडी मुलुकतिर गइरहेका छन् । बाहिरबाट हेर्दा विदेशिने युवा प्रसन्न देखिए पनि मनभित्र भने उनीहरूको आगो बलिरहेको हुन्छ । परिवार छोड्नुको पीडाले पोलिरहेको हुन्छ । परिवार, समाज र देश छोडेर परदेश जान कसलाई मन लाग्छ ? कसैलाई पनि मन लाग्दैन । तर देशभित्र रोजगारको अभाव र रोजगारका लागि विदेश जान प्रेरित गर्ने सामाजिक मनोविज्ञानले गर्दा युवा परदेश जान बाध्य छ । कलिलो उमेरमा आफ्नै माटो र हावापानीमा रमाउन पाउनुपर्ने समयमा युवाहरू परदेशिनुपर्ने बाध्यता छ । अरबको तातो हावा खान विवश हुनुपरेको छ ।

यसैगरी विदेशमा कस्तो काम पाउने हो । कस्तो किसिमको वातावरणमा काम गर्नुपर्ने हो । काम गर्दा स्वास्थ्यमा कस्तो असर पर्ने हो । गर्नुपर्ने काम गर्न सक्ने क्षमता आफूसँग छ कि छैन । यस्ता प्रश्नहरूले पनि विदेश जाने युवाहरूलाई सताउने गर्छ । विदेशी भूमिमा काम गर्दा नैराश्य बढेर धेरै युवाले आत्महत्यासमेत गरेका छन् । यसैगरी जोखिमपूर्ण काम गर्दा दुर्घटनामा परेर पनि धेरै युवाको ज्यान गएको छ ।

यो त भयो नेपालबाट रोजगारको लागि विदेशतिर जाने अदक्ष श्रमिकहरूको कथा । मलेशिया, दक्षिण कोरिया एवं खाडी मुलुकहरूमा जाने अदक्ष वा अर्धदक्ष श्रमिक एवं कामदारहरूको व्यथा ।
रोजगारका लागि बेलायत, क्यानाडा, अमेरिका, अस्ट्रेलिया आदि देश जाने युवाहरूको कथा पनि कम दुःखान्त छैन । ती देशहरूमा जाने नेपाली युवाहरू अध्ययनको लागि त्यता गएको भनिए पनि यथार्थमा उनीहरू पनि रोजगारकै लागि परदेशिएका हुन् । आफ्नो शिक्षा वा दक्षता अनुसारको स्वदेशमा जागीर नपाएर उनीहरू विदेश गएका हुन् । आफ्नो शिक्षा, सीप वा दक्षता अनुरूप उनीहरूले नेपालमैं जागीर पाउने हो भने हजारौंको सङ्ख्यामा युवाहरू विदेश नगई नेपालमैं बस्नेछन् ।

धनी देशमा पढ्नका लागि जाने तर उतै बस्ने नेपाली युवाहरूको कथा झनै मार्मिक छ । आमाबाबुका साथ बस्ने उमेरका कलिला युवाहरू परिवार छाडेर विदेशतिर जाँदा उनीहरूको मनमा ठूलो निराशा हुन्छ, पीडा हुन्छ । तर विदेशमा राम्रो जागीर पाइन्छ भन्ने आशाले उनीहरूको त्यो निराशा र पीडालाई छोपिदिएको हुन्छ । माथिल्लो उमेरका नेपाल छाडेर विदेश जागीरका लागि जानेहरूको पनि उस्तै पीडा छ । आफ्नो परिवार र खासगरी वृद्ध मातापितालाई नेपालमैं छाडेर विदेश जानु पर्दाको पीडा उनीहरूको साथै विदेश जान्छ र त्यो पीडाले उनीहरूलाई परदेशमा पछ्याइ रहन्छ, सताइरहन्छ । कतिपयले त नेपालमा मृत्यु भएका आफ्ना मातापिताको अन्त्येष्टि पनि देख्न पाउँदैनन् र परदेशमैं काजक्रिया गर्छन् । यस्तो स्थिति उनीहरूको लागि कति पीडादायक हुँदो हो ?

