राधेश्याम पटेल, वीरगंज, १३ असार/

पछिल्लो समय वीरगंजवासीको जीवनशैली फेरिंदै गएको छ। युवाहरू जहाँ सुडौल शरीर बनाउन सक्रिय छन् वयस्कहरू रोगबाट बच्न एवं स्वस्थ रहन जीम धाउन थालेका छन्।

दैनन्दिनकको तनावपूर्ण जीवनबाट शरीर तथा मन–मष्तिस्कलाई स्वस्थ राख्न दुवै समूहका व्यक्तिहरू जीम (जिम्नेसियम) जाने क्रम बढेको छ। त्यसैको उपज हो वीरगंजमा धमाधम जीम खुल्न थालेका छन्। सन् २०१६ पहिले वीरगंजको मुख्य बजार मानिने माईस्थानमा ससाना जीम तथा जुम्मा नृत्य सञ्चालन हुन्थ्यो भने अहिले लिंकरोड,लोहारपट्टि रोड, जेलरोड, माईस्थान, गहवा, नेशनल मेडिकल कलेज क्षेत्रमा धमाधम जीम खुल्न थालेको वीरगंजका शारीरिक सुसङ्गठनका खेलाडी करण यादव बताउँछन्।

मिस्टर वीरगंज–२०१६ समेत रहेका यादवले हालसम्म वीरगंजमा करीब डेढ दर्जनभन्दा बढी जीम खुलिसकेको र केही खुल्ने क्रममा रहेको बताए। २०१६ अघि वीरगंजमा स्वीमिङ पुल हेल्थ क्लब, वीरगंज फिटनेश क्लब थियो। २०१७ मा करीब २५ लाख खर्च गरेर उनले गहवामा आफ्नै पब्लिक फिटनेश सेन्टर सञ्चालनमा ल्याए। त्यसपछि वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास नजीकै वीरगंजकै खेलाडी आलोक मिश्रले करीब ४० लाखको लगानीमा आधुनिक जीम सञ्चालनमा ल्याए। नेशनल मेडिकल कलेज नजीकै अल्ताफ खानको ४५ लाखको लगानीमा मसल बैंक, लोहारपट्टिरोडमा रूँगटा समूहको आरबि कम्पलेक्समा करीब ७० लाखको लगानीमा फिटलाइन जीम सञ्चालनमा छ। त्यसैगरी रेल्वे रोडमा नेपाली काङ्ग्रेसका नेता दिना गुप्ताले आफ्नै घरमा करीब ४५ लाखको लागतमा जीम सञ्चालन गरिरहेका छन्। दुई महीना अघि वीरगंज, लिंकरोडमा वीरगंजका खेलाडी अरमान अन्सारीले ५० लाखको लागतमा जीम शुरू गरिसकेका छन्।

वीरगंजका उपमेयर इम्तियाज आलमका भाइ फिरोज आलमले समेत छपकैयामा करीब ८ लाखको लगानीमा जीम चलाइरहेका छन्। वीरगंज नजीक बाराको परवानीपुरमा पनि करीब ८ लाखको लागतमा ग्लेक्सी फिटनेश सेन्टर सञ्चालनमा छ। बाराको जीतपुरमा एक, सिमरामा एक, कलैयामा दुई गरी वीरगंज करिडरको बारा–पर्सामा करीब डेढ दर्जन जीम सञ्चालनमा रहेको खेलाडीहरू बताउँछन्।

“आजको किशोरकिशोरीहरूलाई सुन्दर र स्लिम देखिनु छ, स्कूले तथा कलेज पढिरहेका युवाहरूको आकर्षण जीमप्रति ह्वात्तै बढेको छ”–आलोक फिटनेस क्लकका सञ्चालक आलोक मिश्र भन्छन्–“अर्को पुस्तामा २५ देखि ५० वर्षका व्यस्कहरू पनि जीमप्रति आकर्षित भएका छन्, सबै निरोग र स्वस्थ रहन चाहन्छन्।”

जीम व्यवसाय फस्टाउँदै गएपछि वीरगंजको कर्पोरेट घरानासमेत सुविधा सम्पन्न मल तथा कम्पलेक्समा जीम क्लबको अवधारणामा भौतिक संरचना तयार गर्न लगानी थपिरहेका छन्। एउटा जीममा ६० जना पुरुष र २० जना महिला खेलाडी संलग्न हुने गरेका जिम क्लब सञ्चालकहरूको भनाइ छ।

लगानी थपियFे, खेलाडी उत्पादनमा ध्यान गएन

वीरगंजमा पछिल्लो समय जीम क्लब धमाधम खुल्न थाले तापनि जीम प्रतियोगिता गरी खेलाडी उत्पादनमा यहाँका सरोकारवालाको ध्यान नगएको खेलाडीहरूको गुनासो छ। पब्लिक फिटनेस सेन्टरका सञ्चालक करण यादव विगत ६ वर्षदेखि वीरगंजमा शारीरिक सुगठन प्रतियोगिता नभएको बताउँछन्। “यहाँ सबै जीमका क्रेजी छन्, तर खेलप्रति सरकारी निकाय, निजी क्षेत्र, नेता एवं खेलाडीसमेत उदासीन छन्। म ६ वर्षदेखि मिस्टर वीरगंजको उपाधि लिएर बसेको छु, स्थानीयस्तरमा एउटा प्रतियोगिता गर्न सकेका छैनौं, न बडी बिल्डिङ एसोसिएशन नै गठन गर्न सकेका छौं, सबै पैसा कमाउन केन्द्रित छन्।” जीम सञ्चालकहरूले २०१४ देखि खेलाडीसँग एक हजार एडमिशन तथा एक हजार मासिक लिइरहेका छन्, तर खेलाडी उत्पादनतर्फ एक हुन नसकेको उनले दुःखेसो पोखे। सिकारूहरू एक जीमबाट अर्को जीम फेर्ने ट्रेन्ड बस्दा पनि वीरगंजमा राष्ट्रियस्तरको खेलाडी कम तथा फेशनको लागि मात्र जीम गर्ने चलन बढ्दै गएको उनको भनाइ छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here