सहअस्तित्वको अपरिहार्यता

0

 – राजेन्द्रप्रसाद कोइराला

जीवन सहअस्तित्व र मूल्यमा आधारित छ। त्यो नै जीवनको अद्भूत र अनौठो रहस्य हो । तुलना जीवनको अभिन्न अङ्ग हो। तर तुलना कसैसँग नगर्ने हो भने संसारका सबै मानिस उत्तिकै राम्रा र पूर्ण छन्् । तुलनाहीन कर्मविना पनि सुख, सन्तुष्टि र प्राप्ति सम्भव छ। सुख दुःख भन्ने कुरा अनुभूति मात्र हुन्, जो एकअर्कासँग तुलनाबेगर पनि सम्भव छ । तर त्यसलाई मानिसले आत्मसात् गर्न सकेको छैन। पीडा र आनन्द, खुशी र निराशा, तल र माथि, चीसो र तातो, यता र त्यता, उज्यालो र अँध्यारो, मिलन र विछोड, जन्म र मृत्यु यस्ता हजारौं क्षण सहअस्तित्वमा आधारित छन््।

अरूको अस्तित्व निषेध गरेर आफ्नो अस्तित्व सम्भव छैन। यो संसारमा सबै आफ्नो लागि आफैं ठूला छन्, हरेक मान्छे, हरेक पदार्थ, हरेक जीव–जीवात्मा र सृष्टिका प्रत्येक वस्तु आवश्यक र औचित्यपूर्ण छन्। हामीले त्यसको अस्तित्व स्वीकार गर्न मात्र नसकेका हौं । कसलाई ठूलो र महत्वपूर्ण ठान्ने भन्ने कुरा परिवेश, प्रयोग र सोचमा भर पर्दछ। यसै सन्दर्भमा एउटा प्रसङ्ग यस्तो छ।

शरद ऋतुको सुन्दर मौसममा जङ्गलमा विभिन्न रङ्ग र आकार फूल फुलेका थिए। फूलहरूको राजा गुलाबलाई उसको नजीकैको नरिवलको रूखले भन्यो–“आहा कति राम्रो र सुन्दर फूल ?” आहा ! म पनि त्यस्तै हुन पाए कस्तो हुनथ्यो होला। तर आफू त…” त्यस्तैमा अर्को वृक्षले भन्यो–“किन निराश हुन्छौ, यो संसारमा कोही पनि पूर्णतामा बाँचेको छैन। त्यसैले हामी जस्तो छौं त्यसैमा गर्व गर्न सिक्नुपर्दछ। यो कुरा सुनिरहेको गुलाबले आफू सबभन्दा राम्रो भएकोमा गर्व गर्दै भन्यो–“साँच्चै नै यो जङ्गलमा सबभन्दा राम्रो म नै हुँ। म जस्तो सुन्दर अरू छैन।”

त्यसैबीच सूर्यमुखी फूलले आफ्नो पहेंलो टाउको उठाउँदै भन्यो–“तिमी किन आफ्नो रूपको घमण्ड गर्छौ, यो विशाल जङ्गलमा तिमीजस्ता हजारौं वृक्ष र फूलहरू छन््। तिमी तिनैमध्ये एक हौ। तर रातो गुलाबले घमण्डका साथ भन्यो– “हेर सबैले मलाई नै हेरेर मेरो सुन्दरतामा मग्न हुन्छन्, मलाई त फूलहरूको राजा नै मान्दछन्।” उसले नजीकै सिउँडीलाई देखाउँदै भन्यो–“हेर त त्यो सिउँडी कति रूखो, काँडा नै काँडा भएको उजाड र कुरूप छ।” त्यसैबीच नरिवलको बोटले गुलाबलाई भन्यो–“हेर गुलाब, तिमी केलाई सुन्दर मान्छौ, बाहिरी आवरणलाई वा भित्री गुणलाई। काँडा हुनु नै नराम्रो हो भने तिमीमा पनि काँडा छन्् नि।”

यो कुरा सुनेर गुलाब नरिवलको बोटसँग झोक्कियो र भन्यो–“तिमीलाई सुन्दरताको रहस्य र अर्थ नै थाहा रहेन छ। तिमीले मेरा काँडा र सिउँडीको काँडालाई कसरी तुलना गर्न सक्यौ ?”

