प्रस, परवानीपुर, २६ असार/

वीरगंज कोरिडोर तथा अन्य स्थानका लागि मालसामान ढुवानी गर्ने ढुवानी व्यवसायीहरू समस्यामा परेका छन्। उनीहरूलाई बैंकको किस्ता तिर्न पनि समस्या भइरहेको बुझिएको छ। गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकले शतप्रतिशत मार्जिनमा मात्र मालसामान आयात गर्न मिल्ने नियम ल्याएपछि आयात एकदमै कम हुँदै गएको छ भने ढुवानी गर्ने मालवस्तु नपाउँदा वीरगंजका ढुवानी व्यवसायीहरू समस्यामा परेको बुझिएको छ।

वीरगंजको आदर्शनगरस्थित विभिन्न ट्रान्सपोर्ट व्यवसायी, सुक्खा बन्दरगाहबाट मालवस्तु उठाएर ढुवानी गर्ने व्यवसायी तथा आइसिपी भन्सारमा अनलोड भएका मालसामान ढुवानी गर्नेसमेत गरी करीब दुई हजार गाडीका साहुहरू समस्यामा परेको बताइएको छ। एकजना व्यवसायीका अनुसार एक त मालसामान छैन, त्यसमा पनि डिजेलको भाउ बढ्दा पनि भाडा बढेको छैन। पुरानै भाडामा माल पठाउनुपर्ने बाध्यता छ। मुनाफाविना व्यवसाय किन गर्ने ? भनेर कतिजनाले गाडी थन्काएर राखेका छन्।

सुक्खा बन्दरगाहमा फलामजन्य कच्चा पदार्थ, बोराबन्द सामान (बिसिएन) र कन्टेनरभित्र आउने सामान गरी तीन प्रकारका वस्तु ढुवानी गरिन्छ तर अहिले फलामको आयात निकै घटेको व्यवसायीहरूको भनाइ छ। दुई वर्षअघि सुक्खा बन्दरगाहबाट दैनिक करीब पाँच सय गाडी (ट्रक, टेलर, कन्टेनर) मालसामान बोकेर बाहिर निस्किन्थे भने अहिले मुस्किलले दैनिक सयवटा गाडी मालसामान लिएर निस्कन्छन्।

सुक्खा बन्दरगाहमा फलामजन्य कच्चा पदार्थ कम हुनुमा वीरगंज कोरिडोरका अधिकांश डन्डी उत्पादन गर्ने उद्योगहरूको बिलेट रक्सौल रेलवे साइडिङमा झारेर भारतीय ट्रकबाट नेपाल भित्रिने गरेको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीले भारतीय गाडीले ६० टनसम्म मालसामान लिएर आउँदा नरोक्ने गरेको तर सुक्खा बन्दरगाह नाकाबाट ४० टनभन्दा माथि सामान बोक्ने नेपाली गाडीहरूलाई विभिन्न ठाउँमा रोकेर हैरान पार्ने र कारबाई पनि गर्ने गरेकोले नेपाली व्यवसायीहरू मारमा परिरहेको ढुवानी व्यवसायीहरूको भनाइ छ। अहिले वीरगंज कोरिडोरका जगदम्बा इन्टरप्राइजेज, नारायणी समूह, हिमाल आयरन, आरएमसी, हुलास स्टीललगायतका उद्योगहरूले कच्चा पदार्थ रक्सौल यार्डबाट पुरानो वीरगंज भन्सार नाकाबाट भारतीय गाडीमा ल्याइरहेका छन् भने ती उद्योगहरूले सुक्खा बन्दरगाहमा फलामजन्य कच्चा पदार्थको आयात परिमाण घटाउँदै लगेका छन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here