• विश्वराज अधिकारी

नेपालमा गरीबहरूको सङ्ख्या उच्च रहेकोले नेपाली राष्ट्रिय राजनीतिमा कम्युनिस्ट विचारधाराको प्रभाव ज्यादै बलियो छ । र यो प्रभाव अझै दशकौं सम्म बलियोरूपमैं रहिरहने छ।

गरीबहरूको सङ्ख्या उच्च रहेकोले नै नेपालमा वामपन्थी विचारधारा अति फस्टाएको पनि हो । चीनको अर्थनीतिबाट वामपन्थी विचारधारा हराए पनि, भारतको पश्चिम बङ्गालबाट कम्युनिस्ट अर्थ नीतिले सदाका लागि बिदा लिए तापनि नेपालमा भने कम्युनिस्टहरूले राष्ट्रिय अर्थ व्यवस्थामा आफ्नो पकड झन्झन् बलियो पार्दै लगेका छन् । नेपालको राष्ट्रिय अर्थ व्यवस्थामा अहिले कम्युनिस्ट पार्टी र तिनका नेताहरूको निरन्तर र बलियो प्रभाव छ । तर दुःखको कुरा के छ भने नेपालका कम्युनिस्टहरूले नेपालको राजनीति एवं अर्थ व्यवस्थामा रहेको आफ्नो प्रभाव राष्ट्रिय गरीबी कम पार्न होइन, शक्तिकेन्द्र र सत्तामा पुग्न उपयोग गरेका छन् । अर्को शब्दमा भन्ने हो भने दुरूपयोग गरेका छन् ।

उदाहरणको लागि नेपाली–वामपन्थी राजनीतिका प्रभावशाली व्यक्ति पुष्पकमल दहाल र उनको नेतृत्वको सशस्त्र सङ्घर्षलाई लिन सकिन्छ । पुष्पकमल दहालको नेतृत्वमा भएको दश वर्षे (विस २०५२–२०६२) सशस्त्र सङ्घर्षले के राष्ट्रिय गरीबी कम पार्न कुनै खास भूमिका निर्वाह ग¥यो ? गरेन, उल्टो त्यो सङ्घर्षमा १७ हजारभन्दा बढी व्यक्तिको ज्यान गयो । हजारौं व्यक्तिहरूको अङ्गभङ्ग भयो । दर्जनौंपटक बैंकहरूमा लुटपाट भयो । अनेकौं भौतिक संरचना नष्ट भए । तुलनात्मकरूपमा नेपालमा गरीबी बढेर गयो ।

नेपालका गाउँ मात्र होइन, शहरबाट पनि वैदेशिक रोजगारका लागि गरीब युवा लाखौंको सङ्ख्यामा विश्वका अनेक देशमा पुग्ने क्रम शुरू भयो । नेपालको इतिहासमा नै दश वर्षे सशस्त्र सङ्घर्षपछि ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारका लागि विदेश पलायन भए । अहिले संसारका गरीब राष्ट्रहरू जस्तै लेबनान, लिबिया, अफगानिस्तान, इराकआदि मुलुकमा समेत नेपालीहरू रोजगारका लागि पुगेको देखिन्छ । उनीहरू त्यहाँ ज्यानको बाजी लगाएर काम गर्छन्। अहिले अफगानिस्तानमा काम गर्ने नेपालीहरूको स्थिति कस्तो छ खोजको विषय भएको छ ।

वामपन्थी विचार बोकेर राजनीति गरेका र गरीबहरूको हितमा सङ्घर्ष गर्छु भनेर हिंडेका पुष्पकमल दहालको राजनीतिले नेपालको गरीबी कम पार्न के कुनै विशेष भूमिका खेल्यो ? पुष्पकमल दहालको नेतृत्वमा भएको सशस्त्र सङ्घर्षले राष्ट्रिय गरीबी कम पार्न कुनै उल्लेखनीय भूमिका निर्वाह गरेको देखिंदैन । त्यो सशस्त्र सङ्घर्षले पुष्पकमल दहाललाई शक्ति र सामथ्र्य (सम्पत्ति) ले परिपूर्ण पारेको मात्र देखिन्छ । तो पनि प्रस्टरूपमा देखिन्छ । उनको सामाजिक एवं राजनीतिक जीवन शैलीले नै यस कुराको पुष्टि गर्दछ ।

