बङ्कुल खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

0

बलिराम शुक्ला, बिरुवागुठी, १४ असार/

सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको सिमानामा पर्ने बङ्कुल खोलामा पुल नबन्दा स्थानीयवासीहरूले सास्ती भोग्नुपरेको छ ।

पर्सा जिल्लाको उत्तरी भेगको जनता सडकमा पर्ने बङ्कुल खोला भएर ठोरी, रङ्गपुर, मनवा, बडनिहार, जीतपुर, सिमरा, हेटौंडासम्म आवतजावत गरिन्छ तर वर्षौंदेखि पुल निर्माण नहुँदा वर्षात्को समयमा आवतजावत नै बन्द हुने गरेको छ ।

पटेर्वासुगौली गापा–२ निवासी मदन साहका अनुसार पुल निर्माणको लागि स्थानीय तह र सङ्घीय सरकारको ध्यान नजाँदा वर्षौंदेखि सो भेगका स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । वर्षात्मा खोलामा आउने बाढीले सयौं बिघा खेतीयोग्य जमीनसमेत कटान हुने गरेको उनले बताए ।

अति व्यस्त जनता सडक अन्तर्गत पर्ने सो खोलामा पुल निर्माणको लागि प्रदेश र सङ्घीय सरकारले अहिलेसम्म योजना नबनाएको उनले बताए ।

पटेर्वासुगौली गापा–२ का अध्यक्ष विजय गैरेले पटक–पटक प्रदेश र सङ्घीय सरकारलाई पुल निर्माण गर्न ताकेता गरे तापनि ध्यान नदिएको बताए । पुल निर्माणमा ठूलो रकम खर्च हुने भएकोले पालिकाबाट गर्न नसकिने उनले बताए ।

पटेर्वासुगौली गापा र रङ्गपुर बजार समितिले खोलामा ह्युमपाइप राखी कामचलाउ आवतजावतको व्यवस्था मिलाए पनि एक साताअघि परेको वर्षाले ह्युमपाइप नै बगाएपछि सर्वसाधारणलाई आवागमनमा समस्या भएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here