अभिभावकविहीन बजारमा लाचार उपभोक्ता

0
  • राजेश मिश्र

 ‘अपना घर हो, स्वर्ग से सुन्दर’ यो हिन्दी गीतझंै प्रत्येक मानिसले सुन्दर घरको परिकल्पना गर्छ । मानवजीवनको आधारभूत आवश्यकता खाना र नानापछि छाना अर्थात् घर हो । घर बनाउँदा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र नापतौल नियम अनुसार छ वा छैन ? अपवादबाहेक आम उपभोक्तालाई थाहा छैन । ठगीरहित बजारको परिकल्पना नियामक निकाय र कारोबारीबीच (अ)वैध सम्बन्धको मात्रामा निर्भर छ ।

घर निर्माणमा प्रयोग हुने विविध सामग्रीहरूमध्ये फलामे डन्डी, सिमेन्ट र इँटा सरकारी मापदण्डअनुरूप उत्पादन भइरहेका छन् वा छैनन् भन्ने कुराको नियमन गर्ने सन्दर्भमा कानूनी हैसियत प्राप्त सरकारी निकायहरूको कमी छैन । त्यसैगरी, बालुवा, गिट्टी र बोल्डर आदि नदीजन्य सामग्रीको उत्खननदेखि लिएर बिक्री वितरणलगायत अनुगमन गर्ने निकायहरू छैनन् भन्ने होइन ।

एक भुक्तभोगी उपभोक्ताका अनुसार वीरगंजको एक हार्डवेयर पसलबाट उनले खरीद गरेको १६ एमएमको छडको बन्डलमा ८ एमएमको ट्याग बेरिएकोे थियो । यो ठगीको नियत नितान्तरूपमा विक्रेताको थियो, किनभने १६ एमएमको बन्डलमा डन्डी पाँच थान र वजन ९५ किलोको आसपास हुन्छ । विक्रेताले १६ एमएमको बन्डलमा १११ किलो वजन उल्लेख भएको ८ एमएमको ट्याग झुन्ड्याएर उपभोक्तालाई करीब १५ किलो छड ठगी गर्ने नियत कानूनी, सामाजिक र व्यावहारिकमध्ये कुनै पनि दृष्टिकोणले अपराध हो ।

डन्डीको बन्डलसँगै आउने हुक उपभोक्तालाई नदिनुका साथै कारखानाले लगाएको ट्याग भाँचेर फेरबदल गरी तौलमा उपभोक्तालाई ठगी गर्ने नियतले प्रश्रय पाउनुको कारण के हो ? स्टील कारखानामा काम गर्ने एकजना कर्मचारीका अनुसार एउटा डन्डीको लम्बाइ १२ मिटर वा ४० फिटको हुन्छ । त्यसैगरी, डन्डीको प्रत्येक बन्डलमा चारवटा क्लीप र डेढ किलोको एउटा हुक संलग्न रहन्छ ।

यसको अलावा घर बनाउँदा प्रयोग हुने इँटा, बालुवा, गिट्टी र बोल्डर आदिको गुणस्तर र दर भगवान् भरोसे छ । प्रतिटेलर अर्थात् दुई हजार इँटाको ३० देखि ३४ हजार मूल्य छ । बालुवा अहिले प्रतिटेलर साढे पाँच हजारदेखि छ हजारमा बिक्री भइरहेको छ । धोएको बालुवा तथा गिट्टीको कुरा गर्ने हो भने प्रतिटिपर २४ देखि २६ हजारको हाराहारीमा बिक्री भइरहेको छ । जानकारहरूका अनुसार बजारमा बिक्री हुने प्रत्येक सामग्रीको मूल्य निर्धारण गर्ने सरकारी मापदण्ड छ । अब यहाँ प्रश्न के उठ्छ भने यो दर सरकारी नीतिनियम बमोजिम हो कि बजारको ‘मनोपोली’ ? अभिभावकविहीन बजारमा लाचार उपभोक्तासँग विभिन्न अनुत्तरित प्रश्नहरू छन् ।

यसै सेरोफेरोमा आम उपभोक्ताको विचार तथा निर्माण सामग्रीबारे आम उपभोक्तालाई सचेतना अभिवृद्धिका लागि उपभोक्ता र सिभिल इन्जिनीयरसँग भएको कुराकानी ।

अनिरुद्ध चौधरी, वीमनपा–३१

सीमित आय र आकाश छोइरहेको महँगीबीच घरको सपना साकार पार्नु कम चुनौतीपूर्ण छैन । घर बनाउँदा निर्माण सामग्री आदिको छनोट छरछिमेक तथा मिस्त्रीमा निर्भर छ । यसको अलावा थरीथरीका विज्ञापनले कुन ठीक र कुन बेठीक छुट्ट्याउनै गा¥हो छ । निर्माण सामग्रीको गुणस्तर तथा नापतौल जानकारी छैन । विक्रेतामाथि विश्वास गरेर खरीद गर्नुको विकल्प छैन ।

खरीद गर्ने बेला मैले विक्रेतासँग केवल मूल्य र ब्रान्डबाहेक अरू केही सोधेको छैन । डन्डी वा सिमेन्टमध्ये कुनै पनि तौल गरेर बिक्री गर्ने प्रचलन छैन । सिमेन्टको बोरामा अङ्कित ५० किलो तथा डन्डीको बन्डलमा लागेको ट्यागको भरमा खरीद गरें । डन्डीसँगै हुक पनि आउँछ भन्ने कुरा न मलाई थाहा छ, न बताइयो, न दिइयो । हामी उपभोक्ताका लागि त यस्तो लाग्छ कि बजार अभिभावकविहीन छ ।

राजदुलारी गिरी, वीमनपा–१३

डन्डी वा सिमेन्टको ग्रेडको बारेमा मलाई थाहा छैन । सुता (एमएम) मिस्त्रीले भन्छ । म पसलमा जान्छु, मूल्य सोध्छु र किन्छु । धोएको बालुवा भनेर किनेकी थिएँ । तर नधोएको बालुवामा कोइला जस्तो कालो धूलोको मात्रा अत्यधिक छ । महँगोमा मगाएको बालुवा थुप्रैजनाले प्रयोग गर्न लायक छैन भने ।

बलियो छ, मजबूत छ, टिकाउ छ आदि प्रचारबाहेक उपभोक्ताले के के कुरामा ध्यान दिनुपर्छ भन्ने सन्देश कहींकतै सुनेकी छैन । आफूले खरीद गरेको सामान गुणस्तरीय छ वा छैन मलाई थाहा छैन । सिमेन्टको बोरा पचास किलो र डन्डीको लम्बाइ ४० फिट हुन्छ यतिमात्र थाहा छ । सिमेन्टमा उत्पादन मिति हुन्छ भन्ने थाहा छैन । फलामे डन्डीमा सिल भएको देखेकी छु तर सिल भाँचे वा नभाँचेकोप्रति ध्यान दिएकी छैन । सिमेन्टको बोरा ५० किलो छ कि कम छ, वजन गरेर बिक्री गर्ने चलन नरहेकोले विश्वास गर्नुको विकल्प छैन ।

सञ्जयकुमार कर्ण (सिभिल इन्जिनीयर)

राजारजौटा तथा सुसम्पन्न व्यक्तिहरूबाहेक पक्की भवनप्रति आमचासोे बढेको इतिहास धेरै पुरानो छैन । उहिले पक्की भवन प्रायःजसो शहर केन्द्रित थियो । किनभने गाउँदेहातको तुलनामा सम्पन्न मानिसहरूको सङ्ख्या शहरमा बढी थियो । चार/पाँच दशकअघिसम्म सुर्खी–चुनामा आधारित पक्की घरहरू विविध आधुनिक संसाधनले विस्थापित भइसकेका छन् ।

हिन्दी गीत ‘स्वर्ग से सुन्दर, सपनों से प्यारा, है अपना घरद्वार’ तपाईंले पनि सुन्नुभएकै होला । गच्छे अनुसार फुस, खपडा वा पक्की, जुनसुकै भए तापनि जीवनमा घर बनाउने सपना प्रायः सबैसँग हुन्छ । घर सानो होस् वा ठूलो त्यसले फरक पर्दैन । तर निर्माण सामग्रीहरूमध्ये प्रमुख फलामे डन्डी, सिमेन्ट, इँटा, बालुवा, गिट्टी र बोल्डर आदि मापदण्ड अनुरूप छन् कि छैनन् ? त्यसतर्फ ध्यान पु¥याउनुपर्दछ । विविध निर्माण सामग्री र श्रमको योगले भवन बन्छ । गुणस्तरीय वा गुणस्तरहीन सामग्रीको प्रभाव वा कुप्रभाव तपाईंको स्वर्गभन्दा सुन्दर भवनमा नपर्ने कुरै छैन ।

