राकेश यादव, रौतहट, १२ माघ/
रौतहटको चन्द्रपुर नगरपालिका ३ गैंडाटारमा धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले भौतिक संरचना निमार्ण गर्न थालिएको छ। नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रपुर नपा–३, तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वरनाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको हो।
करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकीय स्थल निर्माण शुरू भएको तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताएका छन्। पार्क तथा पर्यटकीय स्थल २०८९ सालसम्म सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीले जनाएका छन। स्वीमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पट, बाटो, बगैंचा, फूलबारी, भ्यू टावर, छेउको चाँदी खोलामा झोलुङे पुल, साथै सङ्ग्रहालय निर्माण हुनेछ।
वन विभाग र वन उपभोक्ता समूहको आर्थिक सहयोगमा अहिले बाल उद्यान निर्माण भइरहेको छ। सो सामुदायिक वनले चिडियाखाना बनाउनेसमेत योजना अगाडि बढाएको छ। अहिले सो पार्कमा चिल्ड्रेन पार्क, बालबालिकाहरूको लागि बाल उद्यान, फूलबारीहरू निमार्ण भएका छन्। घुम्न आउनेको लागि सुविधा सम्पन्न खाजाघर, खानेपानी, बिजुलीबत्ती, बाटोहरू बनाइएको छ। सो स्थानलाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न लागिएको तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष भुनेश्वर गुरोले बताए।
सो पर्यटकीय स्थल चन्द्रपुर चोकदेखि करीब ४ किलोमिटर उत्तर गैंडाटार टोलबाट थोरै पश्चिम चाँदीखोला किनारमा निर्माण भइरहेको छ। निर्माणकैै क्रममा घुम्ने र पिकनिक जानेहरू बढेका छन्।
वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका