अब ईश्वर होइन इसाको पढाइ हुने ?

0
  • श्रीमन्नारायण

नेपालका कतिपय लेखक, समीक्षक र विद्वान्हरू आफ्नो धर्म, संस्कृति धितो राखी पश्चिमेली सभ्यता, संस्कृति र मान्यता नेपालीहरूको टाउकोमा लाद्ने काम गरिरहेका छन् । चिप्लो कुरा गरेर, झूटो बोलेर, तथ्यहीन एवं तर्कहीन कुरा गरेर सत्ता प्रतिष्ठानसित टाँसिरहने मानसिकताका यस्ता पात्रहरूका कारण नै नेपाल आफ्नो गौरवशाली सभ्यता र संस्कृतिको विरासतबाट विमुख हुँदै गएको छ । हालै तल्लो कक्षाका निम्ति प्रकाशनमा ल्याइएका पुस्तकमा ‘ई’ बाट ‘ईश्वर’को सट्टा ‘इसा’को उच्चारण सिकाउने काम हुनु र त्यस पुस्तकका लेखक ‘बाहुन’ हुनुलाई घोर आपत्तिजनक एवं चिन्तनीय मान्नुपर्दछ । स्वयम् विदेशको आर्थिक लोभमा परिसकेका कुपात्रहरूले नेपालको भावी पुस्तालाई नै इसाईकरणको दिशामा लग्ने प्रयास गर्नु चिन्ताजनक विषय हो । सरकारले विना कुनै सोचविचार त्यस्ता पुस्तकको प्रकाशन र वितरणमाथि रोक लगाउनुपर्छ । नेपाल सरकारको तलबभत्ता सुविधा लिएर इसाई धर्मको प्रचारमा लागेका व्यक्तिबाट नेपाल सरकारले सम्पूर्ण आर्थिक क्षतिको भरपाई गराउन लगाउनुपर्दछ । एक किसिमले यो राष्ट्रद्रोह हो ।

विश्वको एकमात्र हिन्दू राष्ट्रको पहिचान बनाएको र विश्वभरिकै एक खर्बभन्दा बढी हिन्दूहरूको आस्था एवं विश्वासको केन्द्र रहेको नेपाललाई आफ्नो पहिचान समाप्त पारी धर्मनिरपेक्ष चरित्रलाई वरण गर्न बाध्य पारिएपश्चात्का १५ वर्षमा नेपालमा इसाई मिसिनरीहरूको सक्रियतामा व्यापकता आएको छ । टोल–टोलमा चर्चहरू खुल्न थालेका छन् तथा हिजोसम्म मन्दिरका पुजारी रहेकाहरूका सन्तान अब आफूलाई फादर भन्न रुचाइरहेका छन् । नेपालका प्रायः सबैजसो राजनीतिक दलका नेताहरू विदेशी इसाई मिसिनरीबाट प्रभावित तथा आकर्षित देखिन्छन् । ८१ प्रतिशत हिन्दू, १३ प्रतिशत बौद्ध र ३ प्रतिशत किराँत धर्म मान्नेहरूमाथि बलजफ्तीपूर्वक नेपालमा धर्मनिरपेक्षताको असहज भारी लाद्ने काम भएको हो । ओमकार परिवार नेपालका इस्लाम धर्मावलम्बीहरूले पनि धर्मनिरपेक्षताको माग गरेका थिएनन् । दशकौंसम्म अन्तर्राष्ट्रिय र विदेशी गैरसरकारी संस्थाको सम्पर्कमा रहेका नेपालका राजनीतिज्ञहरूले करोडौं रुपियाँ आर्जन गरेका थिए । विदेशीहरू किन यति बढी रकम नेपालमा लगानी गरिरहेका थिए, त्यसको अनुभूति यिनलाई भएन । जनआन्दोलन–२ को सफलतापश्चात् विनाकारण धर्मनिरपेक्षता स्वीकार गर्नु यसैको परिणाम थियो ।

