“कुनै पनि पार्टीले महिलालाई सहजै प्रमुखको टिकट दिन चाहँदैन”

0

२०७४ सालमा भएको स्थानीय तह निर्वाचन पछि जनताले बीस वर्षपछि नयाँ जनप्रतिनिधि पाएका थिए । गाउँनगरको अब विकास हुन्छ भन्दै जनता हर्षित भए तर सोचे जस्तो काम नभएको जनताको गुनासो बढ्दो छ । पर्साको पोखरिया नगरपालिकालाई जिल्लाको दोस्रो सदरमुकाम मानिन्छ । ग्रामीण भेगहरूलाई समेटेको यस पालिकाका जनप्रतिनिधिहरूले के कस्ता काम गरे र स्थानीय जनप्रतिनिधिको रूपमा पाँच वर्षको कार्यकाल कस्तो रह्यो ? भन्ने विषयमा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनसँग विमला गुप्ताले गरेको कुराकानीको अंशः

उपप्रमुख खातुन जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित जनप्रतिनिधि हुन् । पोखरिया नगरपालिकाकी उपप्रमुख खातुन आफू निर्वाचित भएपछि आफ्नो कार्यकाल निकै नै सङ्घर्षपूर्ण रहेको बताउँछिन् । अनेकन चुनौतीको सामना गर्दै पाँच वर्ष बितेको र उपप्रमुखको काम जति सहज सोचिन्छ, त्यस अनुसार नभएको उनी बताउँछिन् ।

आगामी चुनावको तयारीमा व्यस्त  खातुन नगरवासीका लागि विकासका धेरै काम गरेको र केही अधूरा कामलाई फेरि जितेर पूर्णता दिने बताउँछिन् । “मुख्य चुनौती भनेको जनताले त काम गर्नको लागि ठाउँ त दियो तर हामीबीच रहेका सहकर्मी जनप्रतिनिधिहरूले संवैधानिक व्यवस्थालाई नमानेर आफ्नो जिम्मेवारीबाट पन्छिदै गएपछि  विकासका काममा कठिनाइ उत्पन्न हुँदै गयो,” उनले भनिन्, “पालिकाको काममा एकअर्कालाई सहयोग गर्ने वातावरण नै भएन, जहिले पनि पार्टीगत सोच हाबी रह्यो ।”

महिला नेतृत्वलाई स्वीकार्न नसक्ने पुरुषवादी सोच र पार्टीगत मतभिन्नताका कारण आफ्नो आवाजलाई बारम्बार दबाएर राख्ने प्रयास भएको उनको भनाइ छ । आफ्नो मात्र नभई मधेस प्रदेशका धेरै महिला उपप्रमुखको अवस्था उस्तै रहेको उनको तर्क छ । मुस्लिम समुदायकी खातुनले काममा कहिल्यै जातीय र धार्मिक विभेद नगरेको बताउँछिन् । आफू महिला भएकैले महिलाहरूलाई समेटेर अगाडि बढेको र उनीहरूको समस्यामा सहयोगको लागि सधैं अगाडि आएको उपप्रमुख खातुनको भनाइ छ ।

 “उपप्रमुखको रूपमा मैले सुशासनका कुराहरूदेखि लिएर न्यायिक समिति र स्थानीय नागरिकबीच सेवाप्रवाहका लागि आफूले शतप्रतिशत योगदान दिएको, कर्मचारी अभाव र असहयोगको वातावरणमा पनि उपप्रमुखका लागि तोकिएका कामहरू जिम्मेवारीपूर्वक निर्वाह गरें,” उनले बताइन् ।

अनुगमनको पाटोमा आफूले जहाँ गलत देखियो, सो ठाउँमा आवाज उठाएको उनको भनाइ छ । गलत कुराको रिपोर्टिङ गर्दा नगरप्रमुख र कार्यपालिकाले ध्यान नदिएको तर गलत काम भएको ठाउँमा आफूले हस्ताक्षर नगरेपछि पनि भुक्तानी दिएको जस्ता गलत कार्य भएको उनी बताउँछिन् ।

 “कतिपय मुद्दा त अख्तियारमा पनि गए, तर उताबाट पनि कुनै कारबाई नभएन । आफूले कहिल्यै त्यस्ता गलत कार्यमा सम्झौता गरिनँ, न्यायसम्पादन तथा अपाङ्गहरूको सेवासुविधामा कहिल्यै विभेद गरिनँ । सामाजिक सङ्घसंस्थाहरूसँगको महŒवपूर्ण कामका जिम्मेवारी पनि नगरवासीको चाहना अनुसार नै निर्वाह गरें ।”

उपप्रमुख खातुनले विद्यालयका बालबालिकाहरूका लागि स्थानीय भाषा भोजपुरीको पाठ्यपुस्तक राख्ने आफ्नो सपना अधूरो रहेको बताइन् । तर विभिन्न सञ्चारमाध्यममा पालिकाबाट प्रवाह हुने सूचना भोजपुरी भाषामैं गराएको उनको भनाइ छ । पाँच वर्षको अवधिमा युवाहरूको रोजगार, शिक्षा र स्वास्थ्यमा समुदायका व्यक्तिहरूलाई जोडेर अगाडि बढेको उनको दाबी छ ।

हरेक व्यक्तिलाई खुशी पारेर काम गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । जति काम गरे पनि विभिन्न टीकाटिप्पणी भइ नै रहन्छ । गाउँँका कतिपय मानिस पहिले पालिकामा आएर बोल्न डराउँथे तर अब सहजै समस्या सुनाउने गरेको उनी बताउँछिन् । वडामा नभएका कामहरू पनि आफ्नो पहलमा गराएको उनको भनाइ छ ।

