परिश्रम र व्यायाम

0
  • डा शिवशङ्कर यादव

परिश्रम शरीरद्वारा गरिएको त्यो कार्य हो, जसमा शरीरको ऊर्जा खपत गरी रोजीरोटी कमाइन्छ  । यस लेखको उद्देश्य परिश्रमको होइन व्यायामको बारेमा मात्र बताउनु हो ।

व्यायाम पनि परिश्रम नै हो तर यो नियोजित, नित्य र निरन्तर तथा विधिपूर्वक गर्ने शरीरको त्यो गतिविधि हो, जसले शरीरलाई स्वस्थ, मजबूत र सुगठित तथा कार्यशील बनाइराख्न र अनुकूलित गर्न जरुरी हुन्छ, जसमा ऊर्जाको खपत हुन्छ ।

यो त भन्नु परोइन कि व्यायाम शरीरको लागि कति जरुरी छ ? प्रायः सबैलाई यसबारे पहिले पनि र अहिले पनि थाहा थियो र छ । तर व्यायाम दिनभरि मजदूरी आदि शारीरिक परिश्रम गर्नेहरूलाई होइन, शारीरिक परिश्रम नगर्नेहरूलाई अति आवश्यक हुन्छ । मजदूरले त चाहिनेभन्दा बढी परिश्रम गरिरहेका हुन्छन्, जसलाई उचित खाना र आरामको बढी जरूरत हुन्छ । तर कार्यालयमा काम गर्ने, विद्यालयमा पढ्नेहरूलाई यसबारे जान्नु अनिवार्य छ । जसरी मेशिनलाई थन्काएर राखियो भने बेकम्मा हुन्छ, त्यस्तै निठल्लापनले शरीरलाई निकम्मा बनाइदिन्छ । मेशिनलाई चलाइराखियो भने मात्र कामलायक रहन्छ । बिग्रियो भने पार्टपुर्जा बदलिइन्छ । तर शरीर यस्तो मेशिन हो, जसको पार्टपुर्जा बदलिरहनुपर्दैन । जन्मनासाथ आएका पार्टपुर्जाले नै जीवनपर्यन्त काम गरिरहेका हुन्छन् । त्यसले आफ्नोलागि आफैं शक्ति सञ्चय गरिरहेको हुन्छ । व्यायाम त्यही शक्ति सञ्चय गराउने माध्यम हो । कसरी भने जब हामी व्यायाम गरिरहेका हुन्छौं, रगतको भेल शरीरभरि दगुर्छ र कोष–कोषबाट विजातीय पदार्थलाई बगाएर मात्र लग्दैन, प्राण वायु आक्सिजन पनि भर्दै जान्छ । त्यहाँ एक पन्थ दुई काज हुन्छ । विजातीय तŒव मिल्काएर र आक्सिजन पाएर कोषले पुनर्ताजगी पाउँछ तथा फेरि काम गर्न अधिक सक्षम हुन्छ । व्यायाम गर्दा ऊर्जा खपत हुन्छ र केहीबेरपछि झन् बढी शक्ति फर्केर आउँछ । त्यो  कसरी भने त्यसको प्रक्रिया सम्झनु आवश्यक छ । त्यसभन्दा पहिले थरीथरीका व्यायामको वर्गीकरण जरुरी छ ।

व्यायामको शास्त्रीय वर्गीकरण भन्दा म आफूले गरेको वर्गीकरण बताउने अनुमति चाहन्छु । मेरो वर्गीकरणमा निम्नलिखित चार प्रकारका व्यायाम छन्ः

१. विशुद्ध स्वास्थ्यवर्धक व्यायाम : वाकिङ, योग र नृत्य २. सेलिब्रिटी व्यायाम : क्रिकेट, हकी, बैडमिन्टन, फूटवल आदि ३. मानसिक र मनोरञ्जक व्यायाम : शतरंज, तास, लुडो र साँपसिढी आदि ४. पीडक व्यायाम : रेस्लिङ, बक्सिङ, पहलमानी आदि ।