नरिवलको बोटले मनमनै सोच्यो, कस्तो घमण्डी रहेछ। फूल त कोमल, सुन्दर र सुकुमार हुन्छ भन्थे तर यो त…।

गुलाबले आफू सिउँडी नजीकै नबस्ने निर्णय ग¥यो र आफ्ना जरा निकालेर हिंड्न खोज्यो तर सकेन। ऊ त्यहीं बस्यो तर उसले आफ्नो छिमेकी सिउँडीलाई हेप्न र होच्याउन भने छोडेन। उसले भन्थ्यो–“यो सिउँडीको कुनै काम छैन, यस्ता जर्जर र कुरूपको छिमेकी हुनु परेकोमा म ज्यादै दुःखी छु।”

गुलाबले जति हेप्दा पनि सिउँडीले कहिल्यै गुनासो गरेन बरू सम्झाउँदै भन्यो– “हेर सृष्टिका सबै वनस्पति, जीव, जीवात्मा र प्राणीहरू कुनै न कुनै प्रयोजन र उद्देश्यका लागि यो संसारमा आएका हुन्छन्। सबै एक अर्कामा निर्भर हुन्छन् ।”

प्रकृति सदा एकनास रहँदैन। ऋतुहरू फेरिन्छन्। शरद बित्यो। हिउँदका अप्ठ्यारा र सुख्खा दिन आए। जीवन कठिन बन्न पुग्यो। वर्षा भएन। खडेरीले झन् जीवन अस्तव्यस्त भयो। बालीनाली सबै सुकेर मरे। पानीको अभावमा रातो गुलाब पनि ओइलाउन थाल्यो। एक दिन रातो गुलाबले एक हुल भँगेराहरूलाई देख्यो। भँगेराहरू सिउँडीमा आ–आफ्नो चुच्चोले कोपिरहेका छन्। भँगेराहरू केही चीज लिएर खुशी हुँदै उडिरहेका छन्। यो देखेर रातो गुलाबले आश्चर्य मान्दै नरिवलको बोटलाई सोध्यो–“यी चराहरूले के गरेका हुन् ?”

नरिवलको बोटले भन्यो–“चराहरूले सिउँडीबाट शीतल पानी निकालेका हुन् ।”

ए त्यसरी चुच्चोले छियाछिया पार्दा सिउँडीलाई पीडा हुँदैन ?

हो, सिउँडीलाई पक्कै पीडा हुन्छ तर सिउँडी भित्रीरूपमा यति परोपकारी छ कि ऊ अरूको खुशीका लागि आफ्नो सारा पीडा बिर्सन सक्छ।

रातो गुलाबले अचम्मित हुँदै भन्यो–“ओहो ! सिउँडीमा त्यति धेरै पानी छ ?

हो, यदि तिमी पनि चाहन्छौ भने निष्फिक्री पिउन सक्छौ। हेर, तिमी पानीको अभावमा ओइलाइसकेका छौ। बरू मौकाको फाइदा उठाऊ र आफूलाई पुनर्जीवित गर” नरिवलको रूखले भन्यो ।

रातो गुलाब आफूले विगतमा सिउँडीलाई होच्चाएकोमा लज्जित भयो । उसलाई ठूलो पश्चात्ताप भयो। र ऊ सिउँडीसमक्ष नतमस्तक हुँदै पानीको लागि सहयोग माग्यो। बाहिरीरूपमा कुरूप सिउँडीको मन विशाल थियो। उसले चराहरूलाई बोलायो र चुच्चोले पानी निकालेर गुलाबको जरामा हाल्न भन्यो । उनीहरूले त्यसै गरे। ओइलाएको गुलाबले नयाँ जीवन पायो। ऊ फेरि ढकमक्क फुल्यो। त्यस दिनदेखि उसले बुझ्यो कि कसैले कसैलाई पनि बाहिरी आवरण र रूपका आधारमा मूल्याङ्कन गर्नुहँुदैन।

त्यस्तै एकपटक एउटा घरको आँगनमा फुलिरहेका फूलहरूमध्ये गुलाब र सयपत्रीबीच को राम्रो भन्ने कुरामा विवाद परेछ। गुलाबले सयपत्रीलाई भनेछ–“हेर त म फूलहरूमा सबैभन्दा सुन्दर र विशिष्ट हुँ। मलाई सबैले फूलहरूको राजा मान्दछन्। मेरो सुन्दरताको अगाडि तिमीहरू तुच्छ छौ। तिमीहरूको रङ्ग पनि त्यति मनमोहक छैन। फेरि तिमीलाई सबैले सजिलै प्रयोग पनि गर्दछन्। तिमीहरूको बिरूवा पनि अति कमजोर हुन्छ। एउटा ऋतुमा मात्र फुल्छौ। म त वर्षौं बाँच्दछु।” फेरि सयपत्रीले भन्यो–“हेर धेरै घमण्ड नगर । हामी सबै मन्दिर पुग्दछौ। दशैं–तिहारमा सबैका घरघरमा पुग्छौं। घर सजाउँछौं । सबको गलामा माला बनेर अरूको खुशी र उत्सवमा सहभागी हुन्छौं।”