उच्च शिक्षा पाएका, सीप भएका वा दक्ष युवाहरू रोजगारका लागि विदेश जाँदा उनीहरूले भोग्नुपर्ने एउटा अर्को ठूलो समस्या छ । त्यो हो उनीहरूका सन्तान जो विदेशमैं जन्मेहुर्के, उनीहरूले नेपाली भाषा र संस्कृति जानेका हुँदैनन् र नेपाल जान र सदाका लागि नेपाल बस्न पटक्कै मान्दैनन् । अर्थात् विदेशमा जन्मेका नयाँ पुस्ताका युवाहरू जुन देशमा छन् त्यसै देशका नागरिक हुन पुग्छन् । परिवारभित्र पनि त्यसै देशको भाषा बोल्छन् । त्यहींको संस्कृति, खानपिन, परम्परा मान्छन् । सङ्क्षेपमा भन्ने हो भने नेपालबाट रोजगारका लागि विदेश गएका दक्ष नेपाली कामदारहरू परिवारसहित सदाका लागि उतै बस्छन् । विदेशमैं हराउँछन् । नेपालीबाट अनेपाली हुन पुग्छन् । बरु खाडीतिर गएका युवाहरू नेपाल फर्कन्छन् र आफूले सिकेको सीप, ज्ञान, दक्षता नेपालमा प्रयोग गर्छन् ।

माथि केवल वैदेशिक रोजगारका समस्याहरूको मात्र चर्चा गरियो । तर समस्याका साथ समाधानको पनि कुरा गर्नुपर्छ ।

नेपालमा रोजगार सृजना एवं विस्तार गर्नका लागि निम्न कार्यहरू गर्न आश्वयक छ ।
स्कूल एवं कलेजको पाठ्यक्रममा र मुख्यगरी आठ कक्षादेखि ब्याचलरसम्मको पाठ्यक्रममा व्यापार शिक्षा समावेश गर्नुपर्छ । व्यापार, विज्ञान, मानविकी, वन, कृषि जुन विषय अध्ययन गरे तापनि सबै विद्यार्थीले व्यापारसँग सम्बन्धित एउटा विषय पढ्न अनिवार्य गर्नुपर्छ । व्यापारसँग सम्बन्धित विषयमा नयाँ व्यापारको सृजना कसरी गर्ने, नयाँ वस्तुको लगि बजारको सृजना कसरी गर्ने, आफ्नो वस्तु एवं सेवालाई कसरी प्रतिस्पर्धी तुल्याउने, तीव्र प्रतिस्पर्धमा कसरी सफलता हासिल गर्नेजस्ता कुरा समाविष्ट गर्नुपर्छ । विद्यार्थीहरूलाई र मुख्यगरी व्यापार विषय अध्ययन गर्ने विद्यार्थीलाई स्वयंले व्यापार गर्न उत्प्रेरित गर्ने किसिमको पाठ्यक्रम तयार पार्नुपर्छ र उनीहरूलाई व्यापार गर्न प्रोत्साहित गर्नुपर्छ । रोजगार सृजना व्यापारको स्थापनाले गर्दा हुने हो ।

नगर, प्रदेश र केन्द्र, हरेक स्तरमा, सरकारले व्यापार गर्ने व्यक्तिहरूलाई प्रोत्साहित गर्नुपर्छ । व्यापार आरम्भ गर्न खोज्ने व्यक्तिहरूलाई सरकारले आर्थिक एवं भौतिक सहयोग गर्नुपर्छ । व्यापार गर्न खोज्ने व्यक्तिहरूलाई आवश्यक पर्ने बजार–सूचना र अन्य जानकारी सरकारले उपलब्ध गराउनुपर्छ । पूर्ण सहयोग गर्नुपर्छ ।

