विद्यालयमा पाठ्यपुस्तकको अभाव र व्यवस्थापन

0
  • सञ्जय साह मित्र

सरकारले हरेक वर्ष विद्यालयमा विद्यार्थीको लागि पाठ्यपुस्तकको रकम उपलब्ध गराउँछ । भन्नुको अर्थ यो हो कि हरेक वर्ष सरकारले सबै बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउँछ । सरकारले उपलब्ध गराउने हरेक पाठ्यपुस्तक हरेक बालबालिकाका लागि नयाँ नै हुन्छ । यसरी सरकारले नयाँ पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउने नीति लिएको छ ।

बालबालिकाले सोझै पाठ्यपुस्तक पाउँदैनन् । सरकारले विद्यालयको खातामा पाठ्यपुस्तकको रकम उपलब्ध गराउँछ । सो रकमले विद्यालयले पाठ्यपुस्तक खरीद गरी दिने हो । सो रकमबाट विद्यालयले पाठ्यपुस्तक किन्न फेरि अर्को सरकारी निकायको भर पर्नुपर्छ जसले किताब छाप्ने गर्दछ । र हरेक शैक्षिक सत्रको शुरूमा किताबको अभाव हुने गर्दछ । शायद नै कुनै वर्ष होला जब विद्यार्थीलाई पाठ्यपुस्तकको अभाव नभएको नहोस् ।

चालू शैक्षिक सत्रको दुई महीना बितिसकेको छ । अझै पनि कतिपय विद्यालयमा कुनै–कुनै कक्षाको पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तकको अभावमा इन्टरनेटबाट कुनै–कुनै पाठ डाउनलोड गरेर शिक्षकले पढाउन थालेका छन् । विद्यार्थीसित किताब छैन । विद्यार्थीसित किताब नहुँदा पढाइलाई अगाडि बढाउन निकै कठिन हुने गर्दछ । हाम्रो समाज वा शैक्षिक अवस्था यस्तो भइसकेको छैन कि शिक्षकलाई पाठ्यक्रम उपलब्ध गराएर शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउन सकियोस् । शैक्षिक उद्देश्य पूरा गर्न होइन, हामीकहाँ त पाठ्यपुस्तक सिध्याउनुपर्छ । कक्षामा शिक्षकले पढाएर पाठ्यपुस्तक सिध्याएपछि शिक्षण सिकाइ क्रियाकलापको सबै काम सकिएको मानिन्छ । यस्तो अवस्थामा इन्टरनेटबाट डाउनलोड गरेर एउटा पाना प्रिन्ट निकालेर वा मोबाइलबाट पढाएर विद्यार्थीलाई पढेजस्तो र शिक्षकले पढाएजस्तो लाग्दैन । अर्थात् विद्यार्थीलाई किताब नभई शिक्षक सिकाइ क्रियाकलाप हुन सकिरहेको छैन ।

शैक्षिक सत्रको दुई महीना बितिसकेको भए पनि किताब अझै विद्यार्थीको हातमा नपुग्नुले शैक्षिक सत्रको पढाइमा असर पर्ने नै भयो । कोर्स सिध्याउन स्वाभाविक गतिमा पढाइ नहुुन पनि सक्छ । सोझै कुदाउनुपर्ने वा कोर्स छोड्नुपर्ने हुन सक्छ । सबैले बुझेकै छन् कि एक वर्षको कोर्स दिइएको हुन्छ र त्यसको दुई महीना बित्नु भनेको मूल पढाइको समयको दुई महीना बित्नु हो । अब यो महीना बितेसँगै साउनमा विद्यालय बन्द हुन्छ । भदौमा खुल्दा चाडपर्वको चटारो हुन्छ । असोजमा दशैं र कात्तिकमा दीपावली तथा छठको लामो बिदा पर्छ । मङ्सिरमा परीक्षा हुन्छ, अद्र्धवार्षिक । यसरी मङ्सिरसम्म धेरै पढाइ हुने अवस्था देखिंदैन । वास्तवमा वैशाख, जेठ र असारमा लगातार कम्तीमा दुई महीना खुब पढाइ हुने समय हो । तर पाठ्यपुस्तकको अभावमा यो समय बितेपछि पाठ्यपुस्तकको अभाव भएको कक्षाका बालबालिकाले यस वर्ष राम्ररी पढ्न नपाई शैक्षिक सत्र बित्न पाउने भएको छ वा कम्तीमा पच्चीस प्रतिशत कोर्स राम्ररी पढ्न पाउँदैनन् ।

