आमा अनि श्रवण कुमार

0
  • कुमार रुपाखेती

यही असार एक गते म काठमाडौंमा थिएँ, त्यही मैले शत्रुघ्न नेपालको आमाको देहावसान भएको खबर पाएँ । २ गते वीरगंज आई समवेदना प्रकट गर्न शत्रुघ्न भाइको घर पुगें । भरत र शत्रुघ्न दुवै दाजुभाइ आमाको किरिया बसेका थिए । घरमा बुहारी, छोरा, भतिजा, छोरी र दिदी–बहिनी अनि प्रशस्तै छिमेकी उपस्थित थिए । कल्याङमल्याङ कुराकानी भइरहेको थियो, शत्रुघ्नकी आमाका समकालीनहरू उनको सदाशयता र विनम्रताका कुरा सम्झेर आँसु बगाइरहेको कारुणिक दृश्य थियो । घरमा त्यत्रो हुल हुँदा पनि मेरो मुटु एकजना व्यक्तिको कमीले अँठ्याइरहेको थियो, केही खल्लो, केही निर्जन महसूस भइरहेको थियो ।

कहिलेकाहीं कामविशेषले म शत्रुघ्नको घर पुगिरहन्थें । अनि त्यहाँ शत्रुघ्नभन्दा पहिले उनकी आमा पद्मा नेपालसँग जम्काभेट हुन्थ्यो, किनकि उहाँ अगाडिकै कोठामा बस्नुहुन्थ्यो । मैले मूलढोकाबाट नै ए शत्रुघ्न भनी बोलाउनेबित्तिकै शत्रुघ्नकी आमाले– ए बाबु शत्रुघ्न, तिमीलाई कसैले बोलाउँदैछ अथवा भोजपुरीमा ‘देख ना शत्रुघ्न, तोहरा कौनो चाल करता’ भन्दै उठेर बस्नुहुन्थ्यो । कहिलेकाहीं शत्रुघ्न घर नभएको बेला पर्दा– ऊ त अघि नै निस्कियो स्कुटीमा भन्नुहुन्थ्यो ।

त्यस्तै एकपल्ट म बाहिरबाट आउँदा शत्रुघ्नको लागि चिनोस्वरूप ल्याएको एउटा गन्जी दिन जाँदा आमा नै पहिले भेटिनुभयो, शत्रुघ्न आएपछि, कोसेली दिएँ । त्यतिखेर मैले केही चकलेट, टफीहरू पनि लगेको थिएँ र यो आमाको लागि चकलेट पनि छ भनेर दिंदा औंधी खुशी भएको आमाको त्यो मुहार म अझैं झल्झली सम्झन्छु ।

त्यस्तै करीब १२–१३ वर्ष अघि शत्रुघ्नकी आमा सिकिस्त बिरामी परी काठमाडौं, टिचिङ हस्पिटल महाराजगंजमा लगेको थाहा पाएपछि म राजधानीमैं रहेकोले टिचिङ पुगेको थिएँ । टिचिङ हस्पिटलमा बिरामीले बेड (कोठा) पाउन भर्ना हुन सा¥है गा¥हो हुँदो रहेछ । बिरामी आमाले कोठा नपाएको कुरा शत्रुघ्नबाट थाहा पाएँ अनि एकजना माओवादी कर्मचारी नेतालाई वीरगंजबाट ल्याएको बिरामी पद्मा नेपाललाई टिचिङमा भर्ना गर्न समस्या भएको बताएँ । कोठाको लागि भरत, शत्रुघ्नहरूले समेत प्रयास गर्दै थिए, दैव संयोगले भर्ना मिल्यो । आमालाई निको भयो, सकुशल शत्रुघ्नहरूले वीरगंज ल्याए । अस्ति म शत्रुघ्नको घर पुग्दा विगतमा आमा सम्बन्धित यस्ता धेरै कुरा सम्झिएँ ।

शत्रुघ्नकी आमाको जन्म वि.सं. १९७७ मा पर्सा जिल्लाकै धरमपुर गाउँमा भएको रहेछ । ऊ बेलाको चलन अनुसार उहाँको बिहे कलिलै उमेरमा वीरगंज, छपकैयाका ध्रुव नेपालसँग भएको थियो । शत्रुघ्नका बुबा बितेको लामै समय भइसकेको छ ।

बेला–कुबेला शत्रुघ्नले आमाले मन पराउने आइसक्रिम खाँदै गरेको, आमाले मन परेको खानेकुरा खाइरहेको, आमा रमाइरहेको, आमाले त्यो बुढेसकालमा समेत नेपाली र ठेट भोजपुरीमा सञ्चारमाध्यममा बोलिरहेको आदि स्मरणयोग्य घटनाहरू फेसबूकमा हालेर आम हितैषीहरूलाई रोमाञ्चित गराइरहन्थे अनि आमाको वृद्धावस्था र सक्रियताबारे जानकारी गराइरहन्थे । फेसबूकमा आमाबारे बेला–कुबेला घतलाग्दा कुराहरू राखेको देखेर मेरी पत्नी सुनीता रूपाखेतीले हेर्नुस् न फेसबूकमा समेत श्रवण कुमार (शत्रुघ्न नेपाल)ले आमालाई कति माया दर्शाएका छन् ।

मैले प्त्नीलाई सोधें– शत्रुघ्नलाई किन श्रवण कुमार भनेको ? उनले भनिन् बुढेसकालमा आमाको यसरी हेरचाह गर्नेलाई इतिहासमा श्रवण कुमार भनिन्छ । अफसोच आमा–छोराको यस्तो रोचक नोकझोक अब देख्न पाइन्न । शत्रुघ्न त्यसै पनि खानाका पारखी मानिन्छन् । आपूm र आमालाई मन पर्ने परिकार उनी बेला–बेला पकवानसहित फेसबूकमा झुल्किरहन्छन् । पाककलामा शत्रुघ्न निपूण मानिन्छन् । उनको परिवारमा शत्रुघ्नबाहेक शायद आमा र पत्नी शाकाहारी खाना रुचाउँछन् । भनिन्छ, आपूmले खान ल्याएको खसी, कुखुराको मासुको स्वादिष्ट परिकार बनाउन शत्रुघ्न स्वयं भान्से बन्दछन् । आमा–छोराको यो प्रेम देखेर मलाई एउटा कविता याद आयोः

धरतीजस्ती आमा मेरी, आमाजस्ती धरती

दुवै बाँचे बाच्न सक्छु, स्वस्थ–स्वच्छ जिन्दगी

आमा रुँदा धरती रुन्छिन्, धर्ती रुँदा आमा,

हुन दिनुहुन्न हामीले दुवैलाई दुःखी ।

आज यो संसारबाट भरत, शत्रुघ्नकी ममतामयी आमा पद्माकुमारी नेपाल बिदा भइसक्नुभएको छ । उनको परिवारमा अब उनी सदैव सम्मानजनक स्मरणमा मात्र उपस्थित रहनुहुनेछ । आमाको वैकुण्ठवास होस्, सम्पूर्ण नेपाल परिवारप्रति हार्दिक समवेदना छ । पितृसरह भइसकेका आमाबुबाहरूका लागि आम नागरिक पनि शत्रुघ्नझैं श्रवण कुमार बनून् ।

जाँदा–जाँदै आमाको सम्झनामा म यो गीत गुनगुनाउँदै बिदा हुन चाहन्छु । गीतको बोल छ– माँ मुझे अपनी आँचल में छुपा लो, गले से लगा लो, कि और मेरा कोई नहीं ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here