प्रस, सिम्रौनगढ, ७ असार/
बाराको सिम्रौनगढमा मङ्गलवार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
सो अवसरमा सिम्रौनगढ कङ्काली मन्दिरको प्राङ्गणमा योग शिविरको आयोजना गरिएको थियो । सो शिविरमा नगरप्रमुख किशोरीप्रसाद कलवारले प्रत्येक व्यक्तिले योग गर्न जरुरी रहेको
बताए ।
यो मानवजीवनको लागि योग धेरै उपयोगी रहेको पनि उनले बताए । योगले मानवशरीरमा रोगहरूसँग लड्न ऊर्जा पैदा गर्छ र सकारात्मक सोच बढाउँछ, उनले भने ।
सिम्रौनगढ नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा भएको सो शिविरमा एक घण्टासम्म योग गराइएको थियो ।
पतञ्जलि योग समिति, मधेस प्रदेशका सदस्य अरुणकुमार चौधरीद्वारा गराइएको शिविरमा आयुर्वेद संयोजक जयनारायणप्रसाद यादव, वरिष्ठ कविराज निरीक्षक वीरेन्द्रप्रसाद साह, स्वास्थ्य संयोजक राजेन्द्रप्रसाद साह, सिम्रौनगढ आयुर्वेदका प्रमुख चन्देश्वरप्रसाद बैठा, कचोर्वा आयुर्वेदका प्रमुख सुरेन्द्रप्रसाद यादव, देवापुर टेटा आयुर्वेदका प्रमुख विजय यादव, हरिहरपुर आयुर्वेदका प्रमुख सुशील मिश्र, सुरेश यादव, सुचिता कर्णलगायत र स्थानीयहरूको सहभागिता थियो ।