कोर्स नसकिएर अर्को कक्षामा पास भएर जाँदा शैक्ष्Fिक धरातल कमजोर हुन्छ । जुन बालबालिकाको धरातल कमजोर हुन्छ, उनलाई फेरि पनि समस्या हुन्छ । यस कुरातिर ध्यान जान सकेको छैन जस्तो लाग्छ । बालबालिकाले समयमा पाठ्यपुस्तक नपाउँदा उनीहरूमा छटपटी हुन्छ, पढ्ने बानीको विकास हुन सक्दैन वा घरमा नियमित पढ्ने बानीमा ह्रास आउँछ । अहिलेको अवस्थामा बालबालिकाले धेरै हदसम्म घरमा पढ्न नसकेको देखिएको छ । किताब नै छैन भने घरमा के पढोस् ? अभिभावकले पनि धेरै बल गर्न सकेका छैनन् । यसलाई अस्वाभाविक मान्न सकिन्न ।

राज्यले हरेक वर्ष बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउँछ । हरेक वर्ष नयाँ पाठ्यपुस्तक उपलब्ध गराउँछ । यसबाट सरकारले बालबालिकलाई उपलब्ध गराउने पाठ्यपुस्तक केवल एक वर्षको लागि मान्य हुने हो कि भन्ने लाग्छ । सरकारले हरेक बालबालिकालाई नयाँ पाठ्यपुस्तक नै दिन चाहेको  हो, नयाँ पुस्तक पाउँदा बालबालिका उत्साहित हुन्छन् । यो देखिएको पनि छ । बालमनोविज्ञानमा सकारात्मक असर पर्छ, यो सत्य हो । यसविपरीत पुरानो पाठ्यपुस्तकले हुन सक्छ बालबालिकामा उत्साह कम होओस् । राज्यले यही कारण हरेक वर्ष नयाँ कक्षाका लागि नयाँ पाठ्यपुस्तकको नीति लिएको हुन सक्छ तर व्यवहारमा पाठ्यपुस्तक निकै ढिलो उपलब्ध हुँदा शिक्षाको गुणस्तरमा केही प्रभाव परेको हो कि भन्ने अनुभव धेरैले गर्न थालेका छन् । समयमा पाठ्यपुस्तक नपाएको गुनासो हुन थालेको छ ।