युरोपबाट दक्षिण अफ्रिकामा आप्रवासनका निम्ति पुगेका गोरा जातिहरूको सम्बन्धमा विश्वविख्यात दक्षिण अफ्रिकी क्रिश्चियन विशप डेसमन्ड टुटुले एकपटक सुनाएको कथाबाट पनि हाम्रो आँखा खुल्नुपर्ने हो । यसै महीनामा अमरत्व प्राप्त गरेका उनले एकपटक भनेका थिए कि गोराहरू (इसाई धर्मावलम्बीहरू) दक्षिण अफ्रिकामा प्रवेश गर्नुभन्दापूर्व त्यहाँका जग्गा–जमीन र संसाधनहरूमाथि केवल रैथाने कालाहरूको मात्रै वर्चस्व र स्वामित्व थियो तर हातमा बाइबल बोकेर हाम्रो भूमिमा शरण लिन पुगेका उनीहरूले तिम्रो र हाम्रो साझा कल्याण, उत्थान एवं आर्थिक प्रगतिको निम्ति ईश्वरसँग प्रार्थना गरौं भन्दै हामी एकै साथ मिलेर आँखा बन्द गरी प्रार्थना गर्न थाल्यौं । आँखा खुल्दा त उनीहरूको हातमा रहेको बाइबल हाम्रो हातमा आएपछि हाम्रा भूमि एवं संसाधनहरू उनीहरूको हातमा पुगिसकेको थियो । यसको अर्थ इसाईहरूले बाइबललाई साम्राज्यवादको यन्त्रको रूपमा उपयोग गर्ने गर्दछन् । दक्षिण अफ्रिकालगायत अनेकौं अफ्रिकी देशहरूले भोगेको यस्तो हबिगत नेपालले पनि भोग्नुपर्दैन के ग्यारेन्टी छ ? शायद त्यही भएर श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले इसाई पादरीलाई नेपालबाट देश निकाला गरेका थिए । नेपालमा राजतन्त्र हुँदासम्म हिन्दू धर्म–संस्कृतिमाथि प्रहार भएन । देशका राजनीतिक दलहरूले हिन्दू धर्म र राजसंस्थालाई एक अर्काको पर्याय ठानी रिस एवं प्रतिशोधले धर्मनिरपेक्षता ल्याएर ठूलै गलती गरे ।

नेपाली जनताको गरीबी, अशिक्षा र पछौटेपनको नाजायज लाभ उठाइ तिनको धर्मपरिवर्तन गराउनेहरूमाथि समयमैं कारबाही गरिएको भए नेपालमा धर्मनिरपेक्षताको घटनाले यति बढी व्याख्यता पाउने थिएन । फिलिपिन्सको युनिफिकेशन चर्चको प्रमुखबाट ‘होली वाइन’ ग्रहण गरेर आशीर्वाद थाप्ने हाम्रा देशका कतिपय नेताहरूले पनि नेपाली हिन्दूहरूको मनोबललाई कमजोर र धर्मपरिवर्तन गरेकाहरूको मनोबललाई बढाउने काम गरिरहेका छन । नेपालका इसाईहरूले पशुपतिनाथ मन्दिरको परिसरमा श्मशानघाटको निम्ति जग्गाको हकदाबी गर्नु यसको ठूलो प्रमाण हो । आफ्नो मौलिक धर्मलाई परित्याग गरी नयाँ धर्मलाई आत्मसात् गर्नेहरूले नयाँ धर्ममा समुचित मानसम्मान र स्थान पाउन सकेका छैनन् । नेपालका इसाईहरूले त अहिलेसम्म आफ्नो नयाँ नाम पनि पाउन सकेका छैनन । यस्ता व्यक्तिहरूको अवस्था ‘हाँस न कुखुराको चाल’ जस्तो हुन जान्छ ।

नेपालमा गणतन्त्र स्थापना भएको र देश धर्मनिरपेक्ष घोषित भएको डेढ दशक बितिसकेको छ । पञ्चायती शासनको अन्त्य भएको ३२ वर्ष बितिसकेको छ । तत्कालीन राजा महेन्द्रले नयाँ मुलुकी ऐन लागू गरेको करीब ६० वर्ष भइसकेको छ । अन्तरजातीय विवाह हुन थालेको छ । तसर्थ वर्ण व्यवस्थाको बहानामा हिन्दू समाजमा जातीय उन्माद र कटुता ल्याउन खोज्नेहरू यथार्थमा इसाई मिसनरीको हातबाट बिक्री भइसकेका हुन्छन् । उनलाई यस्तो काम गर्न अ¥घाइएको हुन्छ । केही दशकअघि दक्षिण छिमेकी भारतको मध्य प्रदेशसम्मको उच्च अदालतमा आफूहरूको पनि दलितको रूपमा नै आरक्षण पाउनुपर्ने माग गर्दै मुद्दा दिएका दलित इसाईहरूको अपीलमाथि सुनुवाइ गर्दै त्यहाँका न्यायाधीशहरूले हिन्दूबाहेक अन्य धर्ममा वर्ण व्यवस्था नभएको तथा वर्ण व्यवस्थाकै बहानामा हिन्दूबाट इसाई बनेकाहरूले पुनः आफूलाई हिन्दू दलित सरहको सुविधा पाउन खोज्नु न्यायसङ्गत नहुने र आरक्षणको उद्देश्यविपरीत पनि हुने निर्णय सुनाएका थिए । नेपालमा पनि हिन्दूबाट इसाई बनेका दलित तथा आदिवासीहरूले हिन्दू हुँदाका बखत पाइरहेका सेवासुविधाबाट वञ्चित गराइनुपर्ने हो । संविधानबाट देशको शासन व्यवस्था चलिरहेको अवस्थामा कसैले आफूलाई जातीय उत्पीडनको शिकार भएको दाबी गर्नु अथवा गराइनुको पछाडि पश्चिमेली एनजिओको हात रहेको बुझ्नुपर्छ ।

