विश्व रक्तदाता दिवसमा रक्तदान उत्प्रेरणा कार्यक्रम

0

प्रस, वीरगंज, ३१ जेठ/

विश्व रक्तदाता दिवसको अवसरमा पर्सा जिल्लाका तीनवटा स्थानमा रक्तदान तथा दुई स्थानमा उत्प्रेरणा कार्यक्रम भएको छ ।

दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएशन पर्साले आयोजना गरेको सम्मान कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष एवं प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले गरेका थिए । उनले रगत मानिसमा खेर जाने वस्तु भएकोले यसको उपयोग गर्नुपर्ने बताए । रक्तदान १८ देखि ६० वर्ष उमेर समूहका स्वस्थ मानिसले गर्न सक्ने बताउँदै दिएको रगतको परिपूर्ति तीन महीनाभित्र हुने र खेर जाने रगतलाई उपयोग गर्नुपर्ने सुझाव दिए ।

उनले रक्तदान शब्दले रक्तदाताहरूमा दम्भ सिर्जना हुने हुनाले यसलाई रक्तदान भन्नुभन्दा पनि रक्त दिएको अनुभूति गराउनु असल हुने सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले आफूले पनि ४९ पटक रक्तदान गरेको र रक्तदान गरेर जीवन बचाउन सकिने हुनाले यो अभियानमा सबैको सक्रिय सहभागिता हुनुपर्ने सुझाव दिए । पर्सामा रक्तदाताहरूको सक्रियताप्रति उनले खुशी व्यक्त गर्दै यो कार्यलाई उनले निरन्तरता दिन आग्रह गरे ।

वीरगंज–४ का अध्यक्ष जगत साह कानूले आफू यातायात व्यवसायीसमेत भएकोले रगतबारे बढी अनुभवी भएको बताए । उनले दुर्घटनामा रगतको आवश्यकता आफूले महसूस गरेको भन्दै यो कार्यमा आफ्नो सक्दो सहयोग रहँदै आएको र रहने प्रतिबद्धता जाहेर गरे ।

सबै व्यक्तिको सहयोगमा रगतको अभाव पर्सा जिल्लामा नदेखिएको र यो अवस्थालाई विद्यमान राख्न उनले सुझाव दिए ।

ब्लड डोनर्स एशोसिएशन, पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी जयप्रकाश थारूलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

दिवसको अवसरमा सयपटकभन्दा बढी रक्तदान गर्ने संस्था, आकस्मिक रक्तदान गर्ने युवा र एशोसिएशनलाई सहयोग गर्ने संस्थालाई कार्यक्रमका प्रमुख अतिथि शर्मा, अध्यक्ष नेपाल, पत्रकार महासङ्घ, पर्साका अध्यक्ष तिवारी, वडाध्यक्ष कानूलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा वीरगंज क्षेत्रबाट १०२ पटक रक्तदान दिएर कीर्तिमान कायम गर्ने योगेश खनाललाई अबीर–माला, दोसल्ला र सम्मानपत्रसहित कार्यक्रमका प्रमुख अतिथि शर्मालगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा राजन श्रीवास्तवले स्वागत र अरविन्द सिंहले सहजीकरण गरेका थिए ।

यसैगरी, दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, धोरे उपशाखाले रक्तदान उत्प्रेरणा कार्यक्रम गरेको छ ।

धोरे उपशाखाका उपसभापति त्रिलोकी द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेलले रक्तदाताहरूलाई आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले गापाले निश्शुल्क रगत उपलब्ध गराउने बताएसँगै विभिन्न संस्थाले गर्ने रक्तदान कार्यक्रममा हातेमालो गर्ने र रक्तसञ्चार केन्द्रको भवन निर्माणमा गापाले सक्दो आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

उत्प्रेरणा कार्यक्रमको सहजीकरण रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले गरेका थिए ।

कार्यक्रममा वडाध्यक्षहरू विनोद मेहता, सञ्जय चौहान, ढेरी यादव, रेडक्रस पर्साका मन्त्री शैलेन्द्रकुमार चौरसिया, कोषाध्यक्ष महन्तप्रसाद यादवलगायतले उत्प्रेरणा कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, दिवसको अवसरमा विश्रामपुर उपशाखाले पनि रक्तदान उत्प्रेरणा कार्यक्रम गरेको थियो ।

उपशाखाका सभापति हासिम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रेडक्रस पर्साका कोषाध्यक्ष महन्तप्रसाद यादव, अतिथिहरू वीरेन्द्र यादवलगायतको सहभागिता थियो । यो कार्यक्रममा पनि केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेले सहजीकरण र शिवनाथ यादवले सञ्चालन गरेका थिए ।

रक्तदान कार्यक्रम

विश्व रक्तदाता दिवसको अवसरमा पर्सा जिल्लाका तीन स्थानमा रक्तदान कार्यक्रम भएका थिए ।

विन्ध्यवासिनी गाउँपालिकाको मधवल, नारायणी वयोधा अस्पताल र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

नारायणी वयोधा अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा  सुभाष कुशवाहा, नौशाद आलम, श्याम चौधरी, कविता चौधरी, राधेश्याम यादव, विश्वनाथ कण्ठलगायतले रक्तदान गरेका थिए । कार्यक्रममा नारायणी वयोधा अस्पतालका सञ्चालक अशोक बैद, नगरप्रमुख राजेशमान सिंहलगायतको सहभागिता थियो ।

यसैगरी, भारतीय महावाणिज्य दूतावास वीरगंजमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन् । तरुण कुमार, विजयपाल शर्मा, प्रसाद जीतेन्द्र, कृष्णमुरारी यादव, भीमनिधि छतकुली, अब्दुल हामिद, विवेक घिमिरे, अनुप अग्रवाल, वीनित केजरीवाललगायतले रक्तदान गरेका थिए ।

यसैगरी, विन्ध्यवासिनी गाउँपालिका–४ मधवलमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए । सातोमाई युवा क्लब तथा धीरजकुमार चौरसियाले आयोजना गरेको रक्तदान कार्यक्रममा सन्तोष साह, रमेन्द्रनाथ तिवारी, ओमप्रकाश साह, सागिर देवान, मान्सी साह, उपेन्द्र साह, रञ्जीत साहलगायतले रक्तदान गरेका थिए ।

क्लबका अध्यक्ष विकाशकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा गापा अध्यक्ष प्रमोद तिवारी र उपाध्यक्ष ज्योति चौरसियालगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण पवन साहले गरेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here