यसमा मेरो विचारमा नृत्य सर्वोत्तम व्यायाम हो, जसमा व्यायाम, योग र ध्यान तीनवटै तŒव समाहित छन् । तर यो सबैको वशको कुरा होइन । वाकिङ दुई प्रकारको हुन्छ । ब्रिस्क वाकिङ र स्लो वाकिङ । जवानको लागि ब्रिस्क वाकिङ र बूढोको लागि स्लो वाकिङ गर्नु ठीक हुन्छ । यो जीवनपर्यन्त गर्न सकिन्छ । ध्यान यो राख्नुपर्छ कि वाक चाहे ब्रिस्क होस् वा स्लो सात हजार पाइला वा आधा घण्टाभन्दा कम हुनुहुँदैन । यस सम्बन्धमा मान्छेमा केही भ्रम यो देखिन्छ कि घुम्नु भनेको बिहान मात्र गर्ने हो । बिहान अवश्य उचित समय हो तर बेलुका घुमे पनि त्यत्तिकै फाइदा गर्छ । यहाँसम्म कि जाडोमा दिउँसो पनि मन लाग्यो भने समानरूपले फाइदामन्द हुन्छ । बिहान केवल मौसमको तापक्रम मात्र सुहाना हुन्छ । रूखको पातको मुख सुर्योदय पछि खुल्ने हुनाले आक्सिजन दिन शुरू गर्छ र दिनभरि कायम रहन्छ । यससँग योग मिलाइदिइयो भने सुनमा सुगन्ध हुन्छ । पतञ्जलिको योगमा अष्टाङ्ग छ, जसमा योगासन त मात्र एउटा अङ्ग हो । त्यो एउटा अङ्ग पनि कम महŒवपूर्ण छैन । खाली योगासनको प्रयोग पनि राम्रो छ ।

योगासनको सबैभन्दा बढी फाइदा यो छ कि यसले शरीरका सबै अङ्गमा लचिलोपन बनाइराख्छ । यो लचिलोपन नै हो, जसले शरीर शीघ्र बूढो हुन दिंदैन । लचिलोपन हरायो कि बुढ्यौली आयो ।

