साढे सात करोडको हरियो केराउ एक वर्षदेखि थन्कियो

0

प्रस, परवानीपुर, १३ असार/

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गत एक वर्षदेखि करीब साढे सात करोड मूल्य बराबरको ३३ कन्टेनर हरियो केराउ थन्किएको छ।

कागजात नपुग्दा आयातकर्ताले ती सामग्री छुटाएर नलगेको भन्सार अधिकारीहरूले बताएका छन्। काठमाडौं महानगरपालिका–१४ कुलेश्वरको अरिहन्त टे«डर्स सप्लायर्सले उक्त केराउ आयात गरेको बुझिएको छ। २०७७ चैत ३१ गतेको पत्र अनुसार वाणिज्य मन्त्रालयले उक्त आयातकर्तालाई दुई हजार टन केराउ, दुई सय टन छोहोडा र पाँच सय टन नधुलाएको मरीच आयात गर्ने अनुमति दिएको थियो। समयमा क्यानडाबाट हिंडेको मालसामान विशाखापट्टनम हुँदै रेलमार्गबाट वीरगंज आउन ढिलाइ हुँदा मालसामान छुटाउन समस्या भएको हो। वाणिज्य मन्त्रालयको उक्त पत्रमा आव २०७७/७८ अर्थात् २०७८ असार मसान्तभित्र जाँचपास गराइसक्नुपर्ने व्यवस्था थियो तर कोरोना महामारीको कारण शिपमेन्टमा ढिलाइ हुँदा उक्त सामान आव २०७८/७९ मा वीरगंजको ड्राइपोर्ट भन्सारमा पुगेको थियो।

त्यति बेला आयातकर्ताले सामान छुटाउने प्रयास नगर्दा मालसामान अड्केको हो। पाँचवटा कन्साइन्मेन्टमा गरी करीब ३३ कन्टेनर केराउ भन्सारमा अड्केको हो। एउटा कन्टेनरमा २२ लाख ५१ हजार ४०० मूल्य बराबरको केराउ रहेको बुझिएको छ। केराउमा नेपाल सरकारले १० प्रतिशत भन्सार महसूल मात्र लिने व्यवस्था गरेको छ।

३३ कन्टेनरको हिसाब निकाल्ने हो भने सात करोड ४२ लाख ९६ हजार २०० मूल्य बराबरको केराउ अड्केको हो। आयातकर्ताले पटक–पटक जाँचपासको लागि प्रयास गर्दा प्लान्ट क्वारेन्टाइनले वाणिज्य विभागबाट चालू आवमा जाँचपास गराउनुपर्ने पत्र ल्याए मात्र ती सामानको परीक्षण गरेर जाँचपास हुन सक्ने आश्वासन दिएको छ।

प्लान्ट क्वारेन्टाइन ड्राइपोर्ट शाखाका प्राविधिक सहायक रामनरेश साहका अनुसार विगत लामो समयदेखि थन्किएको खाद्य पदार्थ सद्दे छ कि कुहिएको छ, प्लान्ट र खाद्य क्वारेन्टाइनले चेक गर्छ। उपभोग योग्य छ भने मात्र लैजान पाइन्छ नत्र नियमानुसार नष्ट गर्नुपर्ने बताइएको छ।

बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले यसबारे आफूलाई जानकारी नभएको र चाँडै आयातकर्तालाई बोलाएर आवश्यक कारबाईको लागि पहल थाल्ने बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here