गठबन्धन रहर होइन, बाध्यता –नेता रिजाल

0

प्रस, वीरगंज, ६ असार/

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले पर्सामा भएको गठबन्धन रहरले होइन, बाध्यताले गरिएको बताएका छन्।

नेपाली काङ्ग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरूको लागि आयोजना गरिएको सम्मान कार्यक्रममा नेता रिजालले गठबन्धनको आवश्यकता छ तर चरित्रहीन तथा बेइमान व्यक्तिका कारण पर्सामा आफूहरू धोकामा परेको बताए। पर्सामा गठबन्धनको औचित्य समाप्त भइसकेको उनको भनाइ थियो। गठबन्धनका अन्य दलमा गद्दार व्यक्तिहरू रहेकाले उनीहरूको गलत क्रियाकलापका कारण आफ्नो दलले धोका पाएको उनको जिकिर थियो। गठबन्धनको विषयमा अब केन्द्रीय समितिसँग समन्वय गरेर अगाडि बढ्ने र जनताको भावना अनुसार आगामी चुनावमा जाने उनको भनाइ थियो।

निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको मालिक होइन सेवक बनेर काम गर्न आवश्यक रहेको उनले बताए। आफ्ना साथी वा ठेकेदारसँग आर्थिक चलखेल नगरी निष्पक्षरूपमा विकास निर्माणको काम गर्न पनि उनले सुझाव दिए।

नेता रिजालले अनुशासनमा बसी नेकालाई मजबूत बनाउन पालिकास्तरीय नियमित बैठक बसी हारेका वा जितेका व्यक्तिहरूसँग समन्वय गरी काम गर्न सुझाएका थिए।

नेता अजय द्विवेदीले नेका बचाउनु छ भने गठबन्धन नगर्न केन्द्रीय नेताहरूलाई सुझाव दिए। उनले आफूहरू बलियो भए तापनि अहिलेको समयमा सबै पद अन्य दललाई दिएकोप्रति दुःख व्यक्त गरे। पर्सा जिल्लामा सबैभन्दा बढी निर्वाचन क्षेत्र नं १ का जनता गठबन्धनका कारण पीडित बनेको उनको तर्क थियो। वीरगंज महानगर नेकाको लागि मजबूत ठाउँ रहेको तर सांसद, मुख्यमन्त्री, नगरप्रमुख, सभापति सबै अन्य दलले कब्जा गर्नु दलको लागि ठूलो घातक भएको बताए। आफू कुनै पनि हालतमा गठबन्धनको पक्षमा नरहेको तर केन्द्रीय कमिटीको निर्णय अनुसार गठबन्धन भएकोले मानेको तर अब केन्द्रको आदेश नमान्नेसमेत उनको भनाइ थियो।

नेका, पर्साका सभापति जनार्दनसिंह क्षत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद राजेश्वर साह तेली, उपप्रमुख इम्तियाज आलम, उपसभापति रामनाराण कुर्मी, श्याम पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here