विगतका दिनमा लामो समय पत्रकारितालाई दिएकी खातुन पर्साका अन्य उपप्रमुखको तुलनामा शिक्षित र जानकार महिला हुन् । उनले आफ्नो कामबाट सन्तुष्ट भएको बताए पनि विभिन्न टीकाटिप्पणी र बेलाबेलामा उनको कामको आलोचना हुने गरेको छ । खातुनले यस्ता कुरालाई आफूले सहर्ष स्वीकारेको बताउँछिन् । उनका अनुसार हरेक मानिसलाई काममा अचानक चमत्कार भइदियोस् भन्ने लाग्छ तर प्रक्रियागत काम गर्दा सोचे जस्तो हँुदैन । उपप्रमुखको काम, कर्तव्य र अधिकार सीमित रहेकाले त्यसलाई नाघेर जाने अवस्था नरहेको उनको भनाइ छ ।

उनका अनुसार दलको एजेन्डालाई छाडेर एकमत भएर काम गरेको भए पोखरियालाई स्मार्ट सिटीको रूपमा विकास गर्न सकिन्थ्यो तर आन्तरिक विवाद जनतालाई बुझाउन गा¥हो हुन्छ । स्थानीय सरकारको कुरा गर्ने हो भने प्रमुख र उपप्रमुखबीचको विवाद नौलो होइन । निर्वाचनको सुरुआतदेखि नै यस्ता विवादास्पद कुराले मिडियाको ध्यानाकर्षण गराइरह्यो । कतिपय ठाउँमा कुटपिट, गालीगलौजदेखि हातपात पनि भए तर उमप्रमुख खातुन आफूले यस्तो हर्कत कहिल्यै नगरेको बताउँछिन् ।

 “कुटपिट गरेर, तालाबन्दी गरेरै समस्या समाधान हुन्छ भन्ने छैन । पालिकामा कतिपय कुरा गलत भइरहँदा मैले जहिल्यै पनि विज्ञप्तिमार्फत विरोध गरें, सञ्चारमाध्यमको सहयोगमा आवज उठाएँ,” उनले भनिन्, “कार्यपालिका बैठकमा एक्लै भएर पनि आन्तरिकरूपमा मैले निरन्तर आवाज उठाइरहें ।”

करीब एक दशकको समय पत्रकारितालाई दिएकी खातुनको राजनीतिमा प्रवेश गत स्थानीय तहको निर्वाचनमा भएको हो । यस अविधिमा जति चुनौतीको सामना गरे पनि अब राजनीतिलाई छोड्न नसक्ने उनको भनाइ छ । महिला भएकै कारण बीचबीचमा विभिन्न आलोचना तथा टीकाटिप्पणी हुँदा राजनीति छोडूँ जस्तो लाग्थ्यो तर हरेक क्षेत्रमा यस्तै चुनौतीको सामना गर्नुपर्छ भन्ने सोच्दै आफ्नो मनोबल बलियो बनाउँदै अगाडि बढेको उनी बताउँछिन् ।

 “सञ्चारमाध्यममा हँुदा हामी आफूलाई शक्तिशाली सम्झिन्छौं तर अचानक राजनीतिमा प्रवेश गर्दा खुलेर बोल्न सक्ने अवस्था थिएन । राजनीतिमा जशभन्दा पनि अपजश बढी सुन्नुपर्ने हुन्छ । कुनै खोला फोहोर छ भन्दैमा छोडेर जानुभन्दा त्यसलाइ स्वच्छ पार्नु हाम्रो कर्तव्य हो जस्तो मलाई लाग्छ ।” राजनीतिले दिएको चुनौतीले आफूलाई अझ बलियो बनाएको उनको भनाइ छ । आउँदो दिनमा झन् सशक्त भएर अगाडि बढ्दै जाने उनी बताउँछिन् ।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक पालिकाको प्रमुख अथवा उपप्रमुख पदमा एकजना महिला जनप्रतिनिधि हुनुपर्छ । यस्तो अवस्थामा महिलाहरू उपप्रमुखमैं मात्र किन प्रमुखमा पनि उम्मेदवारी दिनुपर्छ भन्ने अहिलेका युवाहरूको आवाज छ । पाँच वर्ष स्थानीय सरकारलाई समय दिएर अनुभव बटुलेका महिलाहरू प्रमुख पदमा उम्मेदवारी दिन किन चाहँदैनन् भन्ने प्रश्नमा खातुन भन्छिन्, “हामी महिलाहरू हरेक क्षेत्रमा सक्षम छौं तर यहाँ पार्टीगत कुरा आउँछ । अब पार्टीले निर्धारण गर्ने हो कि कसलाई टिकट दिने । यदि आफूलाई प्रमुख पदको टिकट दिए, अवश्य म प्रमुखमा उम्मेदवारी दिन्छु ।”

आफूलाई उपप्रमुख पदमा दोहोरिने मन छैन भन्दै उनले कुनै पनि पार्टीले महिलालाई सहजै प्रमुखको टिकट दिन चाहँदैन भनिन् । जसले गर्दा महिलाहरूले उपप्रमुखमैं चित्त बुझाउनुपर्ने अवस्था छ । आफूमा योग्यता हँुदाहँुदै पनि महिला जनप्रतिनिधिहरू निराश भएर बस्नुपर्ने अवस्था छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here