घर बनाउने क्रममा प्राविधिक परामर्श तथा गुणस्तरीय सामग्री अत्यावश्यक छ । यद्यपि बदलिंदो परिवेशमा प्राविधिक परामर्श त केवल ठूल्ठूला अपार्टमेन्ट वा परियोजनाका लागि मात्र महŒवपूर्ण हुन्छ भन्ने आमधारण पाइन्छ । तर त्यसो होइन, निर्माण कार्य सानो होस् वा ठूलो, प्राविधिकको सहयोगले नक्शा, निर्माण सामग्रीको गुणस्तर तथा मापदण्ड अनुसार सामग्रीको मिश्रण आदि कुराहरूले धेरै फरक पार्छ । पक्की घर बनाउँदा लागत बढी लाग्ने भएकोले सानो त्रुटिले दीर्घकालीन असर पर्न सक्छ । भौगोलिक बनावट अनुसार डिजाइन तथा प्राविधिक कुरा फरक–फरक हुन्छन् । त्यस कारण घर बनाउने प्रविधिसम्बन्धी सबै कुरा एकैपटक व्यक्त गर्न सम्भव छैन ।

म एक प्राविधिकको हैसियतले घर बनाउँदा प्राविधिकको सहयोगले नै घर बनाउनुस् भन्छु । यद्यपि निर्माण सामग्रीको गुणवत्ता जाँच गर्ने केही यस्ता सामान्य जानकारी म दिन चाहन्छु, जुन घर बनाउनेले मात्र होइन, सर्वसाधारण नागरिकले पनि जानकारी राख्नुपर्छ ।

फलामे डन्डी ः फलामे डन्डीको मोटाइ डायमिटरको सहायताले ‘मिलिमिटर अर्थात् एमएम’मा मापन गरिन्छ । डन्डीको एमएम मापन गर्दा प्राविधिक भाषामा ‘रिब्स’ भनिन्छ, तर सर्वसाधारण मानिसले डन्डीको ‘घाउ’ भन्छन् । रिब्स अर्थात् पातलो धर्कोमाथि डायमिटर राखेर मापन गर्नुहुँदैन । दुई रिब्सको बीचको खाली ठाउँमा मापन गर्दा डन्डीको वास्तविक एमएम पत्ता लाग्छ ।

यसरी डन्डीमा उल्लेख भए अनुसारको एमएमको डन्डी छ वा छैन भन्ने कुरा पत्ता लगाउन सकिन्छ । त्यसैगरी, सिङ्गो डन्डीको वजन कसरी निकाल्ने ? यो पनि जान्न जरुरी छ । अपवादबाहेक डन्डीको लम्बाइ १२ मिटर वा ४० फिटको हुन्छ । मानौं डन्डी १२ एमएमको छ भने सूत्र अनुसार १२ एमएम गुणा १२ एमएम भाग १६२ ले एक मिटर डन्डीको वजन ०.८८८ किलो हुन्छ । त्यसैगरी, १२ मिटर गुणा ०.८८८ गरेपछि एक डन्डीको वजन १० किलो ६६० ग्राम हुन्छ ।

खिया नलागेको डन्डी प्रयोग गर्नुपर्छ । यदि डन्डीमा भर्खरै खिया लाग्न शुरू भएको छ भने प्रयोग गर्न सकिन्छ । तर धेरै खिया लागेको डन्डी कदापि प्रयोग गर्नुहुँदैन । डन्डीको अर्को समस्या भनेको स्पीलिट अर्थात् ठाउँ–ठाउँमा स्वाभाविकभन्दा केही उठेको वा वेल्डिङ गरेको जस्तो देखिन्छ भने त्यस्तो डन्डी प्रयोग गर्नुहुँदैन ।

