छिपहरमाई, सखुवाप्रसौनीमा एमाले, जगरनाथपुरमा काङ्ग्रेस

0

प्रस, वीरगंज, ६ जेठ/

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रवार पर्सा जिल्लाको तीनवटा पालिकाको मतगणना सार्वजनिक भएको छ । छिपहरमाई, जगरनाथपुर र सखुवापरसौनी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको र एमालेले दुई स्थान तथा नेपाली काङ्ग्रेसले एक स्थानमा जीत हासिल गरेको छ ।

जगरनाथपुर गापामा नेकाका श्रीकान्त यादव विजयी भए । उनले ५ हजार ७४९ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका महम्मद सलीम मन्सुरले ३ हजार ९२६ मत ल्याए ।

यसैगरी उपाध्यक्षमा पनि नेकाकी बबिता सिंह ५ हजार ५३१ मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी मीरादेवी कुर्मीले ३ हजार ३४५ मत ल्याइन् ।

सखुवापरसौनी गापामा नेकपा एमालेका जसवन्त यादव विजयी भए । उनले ६ हजार ६४१ मत ल्याए । उनका प्रतिद्वन्द्वी निवर्तमान प्रमुख एवं जसपाका उम्मेदवार प्रदीपकुमार जयसवालले ४ हजार ८१० मत ल्याए ।

उपाध्यक्षमा जसपाकी शर्मिला विष्ट महतो विजयी भइन् । उनले ४ हजार ४६८ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी फूलमतीकुमारी थरूनीले ४ हजार २५६ मत ल्याइन् ।

सुग्रीव साह, भिस्वा/

छिपहरमाई गाउँपालिकाको मत गणना परिणाम सार्वजनिक भएको छ र अध्यक्षमा एमालेका मनोजकुमार गुप्ता दोस्रोपटक निर्वाचित भएका छन् । उनले ४ हजार १८८ मत ल्याए । उनका प्रतिद्वन्द्वी जसपाका इन्द्रासन साह कलवारले ३ हजार ८६८ मत ल्याए ।

स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लाको मतगणना सार्वजनिक भएको १३ वटा पालिकामध्ये छिपहरमाई गापाका अध्यक्ष गुप्ता मात्र पुनः निर्वाचित भएका छन् । १२ वटा पालिकामा पूर्वप्रमुखहरूको पराजय भएको छ । कालिकामाई गापाका अध्यक्ष नथुनीप्रसादको मृत्यु भएको र उनीबाहेक यसपटकको निर्वाचनमा पहिले जितेकाहरू सबै चुनावी मैदानमा थिए ।

छिपहरमाई गापामा घोषित मत परिणाम अनुसार उपप्रमुखमा नेपाली काङ्ग्रेसकी लीलावतीदेवी कानू विजयी भएकी छन् । उनले ३ हजार ७६१ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी एमालेकी मोदिना खातुनले ३ हजार ५९० मत पाइन् ।  १ देखि ५ सम्मको वडाध्यक्ष क्रमशः भुल्टुन यादव (नेका), महेन्द्र कलवार (एमाले), दीपेन्द्र सिंह (नेका), रामेश्वरमहतो केवट (नेका), मौजीलाल साह कानू (एमाले) निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here