वार्ताबाट युक्रेन युद्ध टुङ्गयाउन प्रधानमन्त्री मोदीको सुझाव

0

म्युनिख, १४ असार/एएनआई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी–सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खोज्न जोड दिएका छन् ।

प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्न जोड दिएका छन्, भारतका विदेश सचिव विनयमोहन क्वात्राले बताए ।

युद्धले पूर्वी युरोपका साथै अन्य स्थानमा खाद्य सङ्कट परेको चर्चा गर्दै शान्ति प्रवद्र्धन एवं द्वन्द्व अन्त्य हुनुपर्ने प्रधानमन्त्री मोदीले जी सेभेन नेताहरूलाई बताएका उनले संवाददाताहरूलाई जानकारी दिए । त्यस अघि प्रधानमन्त्री मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै युक्रेन र रूसका राष्ट्रपतिबीच प्रत्यक्ष वार्ताले जारी द्वन्द्व समाधान तथा शान्ति प्रयासमा ठूलो सहयोग पुग्ने सुझाव दिएका थिए । उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि वार्ता गर्दै द्वन्द्वबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका थिए ।

युक्रेन–युद्ध पाँचौ महीनामा प्रवेश गरेको छ । दुर्ई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । सोमवार किभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ ।

एक हजारभन्दा बढी मानिस किनमेल गरिरहेको गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका छन् । रासस

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here