दुवै आफ्नो प्रशंसा गरिरहेका थिए । आँगनको डिलमा भएको तुलसीको बोट भने आफू उनीहरूजस्तो सुन्दर हुन नपाएकोमा हीनताबोध गर्दै थियो। यसैबीच गुलाब र सयपत्रीले तुलसीलाई होच्याएर भने–“हेर त त्यो तुलसी त झन् न रङ्गीन छ, न बास्नादार नै। फुङ्ग उडेको, कान्तिविहीन र कुरूप बिरूवा किन हाम्रो नजीक रोप्नुपरेको होला ?”

उनीहरूले तुलसीलाई धेरै अवहेलना र अपमान गरे। यसैबीच एकजना पुजारी त्यहाँ आइपुगे। सयपत्री टिपे, गुलाब टिपे र तुलसीको मठलाई पूजा गरे। ती दुवै फूल तुलसीलाई चढाए। तुलसीको मठलाई ढोगे र सरासर आफ्नो बाटो लागे। अब को राम्रो भन्ने ? कसलाई सुन्दर र महŒवपूर्ण अनि आवश्यक र अनावश्यक मान्ने ? आखिर सबैको औचित्य र आवश्यकता त रहेछ नि १ परिवेश र सन्दर्भ अनुरूप सबै आफ्नो ठाउँमा महŒवपूर्ण छन्। त्यसैले सबैको अस्तित्व स्वीकार्नु र सोही अनुरूप व्यवहार गर्नु श्रेयष्कर हुन्छ। फेरि भौतिक सुन्दरताका आधारमा मात्र मूल्याङ्कन गर्नु भन्दा आन्तरिक शक्ति र सुन्दरताको आधारमा सबैले सबैलाई आदर र सम्मान गरौं।

त्यस्तै, हामीहरू प्रायः देख्दछौं कि आफ्ना सन्ततिलाई असल शिक्षा दिने नाममा गलत शिक्षा दिइरहेका हुन्छौं। हामी आप्ना छोराछोरीलाई आफ्ना छिमेकीका छोराछोरी देखाएर बाबुनानी तिमीहरू ती छिमेकीभन्दा राम्रो हुनुपर्दछ भनेर तुलना गरिरहेका हुन्छौं र उनीहरूमा एउटा अस्वस्थ प्रतिस्पर्धाको बीजारोपण गरिरहेका हुन्छौं। बरू हामीले कसैको तुलना नगरेर असल र सफल हुनुपर्दछ भन्ने सन्देश दिन सकेमा कति राम्रो हुने थियो ? साथै आफ्ना छिमेकी पनि असल र राम्रा होऊन् भन्ने शुभकामना दिन सके आफ्नै सन्तानमा सुसंस्कारले जरो हाल्ने थियो। आखिर हाम्रा केटाकेटीले धूलो खेल्ने, भाँडाकुँडी खेल्ने, राम्रा नराम्रा कुरा सिक्ने त आफ्ना साथीहरूबाट नै हो। त्यसैले राम्रा–नराम्रा दुवै कुरा दृष्टिकोण मात्र हुन् जुन आवश्यक पनि छ। एउटाविना अर्कोको अर्थ र मूल्य छैन। त्यसमा गुनासो गर्नुभन्दा जीवनको शाश्वत सत्य अङ्गीकार गरेर अगाडि बढ्नु नै श्रेयष्कर हुन्छ।

