महानगरपालिकामा शून्य सहनशीलतामा काम हुँदै, दैनिक ज्यालादारीपछि करारका कर्मचारी त्रसित

0

प्रस, वीरगंज, ६ असार/

वीरगंज महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको २६ दिन बितिसकेको छ। नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधिहरू अहिलेसम्म मनपाको विधि विधान, विगतका कामकारबाईका प्रक्रिया र हिसाबकिताब बुझबुझारथ गर्ने काममा केन्द्रित भए।

वीरगंज मनपामा बुझ्दा अहिले शून्य सहनशीलतामा दैनिक प्रशासनिक कार्यहरू भइरहेको बुझिएको छ। नगरप्रमुखमा राजेशमान सिंह निर्वाचित भएपछि कर्मचारीहरूमा खैलाबैला मचेको छ। विगतमा फाइल अगाडि बढाउन र चाँडै काम गराउन शाखापिच्छे घूस खुवाउनुपर्ने सेवाग्राहीहरूले अहिले सहजरूपमा सेवा पाइरहेको बताएका छन्।

सेवाग्राहीले घूस दिंदा पनि कर्मचारीहरूले घूस लिन नमानेको र फटाफट काम गरिरहेको कर्मचारी स्रोतले बताएको छ। पूर्वनगरप्रमुख विजय सरावगीको पालामा काम अवधि बिहान १० देखि साँझ ५ बजेसम्म हाजिर गरेर निजी काममा निस्किने कर्मचारीहरूलाई कडाइ गरिएको छ। वीरगंज मनपाका प्रमुख प्रशासकीय अधिकृत बलराम ढकालले कर्मचारीहरूले बढी समय नगरपालिकालाई दिइरहेको बताएका छन्। अहिले बजेट तयारीका लागि कर्मचारीहरू निकै खटेका छन्, चारैतिर निगरानी बढेको छ, उनले भने।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफू निर्वाचित भएपछि  जनताले परिवर्तनको आभास गरेको दाबी गरेका छन्। उनले काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र कामचोर कर्मचारीलाई जागीरबाट हटाउनेसमेत प्रतीक दैनिकसँगको कुराकानीमा भने।

दैनिक ज्यालादारीमा कम्प्युटरको ‘क’ पनि थाहा नहुनेले कम्प्युटर अपरेटरमा जागीर पाएका थिए। त्यस्ता ६४ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ। प्रदेश र प्रतिनिधिसभा चुनावअगावै कार्यालयप्रति जिम्मेवार नभएर काम गर्ने करारका केही कर्मचारीहरूलाई हटाउने लक्ष्य रहेको नगरप्रमुख सिंहले बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here