प्रस, परवानीपुर, १४ असार/
विगत लामो समयदेखि रक्सौल रेलवे साइडिङबाट धूलोजन्य कच्चा पदार्थ वीरगंज ओसारपसार गर्ने कार्यमा अवरोध हुने भएको छ ।
रक्सौल कस्टमका डिपुटी कमिश्नर पिङ्की कुमारीले मङ्गलवार सूचना जारी गर्दै रक्सौल रेलवे साइडिङबाट औद्योगिक धूलोजन्य कच्चा पदार्थ राति ९ देखि मध्याह्न १२ बजेसम्म एप्रोच सडक हुँदै आइसिपी बाइपास सडकबाट नेपाल लैजानुपर्ने निर्देशन दिएकी छन् ।
घुमाउरो बाटोबाट कच्चा पदार्थ ढुवानी गरेर नेपाल ल्याउँदा करोडौंको घाटा लाग्ने वीरगंजका उद्योगी–व्यवसायीहरूले बताएका छन् ।
आज वीरगंज उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलन गरी यो निर्देशनलाई सच्याउनुपर्ने माग गरेको छ । सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष अनिल पटवारी (अग्रवाल)ले यस्तो निर्देशनबाट नेपाल र भारतबीचको व्यापारमा असहजता उत्पन्न हुने बताए । उनले भारत सरकारले नेपालको व्यापार बन्द गर्न खोजेको आरोपसमेत लगाए ।
सङ्घका अर्का उपाध्यक्ष माधव राजपालले रक्सौल रेलवे साइडिङबाट आइसिपी बाइपास सडकबीचको दूरी आठ सय मिटर रहेको तर उक्त सडक एक लेनको भएकोले उक्त बाटोबाट कच्चा पदार्थ ढुवानी गर्न नमिल्ने स्पष्ट पारे । उनले उक्त रूटबाट मालसामान ढुवानी गर्न फोरलेन सडक निर्माण गर्नुपर्ने, एप्रोच सडक र आइसिपी बाइपासबीचमा निर्माणाधीन पुल निर्माण कार्य सम्पन्न नभएकोले उक्त रूट झन्झटिलो र व्यवहारमा लागू नहुने उनको भनाइ थियो ।
रक्सौलमा अहिले डस्टी कार्गो अन्तर्गत कोइला, फ्ल्याग, जिप्सम, आइरन ओट, आइरन बिलेट, नून, चिनीलगायतका सामानहरू खसालेर ट्रकबाट वीरगंजको पुरानो भन्सार हुँदै नेपाल भिœयाउने गरिन्छ ।
वर्षमा करीब तीन अर्ब मूल्यका सामानहरू रेलवे साइडिङबाट ढुवानी भएर नेपाल आउँछ । अहिले महीनामा तीसदेखि चालीस ¥याक सामान भित्रिरहेकामा आगामी दिनमा सामानको माग बढ्न सक्ने अपेक्षा छ । तर अहिले एउटा टिपरले दिनमा तीन टिप सामान ढुवानी गरेर नेपाल ल्याउँछ भने रक्सौल भन्सारले भनेको रूटबाट ल्याउँदा मुश्किलले एक टिप पनि गर्न सकिंदैन । जसले गर्दा नेपाली उद्योगी–व्यवसायीहरूलाई डेमरेज र डिटेन्शनको आर्थिक भार बढ्ने र मालासामान थन्किएर रेलहरूको सङ्ख्यामा पनि कटौती हुने चिन्ता छ ।
साँघुरो बाटोबाट डस्टी कार्गो ढुवानी गर्दा दुर्घटनाको जोखिम, जाम बढ्नेलगायतका समस्या रक्सौलमा सिर्जना हुन सक्ने व्यवसायीहरूले बताएका छन् । त्यसैले भारतीय सरोकारवाला निकायले सो निर्देशन संशोधन गर्नुपर्ने उद्योगीहरूको माग छ । रक्सौल रेलवे यार्डबाट प्रतिटिपर प्रतिटनको नौ सयदेखि १४ सय रुपैयाँमा वीरगंजसम्म ढुवानी हुन्छ भने आइसिपीको बाटोबाट ल्याउँदा प्रतिटन रु १ हजार बढी पर्ने व्यवसायीहरूले बताए ।
त्यसैगरी, एक ¥याक सामान ल्याउन रक्सौलसम्म रेलको भाडा भारु ५५ देखि ६० लाख पर्ने व्यवसायीहरूले बताए । भारत सरकारले यदि यसमा कुनै सुनवाइ गरेन भने आफूहरूले अर्को विकल्प खोजी गर्ने व्यवसायीहरूले बताएका छन् ।
नेपालका २५ वटा सिमेन्ट र फलाम उद्योग तथा वीरगंजका दशभन्दा बढी व्यवसायीको मालसामान रक्सौल रेलवे यार्डमा खसालेर नेपाल ढुवानी गरिन्छ ।