बालुवा ः धोएको बालुवा भन्ने बित्तिकै सफा होला भन्ने मानसिकता व्याप्त छ । तर त्यसो होइन, माटो मिसिएको हुन सक्छ । सरसर्ती हेर्दा माटो मिसिएको भान हुँदैन । त्यस कारण स्थानीय खोलाको बालुवा होस् वा क्रसरको सकेसम्म धोएको बालुवा प्रयोग गर्नु उत्तम हुनेछ । यसको अलावा बालुवामा सीसा जस्तो चम्किलो कणको मात्रा बढी छ भने त्यस्तो बालुवा प्रयोग गर्न लायक मानिंदैन ।

बालुवामा माटो मिसिएको/नमिसिएको पत्ता लगाउन थुपारिएको बालुवाभित्र हात पसाउने र एक मुठी निकाल्ने, थिच्ने र बिस्तारै भुइँमा खसाल्ने गर्नुपर्छ । सामान्यतया हातमा बालुवाको कण टिक्दैन । यदि हातमा माटो टाँसिएको छ भने बालुवामा माटोको मात्रा छ । माटोरहित बालुवालाई गुणस्तरीय मानिन्छ ।

इँटा : एनबिसी अर्थात् नेशनल बुल्डिङ कोड, नेपालद्वारा निर्धारित इँटाको आकार यस प्रकार छ :

लम्बाइ २४० एमएम (९.५ इन्च), चौडाइ ११५ एमएम (४.५ इन्च), मोटाइ ५७ एमएम (२.२५ इन्च) । यसैगरी, लम्बाइमा १० एमएम, चौडाइमा ५ एमएम र मोटाइमा ३ एमएमसम्म घटी वा बटी भएको इँटा नियम अनुसार भएको ठहर्छ । हल्का रातो इँटामाथि सिल्वर जस्तो छद्म रङ्ग छ भने राम्रो मानिन्छ । इँटाको आकार एक समान हुनुपर्छ । किनभने आकारमा इँटा एकअर्का भन्दा घटीबढी छ भने प्लास्टर गर्दा मसाला बढी खपत हुन्छ । त्यसैगरी, इँटाको शक्ति जाँच्नको लागि माथिदेखि तल नङले कोर्ने । यदि नड्ढो धर्को स्पष्ट देखिइरहेको छ भने इँट पाकेको मानिंदैन । दुईवटा इँट हातमा लिएर एकापसमा जुधाउँदा यदि मेटालिक आवाज आउँछ भने राम्रो छ ।

त्यसैगरी, इँटाको पानी सोस्ने क्षमता जाँच गर्ने तरीका पनि सरल छ । प्रथमतः इँटाको वजन गर्नुपर्छ । त्यसपछि पानीमा डुब्ने गरी २४ घण्टा राख्नुपर्छ । २४ घण्टापछि इँट निकालेर वजन गर्नुपर्छ । यदि इँटाको तौलमा १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ भने इँटाको पानी सोस्ने शक्ति र इँटाको गुणस्तर सही मानिन्छ । यदि इँटाको तौलमा २० प्रतिशतभन्दा बढी वृद्धि हुन्छ भने ‘ओभर बर्नड’ अर्थात् जलेको मानिन्छ । त्यसैगरी, तौल १५ प्रतिशतभन्दा कम वृद्धि भएको छ भने इँटा दुई नम्बर हो ।

इफ्लोरेन्स अर्थात् सेता–सेता कण इँटाको चाङमा छ भने इँटाको गुणस्तर राम्रो मानिंदैन । पूर्णतः पाकेको इँटमा त्यस्तो धब्बा आउँदैन । फ्रौग अर्थात् इँटाको माथिल्लो भागमा जहाँ इँटाको ब्रान्ड अङ्कित रहन्छ, त्यस क्षेत्रको लम्बाइ १०० एमएम, चौडाइ ४० एमएम र गहिराइ १० देखि २० एमएम हुनुपर्छ ।

