मसानलाई लिएर मातृमन्दिरमा निधन

0
  • सञ्जय मित्र

बतासले जस्तै कहिलेकाहीं मान्छेको प्रवृत्ति यस्तो यायावरीय भइदिन्छ कि भुमरीजस्तै घुमफिर गर्न थाल्दछ एकै ठाउँमा तर आफैंमा गतिमान हुन्छ ।

अस्ति यस्तै संयोग परिरह्यो । २०७९ जेठको अन्तिम शनिवार (२८ गते) सात बज्न केही मिनेट बाँकी छँदै हेटौंडास्थित सोलिड्यारिटी इन्टरनेशनल स्कूलको सभाहलअगाडि उभिइसकेका थियौं । कार्यक्रम बिहान ७ बजेदेखि राखिएकोले रौतहटबाट म र साहित्यकार मित्र किशुनदयाल श्रीकृष्ण रौतहटको गरुडाबाट बिहान करीब सवा पाँच बजे निस्केका थियौं । श्रीकृष्णसित कैयौं यात्रा गरेको छु र कैयौंपटक हेटौंडा पनि पुगेको छु तर यसपटक एउटा यस्तो संयोग मान्नुपर्छ कि घरअगाडि मोटरसाइकलमा बसेर एकैपटक हेटौंडाको कार्यक्रमस्थलसम्म एकपटक पनि नरोकी पुगेका
थियौं ।

नवसर्जक साहित्य चौतारी नेपालको प्रथम राष्ट्रिय बालसाहित्य उत्सव थियो । सातै प्रदेशबाट सहभागीहरू गराइएका थिए । सातै प्रदेशमा चौतारीका प्रदेश समितिहरू गठन गरिएका छन् । सबै प्रदेश संयोजक तथा संरक्षकहरू बोलाइएका थिए । म पनि मधेस प्रदेश संरक्षक हुँ । प्रदेश संयोजक रुबी गुप्ता र अर्का बालप्रतिभा अभिजित राम एक दिनअगाडि आइपुगेका थिए ।

संस्थाका परिकल्पनाकार वा मुख्य आयोजक दीपक गौतम आइपुगेका थिनन् । कार्यक्रम आयोजना हुने हलभित्र पसेर हेर्दा आगन्तुकमा पहिलो हुन गएको पायौं । आयोजकले केही मानिसलाई हलको व्यवस्थापन गर्न लगाएका थिए । एउटा विद्यालयको दृष्टिकोणले हेर्ने हो भने यो एउटा भव्य हल हो । यस हलमा मेरो पहिलो प्रवेश हो । एकैछिनमा दीपक गौतम आइपुग्छन् र दुवै हात जोडेर अभिवादन आदानप्रदान गर्दै म भन्छु– स्वागत छ कार्यक्रममा । एक बान्की हाँसो फिFजिन्छ वातावरणमा ।

मलाई लाग्छ, हेटौंडा मेरो माइती हो । म त्यहाँ जन्मेको भने होइन । मेरा मातापिताको पनि साइनो हेटौंडासित छैन । आफ्नो युवावयको ऊर्जावान् १२ वर्ष हेटौंडामा बिताएको छु । यस अवधिलाई एउटा युग नै मान्न सकिन्छ । एक युगमा अन्य क्षेत्रका साथी निकै कम छन् तर साहित्यको सेवामा लागेका धेरै साथी कमाएको छु । पत्रकारिता क्षेत्रका कतिपय मानिसलाई चिनेको छु । शिक्षा क्षेत्रका केही विशिष्ट मानिसले पनि चिन्न पाएका छन् । यसको कारण यही हो कि हेटौंडामा म जति वर्ष बसें, सक्रिय भएर बसें । शिक्षा, साहित्य र पत्रकारितामा निरन्तर सक्रिय रहें । यसै कारण कहिलेकाहीं भन्छु– हेटौंडाको शिक्षा, साहित्य र पत्रकारिताको विकासमा मेरो पनि योगदान छ ।

हेटौंडा छोडेको एक युग नाघिसकेको छ तर हेटौंडाको माया भने उत्तिकै लागिरहन्छ । म हेटFैंडासित निरन्तर जोडिएको छु । यही भएर पनि होला, हेटौंडा पुगिरहन्छु । हेटौंडाका साहित्यिक कार्यक्रमहरू र विशेषगरी विशिष्ट साहित्यिक कार्यक्रमहरूमा पुगिरहेको हुन्छु । हेटौंडाबाट पत्रकार गिरिजा अधिकारीको अनलाइन तुखबरडटकममा मैले एउटा स्तम्भ नै शुरू गरेको छु– मकवानपुरको महक । यस स्तम्भमा मकवानपुरको साहित्यिक सुगन्धको चर्चा गर्ने गरेको छु ।