पाठ्यपुस्तक हेर्दा अधिकांश अब रङ्गीन आउन थालेको छ । किताबको पाना अर्थात् कागजको गुणस्तर पनि एकैचोटि धेरै खराब छैन । कम्तीमा तीन वर्ष, हैन भने दुई वर्ष सजिलै चल्ने किसिमको किताबको छपाइ र गुणस्तर छ । यदि बालबालिकाले किताब पाउनासाथ त्यसमा गाता लगाउने हो भने कम्तीमा दुई वर्ष चल्न सक्ने कुरामा विमति हुन सक्दैन । एकपटक विद्यार्थीलाई यति मात्र भन्नुपर्छ कि किताबमा गाता हाल्नुपर्छ । किताबमा गाता हालिदिने हो भने कम्तीमा दुईदेखि तीन वर्ष वा दुईदेखि तीन शैक्षिक सत्रसम्म एउटै पुस्तकले पढाइ धान्न सकिन्छ । यसरी यदि एउटा पाठ्यपुस्तक दुई वर्षका लागि पुग्छ भने सरकारले दिनुपर्ने किताबको बोझ पनि कम हुन जान्छ । यसैगरी विद्यालयले पनि पाठ्यपुस्तक बालबालिकाको हातमा दिन समय लाग्दैन । पाठ्यपुस्तकमा सरकारको लगानी कम हुन्छ । लगानी कम हुने र पढाइ समयमा गर्न पाउने दोहोरो फाइदा सरकारलाई र बालबालिकालाई हुने देखिन्छ । यसरी यदि तीन वर्षसम्म एउटा पाठ्यपुस्तक जान्छ भने सरकारलाई पाठ्यपुस्तकमा एक तिहाई मात्र लगानी गर्नुपर्ने देखिन्छ । पाठ्यपुस्तकमा लाग्ने दुईतिहाई रकम जोगिंदा सरकारले त्यस रकमलाई शिक्षा व्यवस्थापनको अन्य काममा खर्च गर्न सक्छ वा सोझै विद्यालयलाई नै शिक्षा व्यवस्थापनसित सम्बन्धित अन्य काममा खर्च गर्ने आदेश दिन सक्छ ।

अहिले अधिकांश विद्यालयमा शिक्षकको तुलनामा विद्यार्थीको चाप धेरै छ । विद्यार्थीको चाप धेरै हुँदा शिक्षकले राम्ररी पढाउन पाउँदैनन् भने शिक्षकले राम्ररी पढाउन सक्दैनन् । यस अवस्थामा पाठ्यपुस्तकबाट उब्रेको पैसाले शिक्षक पनि राख्न सकिन्छ । यदि पाठ्यपुस्तकको दुईतिहाई रकम उब्रिन्छ भने त्यस रकमलाई शिक्षक व्यवस्थापनमा खर्च गर्न सकिन्छ । जुन विद्यालयमा धेरै विद्यार्थी छन्, त्यहाँ पाठ्यपुस्तकको रकमले शिक्षक बहाल गर्न सकिन्छ । शिक्षक अभाव कम गर्ने यो दीर्घकालीन उपाय त होइन, तत्कालका लागि भने समस्या कम गर्न सकिन्छ । पाठ्यपुस्तकमा राज्यको धेरै लगानी भइरहेको छ । पाठ्यपुस्तक एकै वर्षका लागि हो भन्ने मनोविज्ञान पनि विकसित भएको छ । एक वर्षकै लागि भएकोले बालबालिकाले किताबको स्याहार पनि गर्दैनन् । किताबलाई जतन गर्नुपर्छ र विद्यालयलाई फर्काउनुपर्छ भन्ने सोचाइ पाइन्न । दुई–तीन वर्ष सजिलै चल्ने पाठ्यपुस्तक एकै वर्षमा उपयोगविहीन पारिंदा चना चटपटे बेच्नेहरूको हातमा पुगिरहेको हुन्छ ।

विद्यालयमा देखिने पाठ्यपुस्तकको अभाव कम गर्न पाठ्यपुस्तकको बहुवर्षीय उपयोग हुनु उचित हुन्छ र पाठ्यपुस्तकमा हुने लगानी शिक्षा क्षेत्रको अन्य व्यवस्थापनमा उपयोग गर्नु उचित हुन्छ । यो रकम बालबालिकालाई सोझै लाभ हुने शिक्षक व्यवस्थापनमा खर्च गर्न सकिन्छ । अथवा बालबालिकालाई प्रत्यक्ष फाइदा हुने अन्य काममा रकम खर्च गर्न सकिन्छ । विद्यालयका अन्य अभाव टार्न सकिन्छ । यदि यस किसिमले व्यवस्थापन हुन सक्यो भने विद्यालयमा पाठ्यपुस्तकको अभाव धेरै हदसम्म कम गर्न सकिने र शिक्षालयमा हुने अन्य समस्याको समाधानका लागि पनि केही उपाय निकाल्न सजिलो हुन्छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here