प्रस, सेढवा, १६ भदौ/

वर्षेबाली धानमा एकैपटक दुई/तीन वटा रोग लाग्दा किसानहरू चिन्तामा परेका छन्। गबारो (धानको पातको टुसामा कीरा लागी सेतो भई सुक्दै जाने) तथा पात बेरुवा (पात एकापसमा बेरिंदा बाला ननिस्किने र निस्के पनि दाना नलाग्ने) रोग लागेको छ।

यी रोगहरू भदई मन्सुली, सोना सारो तथा हाइब्रिडलगायतका बालीमा लागेको छ। यसका साथै सोना मन्सुली धानमा सरलहा रोगको प्रकोप देखिएको किसानहरूले बताएका छन्। भदई मन्सुली तथा सोना सारो, मोटरी मन्सुली धानमा सरलहवा रोग लाग्दा बालीको जरामा कीरा लागि कुहिने तथा बिरुवा नै सुक्ने गरेको किसानहरूको भनाइ छ। यो रोगको प्रकोप नदेखिए पनि पातको टुप्पा सुक्ने रोग रहेको पटेर्वासुगौली गाउँपालिका वडा नं ४ का किसान शम्भु चौधरीले बताए। यो रोग प्रायः सबैको धानबालीमा लागेको चौधरीले बताए। यो रोग नियन्त्रणका लागि कीटनाशक औषधि छरेको तर अहिलेसम्म सुधार नभएको चौधरीको भनाइ छ। यस क्षेत्रका ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली तथा सखुवाप्रसौनी गाउँपालिकाका धानबालीमा यी रोगहरू लागेका छन्। जगरनाथपुर गाउँपालिका वडा नं १ का किसान रमेश दासले लामो समयदेखि पानी नपरेको कारण विभिन्न रोगको प्रकोप बढेको बताए। बालीमा पर्याप्त मात्रामा सिंचाइ नहुँदा बालीको वृद्धि नभएको दासको भनाइ छ।

यस सम्बन्धमा जीराभवानी गाउँपालिकाका कृषि प्राविधिक क्षेत्रबहादुर गुप्ताले खेत.जोताइको समयमा  लगातार वर्षाको कारण खेतको तैयारी राम्ररी नहँुदा कीरा तथा कीटाणुको प्रकोप बढेको बताए।

पानीका कारण चर्काे घाममा किसानले खेतको जोताइ गर्न नसक्दा जमीनभित्रको कीरा र त्यसका अन्डा नष्ट हुन नसक्दा कीराको प्रकोप बढेको गुप्ताले बताए। बाली वा बोटबिरुवालाई घाम र पानी बराबर चाहिने तर यस वर्ष घाम लाग्ने समयमा पानी मात्रै बढी परेको र पानी चाहिने बेला खडेरी लागेको कारण बालीमा रोगको प्रकोप बढेको गुप्ताले बताए। अहिले ३/४ दिनदेखि पानी परेको र  कृषि प्राविधिकसँग सल्लाह लिई २/३ पटक कीटनाशक औषधि छर्न किसानहरूलाई उनले आग्रह गरेका छन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here