चारजनामा हैजाको पुष्टि : सतर्कता अपनाउन आग्रह

0

काठमाडौं, ८ असार/रासस

काठमाडौंका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा पुष्टि भएको  जानकारी दिए ।

उनका अनुसार बागबजारमा दुर्ई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ । उनले भने, “फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्छ । काठमाडौं हैजाको जोखिममा रहेको देखियो ।”

विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ । उनले हैजा पुष्टि भएका ठाउँमा थप खोजी र लक्षण भएका हैजाका बिरामी खोजिरहेको बताए । बागबजारका दुर्ईजना १८ र २३ वर्षीया युवतीमा यही असार ५ गते र भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा मङ्गलवार देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले हैजा देखिएका ती व्यक्तिमा के कारणले हैजा भएको भन्ने पत्ता लगाउनका लागि जनस्वास्थ्य अधिकृत रामकृष्ण फुयाँलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । महामारी रोकथाम तथा नियन्त्रण फोकल पर्सनसमेत रहेका फुयाँलले फोहोरको प्रकोप बढेर खानेपानी प्रदूषित भएर हैजा रोग देखिएको बताए । उनले बागबजारको पानीको तीनवटा नमूना सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए ।

उनका अनुसार एउटा धारा, हैजा भएका व्यक्तिले प्रयोग गरेको जार र ट्युवेलको पानीको नमूना परीक्षण गरिएको छ । उनले पानीको कारणले हैजा भएको आफूले शङ्का गरे पनि  परीक्षणको रिपोर्ट नआईकन केही भन्न नसकिने बताए । “हैजा देखिएको ठाउँमा गएर हैजा देखिएका व्यक्तिले के के खाएका हुन् भनेर हामीले परीक्षण गर्ने काम गरिरहेका छौं,” स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले भने, “हामीले घरवरपरका छिमेकीसँग पनि के कस्ता खानेपानी र खानेकुरा खाएका छन् भनेर अध्ययन गरिरहेका छौं ।”

उनले बागबजारका दुर्ईजना युवतीले जार र धाराको पानी नउमालेर खाने गरेको पाइएको बताए । असार २ गते चटपटे खाएपछि ती युवतीलाई बान्ता हुर्नका साथै पखाला लागेको थियो ।

प्रमुख अधिकारीले ती युवतीले काम गर्ने ठाउँ डिल्लीबजार गएर खानेपानी र खानेकुराको परीक्षण भइरहेको बताए । स्वास्थ्य कार्यालय, काठमाडौंले चारजनामा हैजा देखिएपछि सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुद्ध खानेपानी खान, प्रदूषित खानेकुरा तथा झिङ्गा भन्केका खानेकुरा नखान आग्रह गर्दै माइकिङसमेत शुरू गरेको उनले जानकारी दिए ।

यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरू पनि खानेपानीलाई शुद्धीकरण गरेर मात्र खान आग्रह गर्दै टोलटोलमा खटेका छन् । कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिडेट, खानेपानी बोक्ने ट्याङ्कर व्यवसायी र जार व्यवसायीसँग पनि खानेपानी शुद्धीकरण गरेर मात्र वितरण गर्न भनेको छ ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजीकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुलारूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्यरूपमा साबुनपानीले हात धुन अनुरोध गरेको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here