डाइपोर्टबाट दालको कन्टेनरमा विदेशी चुरोट बरामद, आयातकर्तालाई दश करोड जरिवाना तिराउने

0

प्रस, परवानीपुर, १४ असार/

वीरगंजस्थित सुक्खा बन्दरगाहबाट भित्रिएको एउटा कन्टेनरबाट घोषणा नगरिएको प्रतिबन्धित वस्तु बरामद गरिएको छ ।

दुबईबाट कालिका इन्टरप्राइजेज, काठमाडौंले आयात गरेको मासको दालको कन्टेनरबाट करीब चार सय कार्टुन (५० लाख खिल्ली) विदेशी चुरोट बरामद भएको भन्सारका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी गराए ।

जेठ १३ गते दुबईबाट भारतसम्म जहाजमा र भारतबाट रेलमार्ग भई वीरगंजमा आइपुगेको सो कन्टेनरबाट एक हजार ७७४ बोरा मासको दाल पनि बरामद भएको छ ।

भन्सार कर्मचारीले कन्टेनर खोल्दा कन्टेनरको अगाडि दालको बोरा छल्ली लगाएर राखिएको थियो भने त्यसपछि चुरोटको कार्टुन रहेको थियो । भन्सार कार्यालयले मुचुल्का उठाएर उक्त कन्टेनरलाई सिल गरेको छ । आयातकर्तालाई पत्राचार गरेको छ तर आयातकर्ता सम्पर्कविहीन छन् । भन्सार ऐनविपरीत आयात गरिएकोले करीब १० करोड रुपैयाँ जति जरिवाना तिराउने भन्सार कार्यालयको तयारी गरिरहेको बुझिएको छ ।

डाइपोर्टमा यस्तो घटना पहिलोपटक भएको बताइन्छ ।

सन् २००४ देखि श्रीसिया सुक्खा बन्दरगाह सञ्चालन भएपछि सरकारले मालसामान एक्स–रे गर्ने मेशिन ल्याए तापनि सो एक्स–रे मेशिन लामो समयदेखि थन्किएको छ ।

अन्य सामानसँगै चुरोट बरामद भएपछि अहिले सबै कन्टेनरलाई सूक्ष्म ढङ्गले चेकजाँच
गरिंदैछ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here