५–११ वर्षका बालबालिकालाई फाइजर खोप लगाइँदै

0

प्रस, वीरगंज, ८ असार/

कोरोनाविरुद्ध अमेरिकी फाइजर खोप असार ९ देखि १५ गतेसम्म लगाइने भएको छ । नेपालमा २७ वटा जिल्लामा एकैसाथ पहिलो चरणमा यो खोप लगाइने तयारी भएको छ ।

२७ जिल्लामध्ये पर्सा जिल्लामा पनि खोप लगाउने सम्पूर्ण तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ । स्वास्थ्य कार्यालय, पर्साका प्रमुख नवलकिशोर साहका अनुसार पर्सा जिल्लामा एक लाख दुई हजार ७५ जना बालबालिकालाई एक हप्ते अभियान अन्तर्गत खोप लगाउने कार्यक्रम जारी रहने बताए ।

खोप लगाउन पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका ४०७ जना स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने कार्यक्रम सम्पन्न भइसकेको र बिहीवारदेखि सम्बन्धित स्वास्थ्यकर्मीहरूले आआफ्नो सेवा क्षेत्रमा खोप लगाउने खोप अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

पर्सामा दुईवटा सरकारी अस्पताल, तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा १०७ वटा स्वास्थ्य चौकी र आधारभूत केन्द्र गरी कुल ११२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । स्वास्थ्य संस्थाहरूको सेवा क्षेत्रमा पर्ने वडाका विद्यालयहरूमा पाँचदेखि एघार वर्षका बालबालिकालाई आलोपालो गरी एक साताभित्र खोप लगाउने कार्यक्रम सम्पन्न गरिने उनले जानकारी दिए ।

खोप कार्यक्रमको तयारीको क्रममा हिजो मङ्गलवारदेखि दुई दिने स्वास्थ्यकर्मीहरूलाई फाइजर खोपबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरी प्रशिक्षण दिइएको छ । नारायणी अस्पतालका फिजिशियन डा उदयनारायण सिंह र स्वास्थ्य कार्यालय, पर्साका कोल्ड चेन अधिकृत मोहनलाल साहले प्रशिक्षण दिएका थिए ।

यो खोप घोलेर लगाइने भएकोले स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिइएको हो । बालबालिकालाई ०.२ एमएल कोरोनाविरुद्ध फाइजर खोप मांसपेशीमा लगाइनेछ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here