क्रिकेट, बैडमिन्टन, हकी आदिलाई म सेलिब्रिटी व्यायाम भन्छु । यी नाम र दाम कमाउने बजारवादका  बिकाउ माल हुन् । त्यसैले म यसलाई व्यायामको रूपमा मान्यता त दिन चाहन्छु तर बढी महŒव दिन चाहन्नँ । यसलाई जीवनभरि निर्वाह गर्न सकिंदैन । यसै क्रममा ओलम्पिक खेलको पनि केही वर्णन गरिहालौं किनभने त्योभन्दा सेलिब्रेशन कहींकतै छैन । जसरी हामीमा देवहरूको पनि देव देवाधिदेव महादेव हुन्, त्यसरी नै ग्रीकहरूको देवाधिदेव जियस हुन् । जसरी शिव कैलाश पर्वतमा बस्छन्, त्यस्तै ग्रीसमा जियस माउन्ट ओलिम्पसमा बस्छन् । जसरी कैलाश पर्वत छ र कैलाशपुरी गाउँ र कैलाश मान्छेको पनि नाम हुन्छ । कैलाश सत्यार्थीले त नोबेल पुरस्कार पनि जितेका छन् । त्यस्तै, ग्रीसको ओलिम्पस पहाडको नाउँमा ओलम्पिया भन्ने गाउँ थियो । हामीले कुनै धार्मिक मेलाको आयोजना गर्छौं, जसरी गढीमाईको मेला । त्यस्तै, ओलम्पियामा प्रत्येक चार वर्षमा जियसको सम्मानमा उत्सव हुन्थ्यो र मेला लाग्थ्यो । जसरी हामीले मेलामा ठाउँठाउँका पहलवान् बोलाएर मलयुद्धको प्रतिस्पर्धा गराउँछौं, त्यसरी नै ओलम्पियाको उत्सवको बेलामा ठाउँठाउँबाट धावक बोलाएर प्रतिस्पर्धा गराइन्थ्यो, जसमा धावक नाङ्गो पनि दौड लगाउँथे । यो क्रम ७७६ बिसीदेखि शुरू भयो र ३९३ एडीसम्म चल्यो । बीचमा १५०३ वर्षसम्म यो लोप भयो, जसरी हामीमा लछुमनवा र पिपराको मेला हराएका छन् । तर एक फ्रेन्च बेरोन ग्लेरी कोवर्टनले सन् १८९४ मा त्यसलाई फेरि आयोजना गर्ने सुझाव दिए । परिणामस्वरूप सन् १८९६ देखि ओलम्पिकको आयोजना हुन थाल्यो । धार्मिकता हराएर अब ओलम्पिक विशुद्ध खेलको रूपमा मात्र उदाएको छ । ओलम्पिया गाउँको सम्मानमा आज त्यो ओलम्पिकको रूपमा हाम्रोसामु छ । यसमा पहिले महिलाहरूको कुनै स्थान थिएन । पुरुष र महिला समानताको मागले सन् १९०० देखि फ्रान्समा पहिलोचोटि महिलाहरूले पनि भाग लिन पाए । ओलम्पिक टर्च त यता आएर बर्लिन ओलम्पिकमा मात्र शुरू भयो, जसलाई विभिन्न देशमा घुमाउने गरिन्छ । पश्चिमाहरूको खुबी यही छ कि उनीहरू आफ्नो सानो परम्परालाई पनि व्यावसायिक र विश्वप्रसिद्ध बनाइदिन्छन् तथा सेलिब्रेट गर्छन् । पैसाको अद्भुत बजार बनाउन उनीहरू माहिर छन् । केवल धावकको रूपमा शुरू भएको ओलम्पिकमा आज क्रिकेटबाहेक प्रायः सबै खेल समाहित छन् । पूर्वमा विकसित कुनै व्यायाममा न कुनै लागत लाग्छ, न त्यसको बजार नै बनाइन्छ । त्यो विशुद्ध स्वास्थ्यवद्र्धक हुन्छ र जीवनभरि निर्वाह गर्न सकिन्छ । सेलिब्रिटी व्यायाम जीवनभरि गर्न सकिंदैन । केही व्यायाम त उल्टै स्वास्थ्यको लागि हानिकारक समेत हुन्छन् । जिममा कडा व्यायाम गर्ने कतिपय व्यक्तिको ह्दयाघात भएर मृत्युसमेत भएको छ । पहलवानीमा गर्धनको पछाडि थप्पड मार्दा मार्दा सर्भाइकल नर्भ नै भोथो भएर जान्छ । भनिन्छ कि किड्ढाङले दिनहँु ४० वटा अन्डा खान्थे । यो पनि कुनै जीवनरक्षक व्यायाम भयो ? रेस्लिङ र बक्सिड्ढो के कुरा गर्नु ? त्यसमा मान्छेको मृत्युसमेत हुन्छ । हाम्रोमा पनि पहिलेका राजाहरूका रङ्गशालामा घुडसवारहरू भाला वा तलबारको खेलमा मर्ने गर्थे र राजाहरू त्यस्तो मृत्युमा पनि मनोरञ्जन लिन्थे । त्यस्तो खेल निकृष्ट र अस्वस्थकर मात्र होइन, प्रतिबन्ध लगाउनेसमेत कोटिमा पर्छन् ।

अब आउनुस् शास्त्रीय वर्गीकरण र विवरणमा । पहिलो प्रकार हो, डायनामिक र स्टेटिक । डायनामिकको मतलब जसमा केही वर्क हुन्छ । भार, गति र दूरी मिलाएर मात्र वर्क भएको भनिन्छ । यसमा मांसपेशीको साथै जोर्नी पनि गतिशील हुन्छ, जसरी वाकिङ जसमा दूरी तय गरिन्छ । यसमा हृदयको गति, फोर्स र पम्प गरेको रगतको मात्रा र सिस्टोलिक ब्लड प्रेसर बढ्छ तर डायस्टोलिक प्रेसर यथावत् रहन्छ वा झन घट्छ । स्टेटिकमा सबै परिवर्तन डायनामिक सरी नै हुन्छ तर डायस्टोलिक ब्लड प्रेसर पनि बढ्छ । यसमा जोर्नी घुम्दैन, जसरी पुसिङ वा
पुलिङमा ।

