- बैधनाथ श्रमजीवी
परिवर्तन सबैलाई मन पर्ने विषय हो । नयाँप्रति जो कोही पनि आकर्षित हुन्छन् । पुरानोबाट दिक्क हुनु स्वाभाविक नै हो । कोही पनि जडतालाई मन पराउँदैनन्, बरु सबैजना गतिशीलतालाई मन पराउँछन् । मानिसहरूको यस्तो स्वभाव भए तापनि व्यवहारमा के कुरा देखिन्छ भने समाजमा जहिले पनि नवीन कुराभन्दा पुराना कुराहरूले नै आफ्नो वर्चस्व जमाएको देखिन्छ । यसतर्फ कतिपय प्रसङ्ग यस्तो पनि देखिन्छ कि नयाँ कुराहरू धारण गर्ने कर्ताहरूकै पुराना कुराहरूबाट मोहभङ्ग भइसकेको हुँदैन र उनीहरू नवचेतनावादी देखिए तापनि सारमा पुरानै कुराको धारण गर्ने व्यक्तिको रूपमा अगाडि बढिरहेका हुन्छन् ।
यतिबेला हाम्रो समाजमा हजारौं वर्ष पुराना कुराहरूले नेतृत्व गरिरहेको अवस्था जो कोहीले पनि स्पष्ट देख्न सक्छन् । जस्तो कि जातपातकै कुरा गरौं । हामी प्रत्येक दिन सुनिरहेका हुन्छौं कि आज फलानो गाउँमा सानो जातका (पानी नचल्ने) मानिसले पानी जाने धारा छोइदिएको हुनाले ठूलो झैंझगडा भयो । अथवा अमुक मन्दिरभित्र दलित जातिलाई प्रवेश गर्न रोक लगाइएको छ । पानीको पँधेरो, मूल धारा, विद्यालय, मन्दिर पाटी पौवा आदि ठाउँहरूमा दलितहरूलाई रोक लगाउनु हाम्रो समाजको लागि सामान्य कुरा हो । परम्परा नै यस्तो रहँदै आएको छ कि मानिसहरूलाई लाग्छ, मानिस भएर सबै अधिकार सम्पन्न दलित हुनै सक्दैन । किनकि उनीहरू दलित हुन् अर्थात् पानी नचल्ने जात । हाम्रो समाजको सबै संरचना त्यही अनुरूप तयार गरिएको छ । हाम्रो वर्तमान समाजलाई डो¥याउने मुख्य कुरो नै धर्म हो । हाम्रो प्रायः सबै चाडबाड, पर्व, रीतिरिवाज, जन्मदेखि मृत्युसम्मको सम्पूर्ण संस्कार धर्मबाटै निर्देशित छ । धर्मका ठूलाठूला पोथीहरूमा अलगअलग संस्कारका बारेमा लेखिएको छ । यसरी चार वर्णमा धार्मिक विभाजन गरिएको समाजमा हाम्रो धर्मले सबैभन्दा उच्च आसन ब्राह्मणलाई दिएको छ भने सबैभन्दा तुच्छ प्राणीको रूपमा शुद्रलाई बताइएको छ । धार्मिक धारणा अनुसार ब्राह्मण चोर, डाँका, शराबी, चरित्रहीन अथवा जे जस्तो नकारात्मकताले भरिभराउ भएपनि ऊ चोखो नै हुन्छ । उसको मुखबाट अमृतकै वर्षा हुन्छ तर त्यही एउटा शुद्र जति धेरै पढेलेखेको भएपनि ऊ भित्रदेखि जति धेरै सकारात्मकताले भरिएको भएपनि दण्डकै भागीदार हुन्छ । ऊ जन्मले नै कर्महीन व्यक्ति हो । उसले छोएको कसैले खान हुँदैन अर्थात् ब्राह्मण, क्षत्री र वैश्य सबैलाई शुद्रले सेवा गर्ने हो र शुद्रको एउटा ठूलो हिस्सा जो पानी नचल्ने भनिन्छ, उनीहरूलाई मार्दा (हत्या गर्दा) पनि पाप नलाग्ने सम्मको धार्मिक व्यवस्थापन समाजमा गरिएको देखिन्छ ।
हाम्रो समाजमा चेतनाको स्तरमा सबैभन्दा पछिल्लो विकसित चेतना माक्र्सवाद नै हो । समाज विकासको क्रममा संसारभरिको मानव मुक्तिसँग जोडिएको सम्पूर्ण प्रकारको विभेद समाप्त गर्ने तथा मान्छेद्वारा मानिसमाथि गरिने सबै प्रकारको शोषण, दमनको अन्त्य गर्ने दर्शन माक्र्सवादबाहेक अर्को कुनै छैन । तर हामी व्यवहारमा के देख्छौं भने आफूलाई माक्र्सवादी बताउनेहरू जसको विगत क्रान्तिकारी रहेको तर वर्तमानमा उसको जीवनशैली सम्पूर्णरूपमा अमाक्र्सवादी रहेको देखिन्छ । यस प्रकारको विरोधाभासपूर्ण व्यवहारले गर्दा माक्र्सवाद जतिसुकै वैज्ञानिक धारणा भएपनि त्यसमाथिको विश्वास आम मानिसहरूमा कमजोर बन्दै गइरहेको देखिन्छ ।
