धार्मिक यात्राको मीठो अनुभूति (१)

0
  • राजेश मिश्र

 ‘होइहि सोइ जो राम रचि राखा…’ को भावार्थ हो– रामले जे रचेका छन्, त्यही हुन्छ । केवल बाबा विश्वनाथको दर्शन र पूजाको उद्देश्यका साथ बनारस हिंडेका हामी अयोध्याधाम कसरी
पुग्यौं ? यसको अलावा अयोध्यापछि पूर्वनिर्धारित बनारसको यात्रा त भयो नै, तर बनारसबाट फर्किंदा आदिशक्ति थावे माताको दर्शन गर्ने सौभाग्य कसरी प्राप्त भयो ? पूर्वनिर्धारित यात्राबाहेक अकल्पित यात्राको माहोल अचानक सिर्जना हुनु के संयोग मात्र थियो ? लगायतका यात्रा वृतान्त प्रस्तुत छ–

भारतको उत्तर प्रदेशस्थित बनारसको यात्रा कोरोना महामारीका कारण दुई वर्षदेखि अवरुद्ध थियो । बनारस भ्रमणको इच्छा मनमा जाग्रत किन भयो ? यो प्रसङ्ग उल्लेख नगरी हुन्न । सम्पादक विकाश (शर्मा) दाइका लागि बनारस भ्रमण गरिसकेको धर्मस्थल हो । त्यस्तै, मैले पनि बनारसको पहिलो यात्रा सन् १९९७ मा गरेको थिएँ । त्यसैगरी, दोस्रो यात्रा छोराको नामाङ्कनको समयमा तथा त्यसपछि थप दुई/तीन पटक गएको छु ।

बनारस हामी दुवैजनाका लागि भ्रमण गरिसकेको ठाउँ भएकोले बेलाबेला बनारसको प्रसङ्ग एकापसमा चर्चा हुने गर्दथ्यो । बाबा विश्वनाथ मन्दिर, गोदौलियाको साँघुरो गल्ली, गङ्गा–आरती, पुडी–तरकारी तथा बनारसी पानको स्वादलगायतका स्मरण विकाश दाइको मुखारबाट दिनहुँजसो प्रस्फुटित हुन्थ्यो । सधैं भइरहने चर्चाले हामीमा बनारस जाने उद्वेग बढ्यो । ममा पनि बनारस जाने आतुरता कम थिएन । किनभने बाबा विश्वनाथको दर्शन र छोरासँग भेट गर्ने अवसर पाउने भएकाले म पनि निकै उत्साहित थिएँ ।

विसं २०७६ को होलीपछि बनारस जाने कार्यक्रम तय भएपनि कोरोनाको बढ्दो प्रकोपका कारण यात्रा रद्द गर्नुप¥योे । त्यसैगरी, विसं २०७७ ताका कोरोनाको दोस्रो लहरले आकाङ्क्षा पूरा भएन । बिस्तारै कोरोना कम हुन थालेपछि विसं २०७८ को उत्तराद्र्धमा हामीबीच पुनः बनारसको चर्चाले निरन्तरता पायो । अन्ततोगत्वा दुई वर्षको पर्खाइपश्चात् गत चैतमा बनारस जाने मनोकाङ्क्षा पूरा त भयो, तर कसरी ? चैत १४ गते कुरैकुरामा कार्यक्रम अचानक तय भयो र १५ गते हामी हिंड्यौं । भोलिपल्ट नै जाने गरी भ्रमणको कार्यक्रम तय हुनु संयोग नै भन्नुपर्छ । बनारस भ्रमणका लागि हिंडेका हामी अयोध्यातर्फ लाग्नु अर्को आश्चर्यजनक संयोग थियो ।

यात्रा प्रारम्भ

गत चैत १५ गते बिहान करीब नौ बजे हामी वीरगंजबाट बनारसको लागि प्रस्थान ग¥र्यौ । रक्सौल, सुगौली, गोपालगंज र गोरखपुर हुँदै बनारसको यात्रा जारी थियो । भारतको राष्ट्रिय राजमार्गमा गुडिरहेको कारको गतिजन्य ऊर्जासँग मानवीय ऊर्जाले तालमेल मिलाइसकेको थियो । फलफूल ग्रहण गर्दै जारी यात्रामा दिउँसोको एक बजेतिर पेटले भोजन माग गर्न थाल्यो । यद्यपि गाडीको गतिजन्य ऊर्जाको प्रभावले होला, गाडी गुडिरहोस् भन्ने मनोविज्ञानले हामी ग्रसित
थियौं ।

