वीरगंज मनपाको तीन अर्बको बजेट आउँदै, यी करहरू हटाइँदै

0

प्रस, वीरगंज, ६ असार/

मधेस प्रदेशको एकमात्र  महानगरपालिका वीरगंज महानगरले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करीब तीन अर्ब नौ करोड रुपैयाँको  बजेट ल्याउने तयारी गर्दैछ।

चालू आव २०७८/७९ को बजेट रु तीन अर्ब ५५ करोड ३९ लाखभन्दा करीब ४५ करोड कमको आगामी बजेट आउन लागेको हो।

एशियाली विकास बैंकद्वारा सञ्चालित परियोजनाको बजेट कम हुँदै गएकोले आगामी आवको बजेटमा कमी आएको वीरगंज महानगरपालिकाका लेखापरीक्षक हरिशङ्कर कुर्मीले बताए। उनका अनुसार आगामी आवको बजेटको रूपरेखा तयार भइसकेपछि तीन अर्ब नौ करोडमा ५–७ करोड थपघट हुन सक्ने जानकारी गराए।

उनका अनुसार आगामी आवको बजेटमा करीब ५० प्रतिशत चालू खर्चतर्फ र ५० प्रतिशत पूँजीगत खर्चमा रकम विनियोजित गरिनेछ। करीब रु ७५ करोडको चालू खर्चमा तलब, भत्ता, कार्यालय सञ्चालन, सरसफाइ, इन्धनलगायत खर्चहरू समावेश गरिएका छन्। आगामी आवमा सङ्घ सरकारबाट एक अर्ब ४४ करोड अनुदान सिलिङ पाउने बताइएको छ। जबकि चालू आवमा पाँच करोड बढी अर्थात् रु एक अर्ब ४९ करोड रहेको थियो।

सङ्घीय सरकारबाट आगामी आवको बजेटको लागि सशर्त अनुदान ८० करोड ८० लाख, विशेष अनुदान छ करोड, समपूरक अनुदान १० करोड, वित्तीय समानीकरण अनुदान ४७ करोड ८८ लाख, राजस्व बाँडफाँड २५ करोड ७६ लाख अनुदान हुनेछन् भने प्रदेश सरकारबाट सशर्त अनुदान एक करोड ७५ लाख, विशेष अनुदान ४० लाख, समपूरक २५ लाख, वित्तीय समानीकरण तीन करोड २९ लाख, राजस्व बाँडफाँड दुई करोड २८ लाख, आरयुडिपी योजना अन्तर्गत १२ करोड ६१ लाख, सडक बोर्डबाट दुई करोड अनुदान पाउने बताइएको छ।

यसैगरी, आन्तरिक आयतर्फ विभिन्न ठेक्कापट्टा र राजस्व सङ्कलनबाट ८९ करोड ७२ लाख र बाँकी नगद मौज्दातबाट बजेट बनाउने कार्य भइरहेको लेखापरीक्षक कुर्मीले बताए।

वीरगंज महानगरपालिकाले आगामी आवको बजेटमा विशेषगरी सम्पत्तिकरको दर कम गर्ने, सवारी व्यवस्थापन शुल्क अर्थात् पटके र पार्किङ शुल्क हटाउने, पिठियाकर हटाउने तयारी गरेको जनाएको छ।

चालू आवमा महानगरपालिकाले राजस्वको लक्ष्य भेटाउने अनुमान

वीरगंज महानगरपालिकाले चालू आवको गत साउनदेखि असार मसान्तसम्म रु एक अर्ब पाँच करोडको राजस्व लक्ष्य हासिल हुने जनाएको छ।

महानगरपालिकाको राजस्व महाशाखा प्रमुख रूपनारायण राउतका अनुसार असार ६ गतेसम्म करीब ७७ करोड राजस्व सङ्कलन भइसकेको र बाँकी रु २८ करोड आगामी २६ दिनमा सङ्कलन हुने ठोकुवा गरे। उनले जेठ मसान्तसम्म महानगरपालिकाका विभिन्न राजस्व सङ्कलन गर्ने एकाइबाट रु ५७ करोड राजस्व सङ्कलन भएको छ भने मालपोतबाट गत साउनदेखि पुस मसान्तसम्म घरजग्गा रजिस्टे«शनबापत रु २० करोड राजस्व बाँडफाँड गरी हालसम्म रु ७७ करोड राजस्व सङ्कलन भएको छ भने बाँकी २८ करोडमा ठेक्कापट्टाबाट रु १० करोड राजस्व प्राप्त गर्नेछ।

यसैगरी, मालपोत कार्यालय, पर्साबाट माघदेखि असार मसान्तसम्म अर्थात् छ महीनामा रु १५ करोडभन्दा बढी राजस्व बाँडफाँडबाट सङ्कलन हुने अनुमान गरिएको छ। गत आव २०७७/७८ मा आन्तरिक आयतर्फ रु ६७ करोड राजस्व सङ्कलन भएको उनले बताए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here