वास्तवमा एउटा कम्युनिस्ट जो अग्रगमनकारी हुनुपर्ने हो, त्यो व्यवहारमा प्रतिगमनकारी देखिन थाल्दा एउटा माक्र्सवादी जो प्रगतिशील देखिनुपर्ने हो, त्यो कहिले पार्टी कार्यालयको शिलान्यास गर्दा पण्डित राखेर घण्टौं मन्त्रोच्चारण गर्ने, भैंसी पूजा गर्ने, दशैंको टीका थाप्ने, घरमा रुद्री पाठ लगाउनेदेखि नमाज पढ्ने अर्थात् पूर्णरूपमा धार्मिकतालाई अनुसरण गरिरहेको देखिन्छ । यस्तो माउ कम्युनिस्ट हुनु र नहुनुको बीचमा कनै फरक नै हुँदैन । हो, यही कारणले नेपालको राजनीतिमा पञ्चायतकालमा जनतामाथि जे जस्तो शोषण दमन हुने गथ्र्यो, त्यो काङ्ग्रेस र कम्युनिस्ट सरकार भएको बेला पनि सुचारु नै रह्यो । भ्रष्टाचार जसको प्रखर विरोधी कम्युनिस्टहरू हुने गर्छन्, त्यो सबैभन्दा बढी कम्युनिस्ट सरकारकै पालामा हुने गरेको अनुभूति आम मानिसहरूले नगरेका होइनन् । भनिन्छ, जति पञ्चहरूले ३२ वर्षमा देशलाई लुट्न सकेनन्, त्योभन्दा बढी केही वर्षमैं कम्युनिस्टहरूले काङ्ग्रेससँग मिलेर लुटे ।
रूढिवाद तथा अन्धविश्वास केवल मानसिकता र अभ्यासको कुरा होइन । वास्तवमा जात व्यवस्था होस् वा अन्धविश्वास वा रूढिवाद यिनीहरू सबै हाम्रो सोचमा मात्रै आधारित होइन ।
हामीले सोच बदल्दैमा यी कुराहरू बदलिंदैन । किनभने यिनीहरूको सम्बन्ध हाम्रो सामाजिक संरचनासँग रहेको छ । यदि यो केवल मानसिक उपज हुँदो हो भने मनबाट जात अथवा अन्धविश्वास निकाल्ने बित्तिकै यो समाप्त भइहाल्थ्यो तर त्यसो भएको देखिंदैन ।
एउटा कम्युनिस्ट कार्यकर्ता जो माक्र्सवादी दर्शनले लैस छ ऊ किन मृत्यु संस्कारमा धार्मिकता त्याग्न सकिरहेको छैन । एउटा कम्युनिस्ट सरकार किन दलाल पूँजीपतिको हितमा निर्णय गर्छ र आम नागरिकको अहितमा नीति पास गर्छ ?
के यो केवल मानसिकताको कुरा हो ?
जात व्यवस्था होस् अथवा रूढिवाद वा अन्धविश्वास यी कुराहरू इतिहासदेखि विभिन्न शक्ति सम्बन्धको स्वार्थमा निर्माण भएका हुन्छन् । त्यसैले यिनीहरू कसैले चाहेर वा चेतनशील भएका कारण स्वतः बिलाएर जाने होइनन् । कम्युनिस्ट हो भनेर मत पनि माग्छन् तर जीतेपछि त्यही दलको सरकार बन्दा विभिन्न धार्मिक कार्यक्रममा देशको कार्यकारी जो नास्तिक व्यक्ति छ, ऊ किन संलग्न हुन पुग्छ ? जब हामी आफैं समाज विकासको कुरा गर्छौं, समृद्धिको कुरा गर्छौं तर सरकारमा भएपछि वातावरण विनाश गर्ने खोलाको बालुवा, गिट्टी, ढुङ्गा अप्राकृतिक ढङ्गले दोहन गर्ने छुट दिने नीति पनि बनाउँछौं । के यही हो माक्र्सवादी ? प्राकृतिक पर्यावरण बिगारेर देश र जनता समृद्ध हुन्छ ? हामी फगत केही कमिशनको लागि आफ्नो खुट्टामाथि आफैंले बन्चरो हान्न तयार भइराख्ने परिस्थिति भौतिकरूपमा यो देशमा विद्यमान छ कि केवल मानसिकरूपमा मात्रै ?
त्यसैले राज्यको नीति नियम, प्राथमिकता, त्यसले निर्माण गर्ने भाष्य, प्रशासनिक संरचना, आर्थिक ढाँचा आदि कुराहरूमा मूलभूतरूपमा परिवर्तन नगर्दासम्म केवल कुनै व्यक्ति, नेता वा दलले चाहँदैमा रूढिवाद, जातपात, यौन हिंसा, अन्धविश्वासलगायतका कुराहरू समाप्त भइहाल्दैन । कुनै पनि समस्याको प्रमुख स्रोत के हो त्यो पत्ता लगाएर समाप्त नगरेसम्म समस्या आइ नै रहन्छ ।