बिहारको गोपालगंजदेखि ३२ किमीको यात्रापश्चात् हामी उत्तर प्रदेशमा प्रवेश ग¥यौ । स्वास्थ्यको दृष्टिकोणले अन्न ग्रहण गर्नु हाम्रो आवश्यकता त थियो नै, गाडीलाई विश्राम दिनु पनि नितान्त हाम्रै दायित्व थियो । उत्साहित मनोविज्ञान तथा राम्रा सडकका कारण बिहार कटेपछि उत्तर प्रदेशको शहर कुचायकोट, सलेमगढ, तमकुहीराज, फाजिलनगर, कुशीनगर र हाता गरी झन्डै एक सय किमीको दूरी कति छिटो तय भयो, पत्तै भएन । यद्यपि भोक र गाडीको विश्रामलाई मध्यजनर गरी उत्तर प्रदेशको पूर्वोत्तर जिल्ला बलिया अवस्थित सोेनवर्षाको गुरुनानक ढाबामा गाडी रोक्नै प¥यो । शाकाहारी उक्त ढाबामा लसुन र प्याजरहित साŒिवक भोजन दाल, रोटी र तरकारी हामीले सन्तुष्टिपूर्वक ग्रहण ग¥यौ । यसरी भोजनले हामीलाई र विश्रामले गाडीलाई पुनः ऊर्जामान बनायो । तत्पश्चात् गोरखपुरको ४१ किमीको यात्रा प्रारम्भ भयो ।

आश्चर्यजनक निर्णय

खाना खाएर हिंडेपछि श्रीराम जन्मभूमि अयोध्याधामको चर्चा शुरू भयो । राम मन्दिर, सरयु नदी र अयोध्या नगरी आदिको चर्चा यतिविघ्न भयो कि हाम्रो मानसिकता सम्भवतः रामललाको प्रेममा विलय भयो । प्रसङ्गवश २५ किमीको यात्रा पत्तै भएन । अब गोरखपुर केवल पन्ध्र किमी टाढा थियो । कता जाने ? बनारस कि अयोध्या ? गोरखपुर पुग्नुअगावै निर्णय लिनुपर्ने अवस्था सिर्जना भयो । के गर्ने ? जाने कि नजाने ? आदि कुराहरू मनमा खेल्न थाल्यो । अन्योलताका कारण हामी मौनतुल्य भयौं । तीव्र गतिमा गाडी अघि बढिरहेको थियो । गोरखपुर दृश्यमान हुन थाल्यो । ठूलठूला घर, एयरपोर्ट, सैनिक क्षेत्रतर्फ हाम्रो ध्यान केन्द्रित रहँदा चालकको आवाजले मौनता भङ्ग भयो । चालकले भन्यो, “सर, वो देखिए चोक आ गया, जहाँ से बनारस के लिए दाहिने और अयोध्या के लिए सीधा जाना होगा, तुरुन्त बताएँ, किधर जाना है ?” केही भन्न नपाउँदै तीव्र गतिमा गुडिरहेको गाडी चोकनजीक पुग्यो । शायद चालकले हाम्रो उत्तरको प्रतीक्षासहित गाडीको गति कम ग¥यो । संयोग नै भन्नुपर्छ हामीहरूको मुखारबाट एकसाथ शब्द प्रतिध्वनित भयो, “सीधे चलो ।”

अयोध्यातर्फ गाडी हुँइकिएपछि खुशीले गद्गद् ह्दयबाट ‘जय श्रीराम’ को हुँकार प्रस्फुटित भइछाड्यो । पहिलोपटक अयोध्याको यात्रा हुँदै थियो । झन्डै चार दशकअघि नेपाल टेलिभिजनमार्फत रामायण हेरेको विस्मृतिहरू मस्तिष्कमा तरङ्गित हुन थाले । राजा दशरथको दरबार, भगवान् श्रीरामचन्द्रको जन्मस्थल एवं जनकपुत्री देवी सीताको ससुराल आदि विषयमा चेतना रनभूल्ल भयो । उहिले टेलिभिजनमा हेरेको रामायणको विस्मृतिसँग साक्षात्कार गर्र्ने अवसर अब केवल १६० किमी टाढा थियो ।

अयोध्याधामको विविध परिकल्पनाले समुद्रको लहर जस्तै मस्तिष्कमा तरङ्ग उठिरहेको थियो । पहिलोपटक अयोध्याधाममा पाइला टेक्न लागेकोले होला, गाडी कतै नरोकियोस् भन्ने मनोविज्ञानमा हामी थियौं । यद्यपि लामो दूरीको यात्रा भएकोले स्वास्थ्यको दृष्टिकोणले विश्राम गर्नु अनिवार्य आवश्यकता थियो । हामीले गोरखपुरदेखि झन्डै एक सय किमीको दूरी तय गरिसकेका थियौं । बस्ती जिल्लाको ‘गढा गौतम’ भन्ने स्थानमा चियापानका साथै केही समय विश्राम गरियो । चियापानपछि झन्डै साठी किमी टाढा अयोध्याधामको यात्रा पुनः प्रारम्भ भयो । बेलुकीको पाँच बज्नै लाग्दा सरयु नदीको पुलमाथि गाडी गुड्न थालेपछि अयोध्यानगरी आइपुगेको आभास भयो ।

अयोध्याधाम

हामी श्रीरामजन्मभूमि अध्योयाधाममा थियौं । यद्यपि यस्तो लाग्थ्यो कि एक मनले अर्को मनसँग प्रश्न गरिरहेको थियो, “के साँच्चै नै तिमी मर्यादा पुरुषोत्तम श्रीरामको पावन भूमि अयोध्यामा
छौं ?” अर्को मनले दृढतापूर्वक उत्तर दिंदै भन्थ्यो, “हो त नि ! तिमीलाई विश्वास छैन, अहिले तिमी स्वयम् रामललाको पावन भूमि अयोध्यामैं छौ ।” अचानक भएको यात्राले आफूलाई आफैंमाथि अविश्वासको वातावरण सिर्जना भएको थियो । शायद सकारात्मक र नकारात्मक मनोविज्ञान एकापसमा संवाद गरिरहेका थिए ।

मनमा विविध विचार उत्पन्न भइरहेका बेला सरयुतटको गुप्तद्वार घाटमा चालकले गाडी रोक्यो । गाडीबाट झरेपछि उत्साहित मुद्रामा हामी यताउति हरिरहेका थियौं । थोरबहुत मानिसहरू सरयु नदीमा नुहाइरहेका थिए । केहीबेर सरयुतटमा व्यतीत भयो । सूर्य अस्ताउन थालेपछि हामी बासस्थानको खोजीमा शहरतर्फ लाग्यौं । भीडभाडयुक्त शहरको मनोरम दृश्यमाझ हाम्रो ध्यान होटलको खोजीमा केन्द्रित थियो । शहरभित्र अवस्थित होटल महँगोका साथै हाम्रो आकाङ्क्षा अनुरूप थिएन । हामी शान्तिपूर्ण विश्रामका लागि फराकिलो र खुला वातावरण भएको आरामदायक होटलको जोहोमा थियौं । स्थानीय मानिसहरूसँग सोध्दै जाँदा शहरभन्दा झन्डै तीन किमी टाढा बाइपासतर्फ पुग्यौं । बहुुसङ्ख्यक होटलको तातीमा होटेल रामेश्वरम् देखा प¥यो । केही महीनाअघि उद्घाटन भएको नयाँ होटलको साजसज्जा हामीले सोचे र खोजेअनुरूप थियो । होटल बूकिङ भयो । होटल छेवैमा रातिको खाना खाइयो । दिनभरिको थकाइ भएकोले हामी चाँडै
सुत्यौं ।

दोस्रो दिन बिहान आवश्यक लत्ताकपडा लिएर सरयुतटको ‘गुप्तद्वार घाट’मा पुगियो । प्रातःकाल श्रद्धालुजनको भीडभाड निकै बढी थियो । अधिकांश दक्षिण भारतका भक्तजनको उपस्थिति देखिन्थ्यो । लत्ताकपडाको हेरचाह तथा फोटो खिच्नुपर्ने भएकोले हामी आलोपालो गरी नुहायौं । स्नान कार्य तथा ग्यालेनमा जल भर्ने कार्यसहित एक घण्टाभन्दा बढी समय लाग्यो । भीडभाड तथा दिशाको जानकारी नभएकोले हामी ईरिक्शामार्फत रामललाको मन्दिर तथा भ्याएसम्म अरू धर्मस्थलहरू घुम्ने मानसिकतामा थियौं । चालकलाई गाडी लिएर होटल जान अ¥हाइरहेकै बेला दुईजना सवार एक मोटरसाइकल हाम्रो छेवैमा रोकियो । त्यसमध्ये एकजनाले भन्यो, “अयोध्याधाम घुमना है ? तो चलिए हम घुमा देंगे, केवल सौ रुपैयाँ दे दिजिएगा ।” त्यो केटा मार्गदर्शक (गाइड) थियो । हाम्रो खासखुस सुनेर उसले भन्यो, “ईरिक्शा नहीं लिजिए, अपना गाडी लेकर चलिए, कोइ दिक्कत नहीं होगी ।”

चित्त बुझेपछि दुब्लो–पातलो तथा मधुर स्वरका धनी पन्ध्र वर्षीय मार्गदर्शकसहित हामी गाडीमा सवार भयौं । उसको निर्देशनबमोजिम गाडी अघि बढिरहेको थियो । सरयुतटदेखि करीब बीस मिनेटमा हामी श्रीरामलला मन्दिरको वरै सुग्रीव किलानजीकको पार्किङ स्थलमा पुग्यौं । चालकले गाडी पार्किङ ग¥यो । अघि–अघि मार्गदर्शक तथा पछि–पछि हामी श्रीराममन्दिरतर्फ अघि बढिरहेका थियौं । पन्ध्र मिनेटको हिंडाइपश्चात् मन्दिरको प्रवेशद्वारनिर पुग्यौं । मार्गदर्शकले हामीलाई सबै कुरा सम्झाएर निकास द्वारमा आफूसँग भेट हुने भन्दै उतै लाग्यो । भक्तजनहरूको लाममा हामी लामबद्ध भयौं । बीचबीचमा ‘जय श्रीराम’को ठूलो गुञ्ज उठ्थ्यो । सीता रसोइ, दशरथ महल, रामजानकी महल आदि विभिन्न पुराना भवनहरूको अवलोकन गर्दै हामी अघि बढिरहेका थियौं । लगभग प्रत्येक सय मिटरको दूरीमा चेकिङ प्वाइन्ट झन्डै पाँच ठाउँमा थियो । प्रत्येक चेकिङ प्वाइन्टमा शरीर जाँचपछि अघि बढ्न पाइन्थ्यो ।

पाँचौं तथा अन्तिम प्रवेशद्वारमा चेकजाँचपश्चात् रामललाको प्राङ्गणमा प्रवेश पायौं । मन्दिर निर्माणको कार्य भइरहेकाले रामललाको जन्मस्थललाई सामान्य छेकबार लगाएर सुरक्षा निगरानीसहित दर्शनको प्रबन्ध मिलाइएको थियो । दायाँ–बायाँ हेर्दै भक्तजनको पङ्क्तिसँगै हामी बिस्तारै अघि बढिरहेका थियौं । अन्ततः रामललाको दर्शन गर्ने सौभाग्य पाएर अन्तरात्मा मुग्ध भयो । शरीर रामललाको प्राङ्गणमा भए तापनि अन्तरात्मा गोरखपुरतर्फ फर्कियो, जहाँ गाडी चालकलाई ‘सीधे चलो’ अर्थात् अयोध्या जाने सङ्केत गरिएको थियो । सोही बेला रामायणको एक श्लोक स्मरण भयो, जुन बाल्यकालमा हजुरबुबा (स्व भागवत मिश्र)को मुखारबाट बेलाबेला सुन्न पाइन्थ्यो–

होइहि सोइ जो राम रचि राखा ।

को करि तर्क बढावै शाखा ।।

अस कहि लागे जपन हरिनामा ।

गई सती जहँ प्रभु सुखधामा ।।

यो प्रसङ्ग त्यो समयको हो, जब माता सतीले श्रीरामको परीक्षा लिन गइरहेकी थिइन् । भगवान् शिवले श्रीराम नै परमब्रह्म र ईश्वर हुन् भन्ने कुरा बताए पनि माता सतीले विश्वास गरिनन् । भगवान् शिव, जो विश्वासको प्रतीक, सत्य वचन, त्रिकालदर्शी, देवों का देव, ज्ञानी, योगी र भगवान् शिवकी अर्धाङ्गिनी माता सती, जसलाई संसारले पतिव्रताको रूपमा पूजा गर्दछ, उनी भगवान् शिवको वचनलाई मान्न तयार भइनन् । भगवान् शिवले उपरोक्त श्लोक अर्थात् ‘रामले जे रचेका छन्, त्यहीं हुन्छ, तर्क गरेर प्रसङ्गलाई बढाउनुको अर्थ छैन’ भन्दै उनी श्रीहरिको जपमा लिन भए । त्यसपछि माता सती त्यहीं जानुभयो, जहाँ सुखको धाम श्रीराम विराजमान
हुनुहुन्थ्यो ।

प्रभु रामकै कृपाको कारण बनारसको यात्रा अयोध्यातर्फ मोडिएको विषयमा म घोत्लिइरहेको
थिएँ । अचानक विकाश दाइको स्वर कानमा पुग्यो, “राजेश ?” म ब्यूँझिएँ । चेतनामा फर्किएँ । मनमनै ‘जय श्रीराम, जय हो कृपा निधान’ भन्दै भगवान् श्रीरामप्रति कृतज्ञता प्रकट गरें । बिस्तारै मेरो पाइला सय मिटर पर विकाश दाइतर्फ बढिरहेको थियो । निधारमा पसिना देखेर विकाश दाइले मलाई पानीको बोतल थमाए । पानी खाँदै हामी हिंडिरहेका थियौं । मन्दिरको सुरक्षार्थ ठूलो सङ्ख्यामा प्रहरीबल तैनाथ थिए । मन्दिरको निर्माण कार्यमा प्राविधिक देखि कामदारसम्म, आआफ्नो जिम्मेवारीमा तल्लीन रहेको दृष्टिगत भयो । पुरानो तथा नवसंरचनाहरू अवलोकन गर्दै हामीले निकास द्वार पार ग¥यौ ।

राममन्दिरदेखि दश मिनेटको दूरीमा अवस्थित हनुमानगढीतर्फ हामी अघि बढिरहेका थियौं । साँघुरो सडकको दुवैतर्फ प्रसाद र पूजन सामग्रीका पसलहरूमा भक्तजनहरूको निकै भीडभाड
थियो । दृश्यावली अवलोकनमा मग्न हामीलाई हनुमानगढीको दश मिनेटको दूरी तय गर्न आधा घण्टाभन्दा बढी समय लाग्यो । घण्टाको ‘टनटन’ र जय हनुमानको मिश्रित गुञ्जले माहोल निकै उत्साहजनक थियो । श्रद्धालुहरूको घुइँचो बयान गरिनसक्नु थियो । मुख्य प्रवेशद्वारमा पुग्नै लाग्दा अत्यधिक भीडका कारण कपाट बन्द भयो । त्यसपछि भीडले झन् ठूलो स्वरमा ‘जय हनुमान’ को नारा गुञ्जाउन थाल्यो । सुरक्षामा तैनात प्रहरी बलले केहीबेरमा नै मुख्य द्वार पुनः खुल्ने सङ्केत गरिरहेको थियो । अन्ततः प्रवेशद्वार खुल्यो । श्रीराम भक्त हनुमानको दर्शन–पूजा गरियो । त्यसपछि चबुतरामा बसेर ‘ॐ हनुमते नमः’ को जाप गरियो । मन्दिरको कुना कन्दराको अवलोकन गरिसकेपछि हामी निकास द्वारबाट बाहिर निस्कियौं । मन्दिर छेवैमा उखुको सर्बत एक/एक गिलास पिएपछि गाडी पार्किङ स्थलतर्फ बढ्यौं । लगभग ११ बजे हामी होटल फर्कियौं ।

 ‘होइहि सोइ जो राम रचि राखा…’ झैं रामको रचना हाम्रो मानसपटलमा ‘धार्मिक यात्राको मीठो अनुभूति’को रूपमा अङ्कित भइसकेको छ । अयोध्याधामको मनोरम दृश्य ह्दयमा सजाएर करीब साढे १२ बजे हामी बनारसको लागि प्रस्थान ग¥यौ । क्रमशः…

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here