वीरगंजको मतगणना जारी, प्रमुखमा सिंहको अग्रता

0

प्रस, वीरगंज, ५ जेठ/

वीरगंज महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहको अग्रता कायमै छ ।

मतगणनाको सुरुआतदेखि अग्रता कायम गरेका उनले बिहीवार छैटौं दिन पनि पहिलेभन्दा बढी मतले अग्रता कायमै राखेका छन् । ३२ हजार ७०१ मत गणना हुँदा सिंहले १८ हजार ३९३ मत पाएका छन् ।

उनलाई निवर्तमान नगरप्रमुख एवं नेकपा एमालेका विजयकुमार सरावगीले निरन्तर दोस्रो स्थानमा रही पछ्याइरहेका छन् । सरावगीले नौ हजार ५०४ मत पाएका छन् ।

राप्रपाका गिरीश गिरीले ८२२ मत पाएर तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा सत्तारूढ गठबन्धनबाट नेपाली काङ्ग्रेसका इम्तियाज आलमले १३ हजार २७९ मतको साथ अग्रता कायमै राखेका छन् । उनी पनि मतगणनाको सुरुआतदेखि आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पारेर छैटौं दिन पनि अग्रस्थानमा छन् ।

उपप्रमुखमा एमाले र लोसपाको गठबन्धनबाट उपप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झाले दुई हजार ६९४ मत पाएका छन् भने राप्रपाकी विना जयसवालले एक हजार ४४३ मत र स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले एक हजार ८७७ मत पाएकी छन् ।

बिहीवार चारवटा वडाको मतगणना सम्पन्न भएको छ, जसमा दुईवटामा अध्यक्ष जसपा, एउटामा लोसपा र अर्को एकमा नेकाले जीत हासिल गरेको छ । लोसपाबाट जयप्रकाश साह वडा नं ६ को अध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी, जसपाबाट वडा नं ३ मा बैजु स्वर्णकारले दोस्रोपटक जीत हासिल गरेका छन् । उनले नेकाका अनवर हवारीलाई ४२२ मतान्तरले पराजित गरी वडाध्यक्षमा दोस्रोपटक विजयी भएका हुन् । स्वर्णकारले एक हजार ५७० र हवारीले एक हजार १५८ मत पाएका थिए ।

जीतसँगै वडा नं ३ मा विजय ¥याली निकालिएको थियो । जसपाको वडाध्यक्षसहितको प्यानल जितेकोमा बाजागाजाका साथ अबीरजात्रा गरिएको थियो ।

वीरगंज महानगरपालिका वडा नं २९ को अध्यक्षमा जसपाका धर्मेन्द्र महतो चौधरी पुनः निर्वाचित भएका छन् । बिहीवार सम्पन्न मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार नबिजान अन्सारीलाई ५१ मतान्तरले पराजित गर्दै चौधरी वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । चौधरीले एक हजार १११ र अन्सारीले एक हजार ६० मत पाएका थिए भने नेपाली काङ्ग्रेसका वकील मियाँले ९९८ मत प्राप्त गरेका थिए । यसैगरी, बिहीवार दिउँसो घोषित मतपरिणाम अनुसार वीरगंज महानगर वडा नं ७ को अध्यक्षमा नेकाका हीराकाजी महर्जन विजयी भएका छन् ।

यसैगरी, बिहीवार साँझ घोषित मतपरिणाम अनुसार वीरगंज महानगर वडा नं २७ को अध्यक्षमा नेकाका ह्दयनारायणप्रसाद कुर्मी विजयी भएका छन् ।

अहिलेसम्म को को जिते

वीरगंज महानगरपालिकामा बिहीवारसम्म १२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नं १ देखि ७ सम्म क्रमशः मनोजराउत कुर्मी, रेयाज आलम, बैजु स्वर्णकार, जगतसाह कानू, प्रदीप चौरसिया, जयप्रकाश शाह, हीराकाजी महर्जन विजयी भएका छन् भने वडा नं २७, २९, ३०, ३१ र ३२ सम्म क्रमशः ह्दयनारायणप्रसाद कुर्मी, धर्मेन्द्र थारू, मनोज यादव, जीतेन्द्र यादव र रेयाज अहमद विजयी भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिलेसम्म महानगरमा जसपाले पाँच, काङ्ग्रेसले तीन, एमालेले दुई र लोसपाले एउटा वडामा जीत हासिल गरेको छ ।

महानगरमा बिहीवार वडा नं ८, ९, २५, २६, २७ र २८ गरी ६ वटा वडाको मतगणना जारी छ ।

वीरगंज–६ मा काङ्ग्रेसको गढ ढल्यो

प्रस, वीरगंज, ५ जेठ/

वीरगंज महानगर–६ मा काङ्ग्रेसको गढ ढलेको छ । वीरगंज महानगर हुनुअघि वडा नं ११ रहेको र अहिले वडा नं ६ भएको नेपाली काङ्ग्रेसको गढ भनिने सो वडामा यो स्थानीय चुनावमा पहिलोपटक नेकाबाहेकको दलले वडाध्यक्षमा जीत हासिल गरेको छ ।

स्थानीय तहको निर्वाचन शुरू भएदेखि अहिलेसम्म सो वडामा नेकाको वर्चस्व रहँदै आएको थियो । वीरगंजमा नेकाको गढ भनेर कहलिएको वडामा यसपटक लोसपाका जयप्रकाश शाहले जीत हासिल गरी काङ्ग्रेसको गढ ढालेका हुन् । यसअघि सो वडाका अध्यक्षमा नेकाका धु्रव नेपाल निर्वाचित थिए । यो चुनावमा शाहले नेकाका दिनाप्रसाद गुप्तालाई ३६९ मतान्तरले पराजित गरेका छन् । शाहले ८६१ र गुप्ताले ४९२ मत पाएका थिए ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here