बलिराम शुक्ला, बिरुवागुठी, ६ असार/
सबैया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको कामकारबाईको विरोधमा पर्सागढीका युवाले हस्ताक्षर अभियान शुरू गरेका छन्। सबैया साझेदारी वन व्यवस्थापन समितिविरुद्ध युवाहरू सहभागी सङ्घर्ष समितिले १४ सूत्रीय माग राख्दै हस्ताक्षर अभियान शुरू गरेको हो।
सङ्घर्ष समितिका अध्यक्ष अमृत बस्यालको नेतृत्वमा पर्सागढीका युवाहरूले सबैया साझेदारी वनमा हालसम्मको आय–व्यय सार्वजनिक गर्नुपर्ने, अधिवेशन गर्नुपर्ने, साझेदारीको भवन निर्माणबारे मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुपर्ने, साझेदारीको विधान सार्वजनिक गर्नुपर्ने, खेलमैदानमा भएको हस्तक्षेप फिर्ता गर्नुपर्ने, वार्षिक कार्यक्रमको सार्वजनिक लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने, हेरालुको दरबन्दी र सेवासुविधामा भएको अनियमितता सार्वजनिक गर्नुपर्ने, दाहसंस्कारमा सबै समुदायलाई विनाशर्त दाउरा उपलब्ध गराउनुपर्नेलगायतका मागहरू राखी गत एक सातादेखि सङ्घर्षका कार्यक्रम गरिरहेका छन्। अध्यक्ष बस्यालले स्थानीय उपभोक्ताहरूको हस्ताक्षर सङ्कलन गरी पर्साका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयमा बुझाउने बताएका छन्।
वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका