सबैको सहकार्यमा पोखरियाको विकास गर्छु– प्रमुख चौहान

0

प्रस, पोखरिया, ६ जेठ/

पोखरिया नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रद्युम्न चौहानले पोखरियाको विकासको सवालमा सबैको सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा नगरप्रमुख चौहानले सो प्रतिबद्धता जाहेर गरेका हुन् । उनले पोखरियाको विकासको सवालमा यस अघि जसरी सबैजनाको सहकार्य रह्यो सोही अनुरूप सबैको सहयोग सहकार्य लिएर अगाडि बढ्ने बताए । उनले चुनावमा जीतहार हुन्छ तर यसलाई सहजरूपमा लिन आग्रह गरे । हामी विकासको लागि चुनावमा लडेका हौं र त्यो गर्ने कुरामा चुक्दैनौं । जितेको दम्भ ममा रहँदैन, हारेको पीडा तपाईहरू महसूस नगर्नूस्, पोखरियाको सवालमा हाम्र कार्यक्रम यथावत् रहने छन् ।

कार्यक्रममा नगरप्रमुखमा पराजित निवर्तमान प्रमुख दीपनारायण रौनियार, निजामुद्दीन समानी, राजु साहले पोखरियाको विकासको सवालमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

पोखरियाका निवर्तमान उपप्रमुख सलमा खातुनले निर्वाचित उपप्रमुखलाई सबै प्रकारको सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरिन् । उनले आफ्नो सहयोगको आवश्यकता महसूस गरेको खण्डमा हरबखत सहयोग गर्ने बताइन् ।

निर्वाचन अधिकृत पद्मबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारलगायतको सहभागिता थियो । कार्यक्रममा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षहरूलाई निर्वाचन अधिकृत कार्कीले प्रमाणपत्र वितरण गरेका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here