मधेस प्रदेशको बजेट झन्डै ४२ अर्ब

0

प्रस, परवानीपुर, १ असार/

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बुधवार ल्याउन लागेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आज बजेट ल्याउन लागेको हो ।

आर्थिक वर्ष २०७९/८० का लागि करीब ४२ अर्बको बजेट ल्याउन लागिएको छ । चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चालू आर्थिक वर्षभन्दा नौ अर्ब बढीको  बजेट ल्याउन लागेको प्रदेश सरकारले जनाएको छ ।

यसपटक पनि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा सबैभन्दा बढी बजेट छुट्याउने भएको छ । अघिल्लोपटक प्रदेश सरकारले शुरू गरेका आयोजनाका लागि बजेट छुट्याउँदा मात्रै पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयको बजेट ठूलो हुने भएको छ । सङ्घीय सरकारले कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । मधेस प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई नै प्राथमिकता दिएर बजेट निर्माण गरेको अर्थमन्त्री शैलेन्द्र साहले बताए ।

यसअघि नै सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिंदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरिसकेको छ । कृषि क्षेत्रको बढ्दो व्यापार घाटालाई लक्षित गरी कृषि तथा पशुपक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बीउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरूसँग जोड्न नमूना कार्यक्रमको सुरुआत गरिने बताइएको छ ।

यस्तै, रासायनिक मलमाथिको परनिर्भरता कम गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, दीर्घकालीनरूपमा माटो सुधार र प्राङ्गारिक खेती प्रवर्धन गर्ने, पशुपक्षी, मत्स्यपालन र तरकारीलगायतका बाली उत्पादन प्रवर्धन कार्यक्रमलाई प्राथमिकता दिने, बाली र पशुपक्षीको बजारीकरणमा सहकारी, निजी तथा अन्तरसरकार समन्वय, सहयोग र सहकार्य गरिने बताइएको छ ।

हरेक वडामा टोल क्लिनिक र गाउँपालिकाका सामुदायिक विद्यालयमा एउटा शिक्षकको व्यवस्थालगायतका योजना बजेटमा समावेश गरिएको छ । उनले विकास निर्माणका योजनाहरू मन्त्रालयमा पहुँचको आधारमा वितरण गरिने भएकाले आगामी बजेटमा त्यसलाई निरुत्साहित गरिएको समेत जानकारी दिए ।

प्रत्येक जिल्लामा नमूना माध्यमिक विद्यालय निर्माण गर्नुका साथै दलित विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न उनीहरूको अभिभावकको खातामा केही रकम पठाउने योजनासमेत समावेश गरिएको छ । प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा एकजना एमबिबिएस चिकित्सक राखेर वृद्धवृद्धाका लागि घरदैलो सेवा सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ ।

प्रदेशको आर्थिक गतिविधिलाई चलायमान बनाउने हिसाबले बजेट ल्याउन लागिएको अर्थमन्त्री साहले जानकारी दिए । विषम परिस्थितिले अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउनुपर्ने मन्त्री साहको भनाइ छ । मुलुकको पन्ध्रौं आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्य, राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनतासमक्ष गरिएका प्रतिबद्धतालाई पूरा गर्नेतर्फ बजेट लक्षित हुने उनले स्पष्ट गरे । प्रदेश सरकारबाट विगतका वर्षहरूमा अघि सारेका महŒवाकाङ्क्षी प्रादेशिक योजना तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने गरी बजेट केन्द्रित हुने उनले जानकारी दिए ।

मन्त्री साहले शिक्षा, कृषिको बजारीकरण, भूउपयोग नीति, दुग्ध उत्पादनमा वृद्धि, भूमिको अभिलेख व्यवस्थापन, सिंचाइ सुविधा, उद्योगको स्थापना, प्रवर्धन र विकास जस्ता कुरालाई बजेटमा प्राथमिकता दिइएको बताए ।

त्यसैगरी, प्रदेशको मौलिक संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकास, आवासविहीनलाई आवासको व्यवस्था गर्ने गरी बजेट ल्याउन लागिएको उनले जानकारी दिए । यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको थियो ।  त्यस्तै, मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो । आर्थिक वर्ष २०७६/७७ मा भने ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here