जीवन निरन्तर परिवर्तन भएर अगाडि बढ्छ। जीवनको प्रवाह एकनास र परिवेश एकै खालको नहुने रहेछ। परिवेश र परिवर्तनको बल अनौठो र नकार्न नसकिने खालको पनि हुँदोरहेछ। जीवनमा यही नै सार्वकालिक र धु्रव सत्य हो भनेर यकीन गर्न पनि साह्रै गाह्रो रहेछ। पोहोर सत्य लागेको आज असत्य, हिजो असत्य लागेको आज सत्य, बिहान ठीक लागेको बेलुका बेठीक पनि हुन सक्दोरहेछ। यो सत्य र असत्य भन्ने कुरा परिवेशमा निहित हुने रहेछ। हामी हरेक क्षण नयाँ परीक्षणमा लागिरहेका हुन्छौं। तर परीक्षणमा एकपटक सफल नहुनेबित्तिकै निराश भएर आफ्ना नियमित कर्मबाट हात झिक्दारहेछौं। आफ्ना सबै सम्भावनाका ढोका खोलेर पटकपटक प्रयास गर्ने धैर्यताले नै अपेक्षित परिणाममा पु¥याउँछ भन्ने कुरा बिर्सन्छौं ।

संसारमा त्यस्ता कैयौं महान् व्यक्तित्वहरू छन् जो एकपटक मात्र होइन कैयौं पटक असफलता भएर पनि निराश भएनन् बरू जीवनको निर्दिष्ट उद्देश्यका लागि अविचलितरूपमा लागिरहे। जबसम्म अपेक्षित प्राप्ति हुँदैन तबसम्म मैदान छाडेनन्। आफूलाई निरन्तर प्रयोग र प्रयासको कसीमा ढालिरहे। अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले जीवनमा धेरै दुःख झेले–गरिबी, अभाव र असफलता भोगे तर यसलाई जीवनको स्वाभाविक गति सम्झे। आफ्नो लक्ष्यप्रति दृढ र अठोटलाई कत्ति डगमगाउन दिएनन् र आफ्नो अविच्छिन्न यात्रामा एकाग्र दृष्टिकोण राख्दै कर्मलाई निरन्तरता दिए। आफ्नो सपना र जीवनका लक्ष्य निर्धारण गरिएको छ र त्यसमा इमानदारीपूर्वक लाग्दा गन्तव्य कठिन हुँदोरहेन छ भन्ने कुरा उनले सारा जगत्लाई सिकाए।

छपटक चुनावी असफलता भोगेका उनले सन् १८६१ को अमेरिकी कङ्ग्रेसको निर्वाचनमा फेरि उम्मेदवारी दिए। एकातिर निर्वाचनको रौनक बढ्दै थियो भने अर्कोतिर धर्मगुरूहरूले गाउँगाउँमा नैतिकता र पेशागत मर्यादाबारे प्रवचन दिइरहेका थिए। त्यस्तैमा उनी एउटा प्रवचनमा भाग लिन पुगे।

प्रवचनकै क्रममा धर्मगुरूले सबै श्रोताहरूलाई प्रश्न गरे–ल भन्नुहोस् त तपाईंहरूमध्ये कतिजना सुकर्म गरेर स्वर्ग जान चाहनुहुन्छ ?

हजारौं दर्शकमध्ये बहुसङ्ख्यकले हात उठाए।

गुरूले फेरि सोधे–“तपाईंहरूमध्ये कुकर्म गरेर नर्क जान चाहने कतिजना हुन ?

यसपल्ट पनि केहीले हात उठाए। तर अब्राहमले न स्वर्ग जानका लागि हात उठाए, न नर्क जानका लागि।

दुवैपटक हात नउठाएको देखेपछि गुरूलाई अनौठो लाग्यो। अनि उनले अब्राहमलाई प्रश्न गरे–“तिमी स्वर्ग पनि जान चाहन्नौ, नर्क पनि जान चाहन्नौ, आखिर तिमी कहाँ जान चाहन्छौ ?

अब्राहमले तुरून्तै जवाफ दिए–“गुरू यसपटक म अमेरिकन कङ्ग्रेसमा जान चाहन्छु र सुकर्मले राष्ट्रलाई स्वर्गतुल्य बनाउन चाहन्छु। नभन्दै त्यस वर्षको निर्वाचनमा उनी सफल भए। अमेरिकाको सामाजिक र आर्थिक विकासमा कायापलट भयो। आज विश्वका सबै मानिसका लागि अमेरिकाको बसाइँ र यात्रा जीवनको लक्ष्य बनेको छ। हेरौं त उनको दृष्टिकोण र विचार। विचारप्रति एकाग्र भएर नै गन्तव्यमा पुग्न सकिने रहेछ।

देशलाई स्वर्ग वा नर्क बनाउने हात त त्यहाँका नेता र जनतामैं छ। त्यस्तै जीवनलाई कस्तो बनाउने भन्ने कुरा पनि स्वयंमा निर्भर गर्दछ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here