मेटाबोलिज्मको अनुसार पनि व्यायाम दुई प्रकारको नै हुन्छ– एरोबिक र एनेरोबिक । एरोबिकको मतलब यो हुन्छ कि यसमा ऊर्जा प्राप्त गर्नको लागि हावा अर्थात् आक्सिजन अनिवार्य चाहिन्छ । यो व्यायाम कम तीव्रतामा बढी समयसम्म गर्न सकिन्छ किनभने आक्सिजन निरन्तर प्राप्त भइरहेको हुन्छ । कलेजोको ग्लाइकोजन आक्सिजनको उपस्थितिमा खर्च हुन्छ । ग्लाइकोजन सकेपछि फ्याट आक्सिजनको उपस्थितिमा नै खर्च हुन अगाडि आउँछ । यसको प्रमाणस्वरूप वाकिङ, साइक्लिङ र स्वीमिङ आदि आउँछन् । एनेरोबिक व्यायामको मतलब व्यायामको समय र तीव्रता अधिक हुन्छ, जसरी १०० वा ४०० मिटरको दौड । यसमा शरीरलाई आक्सिजनको लागि पर्खिरहने मौका नै मिल्दैन । अतः हावाको अनुपस्थितिमा नै जे जसरी पनि ऊर्जा दिने बाध्यता हुन्छ । यस्तोमा मांसपेशीमा जति ग्लाइकोजन उपलब्ध हुन्छ, त्यही मात्र खर्च हुन्छ र मानिसले यसलाई छोटो अवधिमा नै समाप्त गर्नुपर्छ । यसमा मांसपेशीमा लैक्टिक एसिड निस्किन्छ, जुन मांसपेशीलाई थकाएर अरू बढी काम गर्न लायक रहन दिंदैन र विश्राम गर्नैपर्ने हुन्छ ।

सिभियरिटी अथवा कठोरताको अनुसार व्यायाम तीन प्रकारको हुन्छ । माइल्ड अथवा कम जसरी स्लो वाकिङ । यसमा हृदयगतिमा कम परिवर्तन हुन्छ । मोडरेट अथवा मध्यम, यसमा हृदयमा परिवर्तन त हुन्छ तर फैटिग अथवा थकान हुँदैन र बढी समयसम्म गर्न सकिन्छ, जसरी ब्रिस्क वा स्लो वाक । सिभियर वा कठोरतम, यो धेरै कम समयको लागि मात्र गर्न सकिन्छ किनभने मांसपेशी छिट्टै थाक्छ र रोकिनुपर्छ । जसरी १०० वा ४०० मिटरको दौड ।

यसरी हामी के हेर्छौं भने व्यायामको बेला केही मिनटमैं मांसपेशीको ग्लाइकोजन समाप्त हुन्छ । त्यसपछि कलेजोमा सञ्चित ग्लाइकोजन चालू हुन्छ । २० मिनटमा यो पनि समाप्त हुन्छ । त्यसपछि शरीरमा जम्मा भएको बोसोको पालो आउँछ । यो कार्बोहाइड्रेटमा बदलिएर ऊर्जा दिन मांसपेशीमा पुग्छ । अतः के देखियो भने फैट घटाउन २५ मिनटभन्दा बढी व्यायाम चाहिन्छ । यस कारण वाकिङ एक घण्टा वा आधा घण्टाभन्दा कम नगर्ने सल्लाह दिइन्छ । फैट जलाउनु छैन भने कम व्यायाम गरे पनि हुन्छ तर यही याद राख्नोस् कि सबैभन्दा उत्तम व्यायाम घुम्नु वा योग नै हो जो सबै उमेरमा गर्न सकिन्छ ।

व्यायामको बेला हर्ट रेट ७२ बाट बढेर २६० प्रतिमिनेटसम्म पुग्छ । साधारणतः मांसपेशीमा रक्तसञ्चार तीन वा चार मिलिलिटर प्रतिमिनेट हुन्छ । व्यायामको बेला यो प्रतिमिनेट १२० मिलीसम्म पुग्छ । यसैले कल्पना गर्न सकिन्छ कि व्यायाम कति महŒवपूर्ण र आवश्यक हुन्छ । बिहान घुम्नु र योग गर्नु यी दुईबाहेक अरूको लोभ गर्नु समयको बर्बादी हो । तर यी दुईले तपाईंलाई स्वस्थ मात्र राख्छ । प्रतियोगिता जित्नु छ वा पहलवान् बन्नु छ भने यी दुईसँग सङ्गत नगरेको बेस ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here