र अहिले पनि साहित्यिक कार्यक्रममैं आएको छु । बालसाहित्यको क्षेत्रमा यस किसिमको यो पहिलो प्रयास हो । मनमा उत्साह छ र एउटा कस्तो हो कुन्नि अलग्गै किसिमको अपेक्षा पनि । यो अपेक्षा मेरो आफैंसित छ । कार्यक्रम जति सफल हुन सक्यो, उत्ति खुशी हुन पाउने अपेक्षा । लागिरहेको छ म आयोजक हुँ । आयोजक नभएर पनि आयोजक हुँ । यस कारण उत्साहित पनि छु । उत्साहले मनलाई फुरुङ्ग तुल्याएको छ । रुईजस्तो हलुङ्गो भएको छ मन किनभने समयमैं आइपुगेको छु, सकुशल ।

कार्यक्रमको लागि व्यवस्थापन भइरहेको छ । मेरा पुराना दाजु सुमन झापालीलाई फोन गर्छु –

दाजु नमस्कार, कहाँ हुनुहुन्छ ?

भाइ नमस्कार, भन कहाँ आऊँ ?

अहिले सोलिड्यारिटी स्कूलमा छु ।

ल, अहिले म पाँच मिनेटमा आइपुगें ।

नभन्दै बाहिर निस्कन नपाउँदै आइपुग्छन् सुमन दाइ । हामी निकै मिल्छौं । जिएस निकेतन खुलेपछि हेटौंडामा सँगै पढाउन शुरू गरेदेखि हाम्रो सङ्गत छ । हामी बाहिर निस्कन्छौं चिया खान । त्यहाँ बस्दा नबस्दै धेरैजना साहित्यकार आउँछन् र पच्चीस वर्षभन्दा धेरै वर्षपछि भेट हुन्छन्, रामकुमार श्रेष्ठ । श्रेष्ठ प्याब्सन हेटौंडाका अध्यक्ष हुन् भन्ने समाचार फेसबूकबाट थाहा पाएको थिएँ । उनी गाडीमा हुन्छन् र सीसाबाट हेर्दा चिनेको छु । हातको इशाराले बोलाउँछु । गाडी छेउ गरेर आइपुग्छन् । यो मिलन अपूर्व हुन पुग्छ । साँच्चै, माइतीका आफन्त धेरै वर्षपछि भेट हुँदा मनमा कस्तो हुन्छ ? यही अनुभूति अनुहारभरि छचल्किएका छन् । थोरै व्यक्त र धेरै अव्यक्त संवादिन्छौं हामी । मैले हेटौंडामा शिक्षण शुरू गर्दाका हामी साथी जो हौं ।

गफ्ंिदै, जिस्किंदै, मस्किंदै, मुस्कुराउँदै, हाँस्दै बिस्तारै कार्यक्रमतिर लाग्छौं । कार्यक्रम शुरू हुन्छ । कार्यक्रमको आफ्नै भव्यता छ । रम्यता छ । विशिष्टता छ । कहिले कोसित त कहिले कोसित तानिएर बाहिर निस्किरहन्छु । बिहानदेखि पाँच कप चिया भइसकेको छ । अब छैटौं कपको लागि कविहरू एसके निधन तथा मसान उपासकसित निस्कनुपरेको छ । निधनलाई मन पर्ने चियापसल भुटनदेवी मन्दिरछेउमा छ । निधनको गाडीमा छजना हुइँकिन्छौं, उतैतिर । हँसाउने पाराले वा बढी मानिस भएपछि हो, अद्र्धगम्भीर पारामा निधन भन्छन्– आउनुस् ट्याक्टरमा ।

जति मीठो कविता लेख्छन् एसके निधन उत्तिकै स्वादिलो गाडी चलाउँछन् । गफ त अझ मीठो । गाडी चलाउँदै मन्दिर पुग्न थालेपछि अलिक जिस्किने किसिमले निधन भन्छन्– मसानलाई लिएर हामी मन्दिर जाँदैछौं ।

मसान उपासक कवि तथा पत्रकार हुन् भने निधन कवि तथा शिक्षक । अन्य हामी चारजना पनि साहित्यसित जोडिएका छौं । चिया खान गाडीमा पुग न पुग एक किलोमिटर जति टाढा पुग्दैछौं । मन्दिरको गेटमा रहेको चियापसलको चिया निधनलाई मन पर्छ । यसैले निधनले नै मसानलाई लिएर मन्दिरको गेटतिर निस्केका हुन् ।