अब एक अर्को प्रसङ्ग– २०४६ सालमा भएको राजनीतिक परिवर्तनपछि कम्युनिस्ट विचार भएका धेरै व्यक्ति मन्त्री एवं प्रधानमन्त्री भए । उनीहरूले नेपालको राजनीति मात्र होइन, नेपालको अर्थनीतिलाई पनि निकै प्रभावित गरे । कम्युनिस्ट नेताहरू, जोजो मन्त्री एवं प्रधानमन्त्री भए, उनीहरूले हाम्रो अर्थनीति समाजवादी वा जनवादी हुनेछ भन्ने विचारहरू व्यक्त गरे । तर नेपालको अर्थ व्यवस्था न कहिले समाजवादी थियो, न भविष्यमा नै पनि समाजवादी अर्थ व्यवस्थाको अभ्यास हुनेछ । नेपालमा समाजवादी अर्थ व्यवस्थाको अभ्यास हुने छ भनी विश्वास गर्नु जनस्तरमा भ्रम हो भने नेताहरूको लागि भूmट बोलेर चुनाव जित्नु मात्र हो ।

अहिलेका अति प्रभावशाली कम्युनिस्ट नेता कहलिएका केपी ओली, माधव नेपाल, पुष्पकमल दहाल वा अन्य कुनै व्यक्ति भविष्यमा प्रधानमन्त्री भए पनि नेपालको अर्थ व्यवस्थामा समाजवाद अभ्यास हुने सम्भावना परपरसम्म देखिन्न । नेपालको अर्थ व्यवस्थाको प्रकृति विशिष्ट किसिमको भएकोले नेपालमा समाजवाद अभ्यास हुने कुनै सम्भावना छैन । नेपालका निकट छिमेकीहरू– चीन र भारतले, जो ठूला बजार हुन् र पूँजीवादी अर्थ व्यवस्थाको अभ्यास गरिरहेका छन्, नेपालको अर्थ व्यवस्थालाई विशिष्ठ वा खास किसिमको तुल्याइदिएका छन् । यी देशहरूबाट नेपालले ठूलो परिमाणमा आयात गर्छ । र अर्को महŒवपूर्ण कुरा, समाजवादी अर्थ व्यवस्था न नेपालको लागि, न गरीब नेपालीकै हितका लागि उपयोगी छ ।

नेपालमा समाजवादी अर्थ व्यवस्थाको नारा केवल नेपालका वामपन्थी नेताहरूको लागि मात्र उपयोगी छ किनभने यो नारा घन्काएर उनीहरूले राजनीतिमा सफलता प्राप्त गरिरहेका छन् । चुनावमा विजयी भइरहेका छन् । अचम्म त यस कुरामा छ कि नेपाली काङ्ग्रेसले पनि अहिले समाजवादी अर्थ व्यवस्था आफ्नो आर्थिक विकासको नारा रहेको भन्दैछ । जबकि नेपाली काङ्ग्रेसका सबै अर्थशास्त्रीहरूलाई नेपालको आर्थिक विकास समाजवादी अर्थ व्यवस्थाद्वारा हुन सक्तैन भन्ने कटु यथार्थ राम्ररी थाहा छ । नेपालको आर्थिक विकास उदार पूँजीवादद्वारा मात्र सम्भव छ भन्ने कुरा उनीहरूलाई राम्ररी थाहा छ ।

नेपालका वामपन्थी नेताहरूको अर्थनीतिप्रति अलमल वा अर्थनीतिलाई राष्ट्रिय हितका लागि होइन, आफ्नो हितमा प्रयोग गर्ने प्रवृत्तिले गर्दा नै नेपालको अर्थ व्यवस्था अहिले पिल्सिएको स्थितिमा छ । नेपालको अर्थ व्यवस्था कस्तो हुने हो भन्ने कुरामा नेपालका वामपन्थी नेताहरू प्रस्ट छैनन् तर उनीहरूको व्यवहारद्वारा नेपालको राष्ट्रिय अर्थ व्यवस्था बलियो गरी प्रभावित छ, उनीहरूको पकडमा छ । प्रम शेरबहादुर देउवासमेत पुष्पकमल दहालको आर्थिक एजेन्डा बोकेर हिंडेका छन् ।