स्वेच्छाले कुनै धर्म त्याग गर्नु र अर्को धर्ममा प्रवेश गर्नुलाई व्यक्तिको अधिकार मानिन्छ तर बलपूर्वक अथवा लोभ दिएर धर्मपरिवर्तन गराउने अपराधको श्रेणीमा आउँछ । नेपालमा लोभ देखाएर धर्मपरिवर्तन गराउने काम भइरहेको छ । हिन्दू धर्ममा रहेको जातिप्रथा, गरीबी, बेरोजगारीलाई बहाना बनाएर धर्मपरिवर्तन गराउने काम भइरहेको छ । नेपालमा हिन्दू अथवा बौद्ध धर्मलाई परित्याग गरेर इसाई धर्ममा प्रवेश गरेका ९९ प्रतिशतले आजसम्म आफ्नो इसाई नाम पनि पाउन सकेका छैनन् ।

पहाडका गाउँ–गाउँमा र टोल–टोलमा चर्चहरूको स्थापना हुन थालेका छन् । कतिपयले आफ्नो घरलाई नै चर्च बनाएका छन् । मकवानपुरको एउटा पिछडिएको गाउँका बासिन्दा, जो आफूलाई एउटा शिव मन्दिरको पुजारी पनि बताइरहेका थिए, ले दुःखेसो प्रकट गर्दै गाउँका सबै व्यक्ति इसाई भइसकेको बताए । तसर्थ उनको निधनपश्चात् शिव मन्दिरमा पूजा गर्ने कोही हुनेछैन ।

नेपाल जस्तो ९५ प्रतिशतभन्दा बढी ओमकार परिवारका सदस्य भएको देशमा जनमत सङ्ग्रहविना देशलाई धर्मनिरपेक्ष घोषित गर्नुहुँदैन्थ्यो । आज युरोपेली राष्ट्रका व्यक्तिहरू शान्तिको खोजी गर्दै सनातन धर्ममा प्रवेश गरिरहेका छन् । ध्यान, भक्ति, साधना र योगमार्फत शान्तिको अनुभूति गरिरहेका छन् तर दुर्भाग्य हाम्रो देशमा सनातन धर्म संस्कृतिप्रति वितृष्णा जगाउने काम भइरहेको छ । अमेरिकी राष्ट्रपतिलाई बाइबल छोएर शपथ खाने छुट छ, डेनमार्क, स्वीडेन र नर्वेलगायतका मुलुकमा राजतन्त्रलाई लुभरन चर्चसित सम्बन्ध राख्ने छुट छ । बेलायतकी महारानी पनि चर्चकी प्रमुख बन्न शोभा दिन्छ तर नेपालका राजनीतिज्ञहरूलाई आफ्नो धर्म–संस्कृतिमाथि गर्व गर्न लाज लगिरहेको छ ।

नेपालको संविधान २०७२ को निर्माण भइरहेका बखत सात वर्ष पुरानो गलतीलाई सच्याउने अवसर प्राप्त भएको थियो तर देशलाई पुनः हिन्दू धर्मसापेक्ष राष्ट्र घोषित गराउने वाचा गरेर चुनावमा तीन दर्जन सिट जितेको राप्रपा नेपालले त धर्मनिरपेक्ष संविधान जारी भएकोमा खुशी व्यक्त ग¥यो भने अन्यको के कुरा ? नेपाली काङ्ग्रेसका कतिपय नेताहरू पनि फुर्सदको बेलामा हिन्दू धर्मको पक्षमा उभिएका देखिन्छन् तर आफ्नो दलको घोषणापत्रमा यसबारे उल्लेख गर्न सक्दैनन् । नेपालमा धर्मपरिवर्तनको घटनामाथि रोक लगाइएन भने देश इसाईकरणको दिशामा अगाडि बढ्ने निश्चित छ । नेपालमा ‘ई’बाट ‘इसा’ त सुरुआत मात्रै हो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here