अहिलेको यो वैश्य युगमा प्रत्येक व्यक्ति अनिवार्यरूपमा व्यापारमा संलग्न हुनुपर्ने स्थिति छ । प्रत्येक व्यक्तिले बाँच्नका लागि आफूसँग भएको श्रम, सीप, ज्ञान बिक्री गर्नुपर्ने अनिवार्यता छ । पहिलेको कृषि युगमा जस्तो परिवारहरूले आफूलाई आवश्यक पर्ने विभिन्न कुरा उत्पादन गर्ने स्थिति अहिले छैन । अहिले बहुसङ्ख्यक व्यक्ति केवल श्रम, सीप, ज्ञान उत्पादन गर्छन् र त्यही बिक्री गरेर जीवनयापन गर्छन् । यस कारणले गर्दा आफूसँग रहेको श्रम, सीप, ज्ञान बिक्री गर्न प्रत्येक व्यक्ति व्यापरमा संलग्न हुन आवश्यक छ । डाक्टर होस् वा इन्जिनीयर, वकिल वा शिक्षक सबैले आफ्नो सीप, ज्ञान, श्रम बिक्री गर्नुपर्ने हुन्छ । यो कारणले गर्दा यो वैश्य युगमा सबैले व्यापार विषय अध्ययन गर्न आवश्यक छ । यस्तो गर्न सके सबैले आआफ्नो क्षेत्रमा नयाँनयाँ व्यापार सृजना गर्न सक्छन् । रोजगार विस्तार गर्न सक्छन् ।

हाम्रो शिक्षा पद्धतिमा व्यापक सुधार गर्नु पनि उत्तिकै आवश्यक छ । हाम्रो शिक्षा ज्ञानमुखी छ । तर ज्ञानमुखी भएर मात्र हुँदैन । हामीले हाम्रो शिक्षालाई सीपमुखी पार्न पनि आवश्यक छ । कुनै पनि शैक्षिक क्षेत्रमा, कुनै निश्चित तहको शिक्षा प्राप्त गरेपछि, शिक्षा प्राप्त गर्ने व्यक्तिमा एउटा खास सीप हुनु आवश्यक छ । त्यो सीप प्रयोग गरेर जीविकोपार्जन गर्न सक्ने स्थिति हुन आवश्यक छ ।

यसैगरी हामीले हाम्रो सामाजिक मनोविज्ञान पनि परिवर्तन गर्न आवश्यक छ । हाम्रो बेरोजगारी हाम्रो सामाजिक मनोविज्ञानसँग पनि सम्बन्धित छ । हामी व्यापार–पेशालाई महŒव दिंदैनौं । नयाँ नयाँ व्यापार सृजना गर्दैनौं । कसैको अधीनमा रहेर, कसैको कामदार भएर काम गर्न रुचाउँछौं, तर आफैंले कुनै व्यापार सृजना गर्दैनौं ।

सरकारी जागीरमा इज्जत हुन्छ भन्ने हाम्रो मान्यता पनि नेपालमा रोजगार सृजनाको बाधक हो । हामी सरकारी जागीरलाई जति महŒव दिन्छौं त्यति नै आफूले गर्ने व्यापारलाई दिंदैनौं । सरकारी जागीर गरेमा हाकिम हुन पाइन्छ भन्ने मनोविज्ञानले हामीलाई उद्यमी हुन दिइरहेको छैन । विदेशमा र खासगरी धनी देशहरूमा, युवाहरूको प्रथम रोजाइ स्वयंले व्यापार सृजना गर्नु हो । सरकारी जागीर सबैभन्दा कम प्राथमिकतामा पर्छ किनभने सरकारले दिने तलब वा ज्याला कम हुन्छ, त्योभन्दा बढी आफूले गर्ने व्यापारबाट प्राप्त हुन्छ । दक्षिण एशियाका देशहरूमा मात्र सरकारी जागीर अति लोकप्रिय छ ।

माथि भनिएको कुरा सरसर्ती हेर्दा सामान्य देखिन्छ । तर सामान्य होइन । सरकारी वा गैरसरकारी जागीर प्राथमिकता नपर्ने अवस्था सिर्जना गरी रोजगार वृद्धिका लागि यी कुरामा गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here