मन्दिर हेटौंडामा प्रसिद्ध भुटनदेवी मन्दिर हो । मन्दिरको मुख्यद्वार हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बनाएको छ । यस मन्दिरको सम्बन्ध महाभारतसित रहेको मानिन्छ । महाभारत पर्वतको फेदीमा समथर हेटौंडाको प्रसिद्ध शक्तिपीठ हो, भुटनदेवी मन्दिर । गाडीबाट ओर्लिएपछि सोझै चियापसलमा पुग्छौं र ठाउँ रोजेर बस्छौं । कागती चियाको लागि कागती छैन । यस कारण दूध चिया नै खानुपर्ने हुन्छ । चियाको प्रतीक्षामा छौं ।

अनेक गफ चलिरहेको छ । आआफ्नै धुन छ । कहिलेकाहीं सामूहिक हाँसोले गुन्जिन्छ घर ।

मेरो मनमा भने हेटौंडा र भुटनदेवी मन्दिरको सम्बन्धबारे कुरो आउन थाल्छ । हेटौंडा शहरको नाम नै यही मन्दिरबाट रहन गएको हो । कालान्तरमा भुटनदेवी र हेटौंडा नाम बिल्कुलै फरक जस्तो लागे पनि वा कुनै मेल भएको जस्तो नलागे पनि हेटौंडाको नामकरण यही मन्दिरको नामबाट भएको हो भन्ने मनमा आइरहेको छ ।

महाभारत युद्ध हुनुभन्दा पहिले चुरे र महाभारतबीचको यो क्षेत्रमा विशाल जङ्गल थियो । भयङ्कर डरलाग्दो यस वनलाई हिडिम्ब राक्षस र हिडिम्बा राक्षसनीले गर्दा अझ डरलाग्दो भएको थियो । कालान्तरमा भीमसेनसित हिडिम्बाको बिहे हुन पुग्छ र घटोत्कच जन्मिन्छ । महाभारतका भीमसेनकी पत्नी हिडिम्बा र घटोत्कचकी आमा हिडिम्बाको ठाउँको रूपमा चिनिन थाल्छ । यही हिडिम्बा शब्दको अपभ्रंश हुँदै उच्चारण सजिलोतिर बग्ने क्रममा हिडिम्बाबाट हेटौंडा हुन गएको हो भन्ने लोकमान्यता रहेको छ ।

जुन हिडिम्बाको नामबाट हेटौंडा शहरको नाम रहन गएको हो, सोही हिडिम्बाको मन्दिरको नाम भने भुटनदेवी रहन गएको भन्ने मान्यता छ । महाभारतमा पाण्डवको विजय भएपछि स्वाभाविकरूपले हिडिम्बाको मान बढ्छ । महाभारतमा आफ्नो खसमको कुशलताको लागि दिन र रात नभनी प्रार्थना गरिरहने हिडिम्बा महाकालीकी भक्त थिइन् । महाकालीको भक्त भएको र पाण्डवको खानदानसित जोडिन पुगेको कारणले मात्र नभई घटोत्कचजस्तो पुत्रलाई जन्माएको कारणले महाकाली भक्त हिडिम्बालाई देवीकै सरह मान्यता प्राप्त भएको थियो । महाकालीसित हिडिम्बाको पूजा हुन थालेको थियो । हिडिम्बा नाममा राक्षसको गन्ध रहेकोले हिडिम्बाको नाम भुटनदेवी रहन गएको हो । जसरी बिहारको राजधानी पटनाको नामकरणको सन्दर्भ पटनदेवीसित छ, त्यसरी नै वाग्मतीको राजधानी हेटौंडाको सम्बन्ध भुटनदेवीसित छ । भुटनदेवी र पटनदेवी दुवैलाई शक्तिको रूपमा स्थानीयले गर्ने श्रद्धाले शहरको मान बढाएको छ ।

सबैले चिया सिध्याइसकेका छन् । मैले भने बडो मुश्किलले आधा कप खाएको छु । ध्यान छ मन्दिर र शहरको नामकरणतर्फ त चियाको चुस्की लिइयोस् कसरी ? कार्यक्रमको पहिलो सत्र सकिएको सूचना कार्यक्रमस्थलबाट साहित्यकार श्रीकृष्णले दिइसकेका छन् । मोटल एभोकाडोमा भेट्ने सहमति गर्दै निस्कन्छौं, चियापसलबाट । मनमा अनन्त श्रद्धा छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here