ठाराब क्याम्पसको होस्टल भूतबङ्गलामा परिणत

0

प्रस, वीरगंज, ६ असार/

मोफसलकै सबैभन्दा पुरानो तथा त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पसको रूपमा चिनिने वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसको पीडा बेग्लै छ।

विसं २००९ सालमा स्थापना भएको उक्त क्याम्पसका भवनहरू जीर्ण भइसकेका छन्। कक्षा कोठा सञ्चालन हुने भवनदेखि पुस्तकालय भवन, छात्रावास भवन, प्रशासनिक भवनलगायत अधिकांश भवन वर्षात्को समयमा चुहिन्छन्। कुन बेला कुन पर्खाल र छत खस्छ भन्ने ठेगान छैन। सबैभन्दा बिजोग अवस्था छात्रावासको रहेको देखिन्छ। छात्रावास खण्डहरमा परिणत भएको छ। हेर्दा भूतबङ्गला हो कि जस्तो लाग्ने गरेको विद्यार्थीहरू बताउँछन्। छात्रावास वरपर जङ्गलजस्तै बोटबिरुवा, घाँसपात उम्रेका छन्। छात्रावासका कोठाहरू पानी परेको बेला चुहिंदा विद्यार्थीहरू राति राम्ररी निदाउन पनि सक्दैनन्, पढ्ने वातावरणको ठेगानै छैन।

छात्रावासको शौचालय फोहर र प्रदूषित छन्। पानी र बिजुलीको सहज उपलब्धता छैन। क्यान्टिनको व्यवस्था पनि छैन। विद्यार्थीहरूले कोठामैं खाना पकाउँछन् र भाँडाकुँडा माझ्छन्। छात्रावासका झ्याल र ढोकाहरू जीर्ण भइसकेका कारण वर्षात्को समयमा सर्प र लामखुट्टेको आतङ्क हुने गरेको विद्यार्थीहरूले बताए। पुरुष र महिला छात्रावासको क्षमता सय/सय जना रहे पनि पर्याप्त भौतिक पूर्वाधार र सेवासुविधाको अभावमा पुरुष छात्रावासमा २० जना र महिला छात्रावासमा २६ जना विद्यार्थीहरू बस्छन्।

ठाराब क्याम्पसको छात्रावास सुधारको लागि वीरगंज महानगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले सहयोग नगरेका कारण भवन अवस्था जीर्ण हुँदै गएको क्याम्पस प्रमुख डा उमेशकुमार चौरसिया बताउँछन्। उनले छात्रावासको उचित प्रबन्ध र सुधारका लागि वीरगंजका निजी क्षेत्र तथा तीन तहका सरकारसँग सहयोगको लागि अपील गरेका छन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here