विकास निर्माणमा अनियमितता भएपछि विरोध

0

प्रस, वीरगंज, १३ असार/

मधेस प्रदेश सरकारले वीरगंज महानगरपालिका–१० बजरङ्गटोलमा सडक बनाउन पठाएको बजेटमा अनियमितता भएको भन्दै स्थानीयवासीले विरोध गरेका छन्।

प्रदेश सरकारको खानेपानीमन्त्री ओमप्रकाश शर्माको संसदीय क्षेत्र अन्तर्गतको सो ठाउँमा १० फिट चौडा र ३४१ मिटर लामो सडक ढलान तथा नाला निर्माणको लागि रु २४ लाख बजेट पठाइएको थियो। उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको सो सडकको चौडाइ सातदेखि आठ फिट मात्र भएको स्थानीय अजय गुप्ताले बताए। गुप्ताका अनुसार नक्कली उपभोक्ता समिति बनाएर योजनाविपरीत काम भइरहेकोले स्थानीयहरूले विरोध गरेका हुन्।

निर्माणकै क्रममा रहेको सो सडक अहिले नै भत्किन थालेको जो कोहीले पनि देख्न सक्छन्। बनेको नालाको पानीको निकास कहाँ हुने टुङ्गो छैन। सरोकारवाला कार्यालय भौतिक पूर्वाधार विकास कार्यालय, वीरगंजका कर्मचारीले गुणस्तरीय काम गर्न पटक–पटक भने तापनि उपभोक्ता समिति सम्पर्कमा आएको छैन।

यस विषयमा कार्यालय प्रमुख सञ्जय साहले विवादपछि घटना थाहा पाएको र निर्माणस्थलमा पुगी समस्याको समाधान गरिसकेको बताए। स्थानीयहरूले गरेको विरोध जायज हो, तर सबै काममा विरोध गर्नु ठीक नभएको साहको भनाइ थियो। उपभोक्ता समितिका प्रतिनिधि मनोज गुप्ताले स्थानीयहरूले काम गर्न नदिएको बताए। दिनभरि लगाएर निर्माण गरिएको संरचना राति स्थानीयहरूले भत्काउने गरेको बताउँदै उनले स्थानीयले ढलान मेशिन पनि बिगारेको आरोप लगाए।

स्थानीयवासीका अनुसार सो निर्माण कार्यमा राजनीतिक हस्तक्षेप बढेपछि विवाद शुरू भएको हो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here