द्रोण पर्व–८१

0
  • उमाशङ्कर द्विवेदी

दुर्योधनद्वारा पाण्डवसेनाहरूलाई नष्ट भइरहेको हेरेर पाञ्चालवीर भीमसेनलाई अगि राखेर उनीहरूमाथि जाइलागे । उनीहरूले भीमसेनलाई १०, नकुल–सहदेवलाई तीन/तीन, विराट र दु्रपदलाई छ/छ, शिखण्डीलाई एक सय, धृष्टद्युम्नलाइ सत्तरी, युधिष्ठिरलाई सात र केकय र चेदि देशका योद्धाहरूलाई अनेकौं तीक्ष्ण बाणबाट पीडित पारिहाले । फेरि सात्यकिलाई पाँच, द्रौपदीका पुत्रहरूलाई तीन/तीन र धेरैजसो बाण हानेर घटोत्कचलाई पीडित पारेर ठूलो स्वरमा सिंहनाद गरे । यसबाहेक पनि सयकडौं योद्धा र हात्तीहरूलाई काटेर लडाए । पाण्डवसेना युद्धभूमिबाट भाग्न थाल्यो । यो हेरेर राजा युधिष्ठिर क्रोधित भई तपाईंका पुत्रहरूलाई मार्ने इच्छाले उनीहरूतिर बढे । दुर्योधनले तीनवटा बाण हानेर धर्मराजको सारथिलाई घाइते पारेर एउटा बाणबाट उनको धनुषलाई काटिदिए । अनि युधिष्ठिरले अर्को धनुष लिई दुईटा भल्ल (एक किसिमको बाण) हानेर दुर्योधनको धनुषको पनि तीन टुक्रा पारिदिए । अनि दशवटा तीक्ष्ण बाण हानेर दुर्योधनलाई पीडित पारे । युधिष्ठिरले हानेका तीक्ष्ण बाणहरू दुर्योधनका मर्मस्थानहरूभित्र छिर्दै पृथ्वीमा पसे । तदन्तर धर्मराजले दुर्योधनमाथि एउटा अर्को पनि भयङ्कर बाण हाने, त्यसको चोटले दुर्योधन मूर्छित भई त्यहीं रथमाथि नै लडे । अलिकबेरमा होश खुलेपछि दुर्योधनले पुनः एउटा सुदृढ धनुष हातमा लिए । यत्तिकैमा विजयाभिलाषी पाञ्चाल वीरहरू तुरुन्तै दुर्योधनको छेउमा आइपुगे । उनीहरूलाई आइरहेको हेरेर आचार्य द्रोणले दुर्योधनको रक्षा गर्नको लागि उनीहरूलाई बीचमैं रोके । अनि त तपाईंको र पाण्डवहरूको सेना बीच महान् संग्राम हुन थाल्यो ।

त्यति बेला अर्जुन, सात्यकि, युधिष्ठिर, भीमसेन, नकुल, सहदेव, सेनासहित धृष्टद्युम्न, राजा विराट, केकय, मत्स्य, शाल्व तथा राजा दु्रपदले पनि आचार्य द्रोणमाथि धावा गरे । द्रौपदीका पाँच पुत्र र राक्षस घटोत्कच पनि आफ्नो सेना लिएर उनीतर्फ बढे । प्रहार गर्न कुशल छ हजार पाञ्चालहरू तथा प्रभद्रकहरू पनि शिखण्डीलाई अगि पारेर द्रोणमाथि आक्रमण गरे । यस प्रकार पाण्डव पक्षका अन्य महारथीहरू पनि एकै साथ द्रोणाचार्यतिर बढे । जतिबेला ती शूरवीरहरू युद्ध गर्नको लागि पुगे, त्यति बेला भयङ्कर रात्रि आरम्भ भइसकेको थियो । त्यति बेला द्रोणाचार्य र सृञ्जयवीरहरूबीच अत्यन्त भयङ्कर युद्ध थालियो । सम्पूर्ण संसारमा अँध्यारो थियो, कतै पनि केही देखिइरहेको थिएन । आफ्नो र पराइमा कुनै पहिचान भइरहेको थिएन । त्यस प्रदोषकालमा सबैजना उन्मत्तझैं भइरहेका थिए । रणभूमिको धूलो रगतमा मुछिएर ठोस भइसकेको थियो । रात्रिकालीन त्यस घोर युद्धमा पाण्डव र सृञ्जयहरू क्रोधित भएर एक साथ नै आचार्य द्रोणमाथि जाइलागे, तर आचार्यको सामु जो जो वीरहरू आए, उनीहरूमध्ये कैंयनलाई त उनले यमलोक नै पठाइदिए, बाँकी सबैलाई हानेर भगाए । द्रोण एक्लैले नै हजारौं हात्ती, दश हजार रथ, लाखौं पदाति (पैदल) र अर्बौं घोडालाई काटिदिए । धृष्टद्युम्नका पुत्रहरू तथा केकयहरूलाई पनि आफ्नो शीघ्रगामी सायकहरूबाट घाइते पारेर प्रेतलोक पु¥याइदिए ।

यस प्रकार द्रोणाचार्यलाई शत्रुसेनाको संहार गरिरहेको हेरेर प्रतापी राजा शिबि अत्यन्त क्रोधित भएर उनको मुकाबिलामा आइपुगे । पाण्डवसेनाका महारथी आफूतिर आइरहेको हेरेर द्रोणाचार्यले दशवटा बाण हानेर उनलाई घाइते पारिदिए । राजा शिबिले पनि तत्काल बदला लिए, उनले तीसवटा बाण हानेर द्रोणलाई घाइते पारी एउटा भल्ल हानेर उनको सारथिलाई पनि मारिदिए । अनि द्रोणाचार्यले राजा शिबिको घोडा र सारथिलाई मारिदिए तथा राजा शिबिको मुकुटसहित उनको शिरलाई पनि काटेर खसाले । यत्तिकैमा दुर्योधनले द्रोणाचार्यको लागि अर्को सारथि पठाइदिए । अर्को सारथि आई रथको बागडोर सम्हालेपछि द्रोणले पुनः शत्रुमाथि आक्रमण थाले ।

यता कलिङ्गराजका पुत्रले आफ्नो सेनाको साथ भीमसेनमाथि आक्रमण गरे । भीमसेनले पहिला उनको बुबा कलिङ्गराजलाई मारिदिएका थिए, जसको कारण भीमसेनमाथि राजकुमारको क्रोध उर्लिएर आएको थियो । उनले भीमसेनलाई पहिले पाँचवटा बाण हानेर घाइते पारी पुनः सातवटा बाण हानी पीडित पारे । यसपछि उनको सारथि विशोकलाई पनि तीनवटा बाण हानेर मारी एउटा बाणले उनको रथको ध्वजालाई पनि काटिदिए । अनि त भीमसेनको क्रोधको सीमा नै रहेन, उनी आफ्नो रथबाट हाम्फालेर शत्रुकै रथमाथि सवार भई क्रोधले मुर्मुरिए कलिङ्गवीरमाथि बडो जोडले मुड्की हाने । पाण्डुनन्दन भीम अत्यन्त बलिया थिए, उनको मुड्कीको चोटले शत्रुको हाड छिन्नभिन्न भई छताछुल्ल भयो । उनको त्यो दुर्गतिलाई कर्ण र उनका भाइहरूले सहन गर्न सकेनन्, उनीहरूले विषधर सर्पझैं तीक्ष्ण बाणहरू हानेर भीमसेनलाई पीडित पार्न थाले । क्रमशः…

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here