सिमेन्ट ः जोडाइको लागि ओपिसी र ढलानको लागि पिपिसी सिमेन्ट प्रयोग गरिन्छ । सिमेन्टको उत्पादन मिति अनिवार्यरूपमा हेर्नुपर्छ । सिमेन्ट उत्पादन भएको मितिदेखि जतिसक्दो कम समयको अर्थात् ताजा सिमेन्ट प्रयोग गर्नु उत्तम हुन्छ । सिमेन्टको रङ्ग स्लेटी र हल्का हरियो हुनुपर्छ । सिमेन्टको गुणस्तर निम्न विधिद्वारा जाँच गर्न सकिन्छ–

रबिङ : औंलोले मिच्दा चिल्लोपन भएको सिमेन्ट राम्रो मानिन्छ । यदि खस्रोपन छ भने सिमेन्टको गुणस्तर राम्रो मानिंदैन ।

हेन्ड इन्सलेशन : सिमेन्ट गरम हुन्छ भन्ने आम मानसिकता पाइन्छ । तर त्यसो होइन । बोरा खोलेर सिमेन्टभित्र हात पसाउने, केहीबेरपछि यदि हातमा ठन्डापन महसूस हुन्छ भने सिमेन्टको गुणस्तर राम्रो छ । त्यसैगरी, हातमा तातोपन महसूस हुन्छ भने सिमेन्टको गुणस्तर राम्रो मानिंदैन ।

फ्लोट टेस्ट : भाँडोमा पानी हाल्ने । पानी माथि अलिकति सिमेन्ट छर्ने । यसो गर्दा यदि सिमेन्ट पानीमा तैरिन थाल्यो भने सिमेन्ट गुणस्तरहीन छ । गुणस्तरीय सिमेन्ट बिस्तारै भाँडोको सतहमा बस्छ ।

स्मेल टेस्ट : अलिकति सिमेन्ट र पानी मिश्रण गरी पेस्ट बनाउने । सँुघ्दा माटोको जस्तो गन्ध महसूस हुन्छ भने सिमेन्टमा माटोको मात्रा बढी छ । सिमेन्ट उत्पादन गर्दा मापदण्डभन्दा माटोको अनुपात बढी प्रयोग भएको मानिन्छ । त्यस्तो सिमेन्ट गुणस्तरीय मानिंदैन ।

लम्पस : सिमेन्टको बोरामा यदि ढिका/गाँठ परेको छ भने त्यस्तो सिमेन्टलाई गुणस्तरीय मानिंदैन ।

शेप टेस्ट : सय ग्राम सिमेन्टमा तीन सय ग्राम बालुवा मिसाइ पानीको सहायताले जोडाइको मसाला तयार गर्ने । सानो इँटा जस्तो आकार प्रदान गर्ने । आधा घण्टापछि कुनै पनि भाँडोमा पानीमा डुब्ने गरी बिस्तारै राख्ने । पानी भित्र राखेको केहीबेरपछि यदि सिमेन्टको ढिक्का गलिरहेको छ भने सिमेन्ट गुणस्तरहीन छ ।

कम्प्रेशन : अर्थात् सङ्कुचन जाँच इँटा र सिमेन्ट दुवैमा हुन्छ । तर कम्पे्रशन जाँच प्रयोगशालाबाहेक अन्यत्र सम्भव छैन ।

गिट्टी : कलम, बिम्ब र छतको ढलानमा फोडेको अर्थात् क्रसरको गिट्टी प्रयोग गर्नु प्राविधिक हिसाबले उत्तम मानिन्छ । सोको मिश्रण अनुपात १ (सिमेन्ट):१.५ (बालुवा):३ (गिट्टी) छ भने २० एमएमको गिट्टी प्रयोग गर्नुपर्छ । त्यसैगरी, मिश्रण अनुपात यदि १(सिमेन्ट):२ (बालुवा):४ (गिट्टी) छ भने १२.५ देखि ४० एमएमसम्मको मिश्रित गिट्टी प्रयोग गर्नुपर्छ । त्यस्तै, मिश्रण अनुपात यदि १ (सिमेन्ट):३ (बालुवा):६ (गिट्टी) छ भने २० देखि ६० एमएमसम्मको मिश्रित गिट्टी प्रयोग गर्नुपर्छ ।

बोल्डर : छ इन्चभन्दा माथिको बोल्डर प्रयोग गर्नुपर्छ । बोल्डरको आकारएक समान भएको राम्रो हुन्छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here