नेपालको अर्थ व्यवस्था मिश्रित किसिमको छ । सोही अनुसार चल्नुपर्ने हुन्छ वा यसमा सुधार ल्याएर उदार पूँजीवादतिर जानुपर्छ तर नेपालका वामपन्थी नेताहरूले व्यवहारद्वारा त्यस्तो गर्न सक्तैनन् तर समाजवादको नारा घन्काउन पनि छाड्दैनन् । कति ठूलो विडम्बना ! नेपालका वामपन्थी नेताहरूको पूँजी र पूँजीपतिप्रतिको दृष्टिकोण पनि प्रस्ट छैन । समग्रमा भन्ने हो भने वामपन्थी विचारधारा बोक्नेहरूको नै पूँजी र पूँजीपतिप्रतिको दृष्टिकोण त्रुटिपूर्ण छ ।

वामपन्थीहरू पूँजीलाई श्रम–शोषणको माध्यम मान्दछन् । पूँजीले श्रमको शोषण गर्ने हुनाले (उनीहरूको भनाइ अनुसार) उनीहरू पूँजीपतिलाई दलाल ठान्दछन् । साथै पूँजीपतिलाई आफ्नो वर्गीय शत्रु पनि मान्दछन् । तर यो विचार अहिलेको, यो विशेष स्थितिमा गलत मात्र होइन, घातक समेत छ । किन भन्ने कुरा प्रस्ट पार्न अर्को लामो लेख तयार पर्नुपर्ने हुन्छ । त्यसकारण छोटकरीमा के भन्न सकिन्छ भने कुनै पनि देशलाई आर्थिकरूपमा बलियो पार्न त्यस देशका पूँजीपतिहरूले ठूलो भूमिका खेलेका हुन्छन् । उदाहरणका लागि अमेरिका र युरोपका धनी देशहरूका पूँजीपतिहरूको भूमिकालाई लिन सकिन्छ । राष्ट्रिय पूँजीपतिहरूले नै ती मुलुकहरूलाई धनी पारेका हुन् । तथ्य यस्तो रहेकोले नै पूँजी र पूँजीपतिलाई शत्रु ठान्ने वामपन्थी दृष्टिकोण गलत र घातक दुवै हो ।

अब पूँजीपतिहरूको भूमिका राष्ट्रिय अर्थ व्यवस्थामा कस्तो रहने गर्दछ त्यसबारे चर्चा गरौं । जसरी केवल मौरीले मात्र मह निर्माण गर्न जानेको हुन्छ त्यसैगरी केवल पूँजीपतिहरूले मात्र धन वा पूँजी निर्माण गर्न जानेका हुन्छन् । पूँजीपतिहरूको विशेष सीपले, जुन सामान्य मानिसमा हुँदैन, उनीहरूलाई पूँजी निर्माण गर्न सघाउने गर्दछ । अर्कोतिर देशको आर्थिक विकास गर्न, अनेक भौतिक संरचना निर्माण गर्न कुनै पनि राष्ट्रलाई ठूलो मात्रामा पूँजी चाहिन्छ। पूँजीको अभावमा देशको आर्थिक विकास सम्भव छैन ।

नेपालले जे जति आर्थिक विकास गरेको छ (सडक, कारखाना, ऊर्जा) त्यो अन्य राष्ट्रहरूबाट आएको पूँजीले गर्दा भएको हो । प्रस्ट भन्ने हो भने अन्य देशले नेपालको आर्थिक विकास गरिदिएको हो । उदाहरणका लागि, नेपालको पूर्व–पश्चिम राजमार्ग, जचुका, वीचिका रूसलगायत देशले र त्रिभुवन राजमार्ग भारतले निर्माण गरिदिएको हो । अन्य देशले नेपालका लागि अनेक निर्माण गरिदिने क्रम अहिले पनि जारी छ ।

वामपन्थीहरूले पूँजीपतिहरूलाई वर्गीय शत्रु वा दोषपूर्ण दृष्टिले हेर्ने हुनाले नै नेपालमा राम्रो पूँजीको निर्माण हुन सकेको छैन । ठूलो सङ्ख्यामा पूँजीपतिहरूको जन्म हुन सकेको छैन । भएका पूँजीपतिले पनि ढुक्क र स्वतन्त्र भएर काम गर्न पाएका छैनन् । माओवादीले सशस्त्र सङ्घर्ष गरेको बेला नेपालको पश्चिमी भागमा अनेक उद्योगहरूको सन्तोषजनक किसिमले स्थापना हुन सकेन । यो हामी सबैलाई थाहा भएको कुरा हो ।

अर्थ व्यवस्थाप्रति कम्युनिस्ट नेताहरूको अलमलले गर्दा नै नेपाली अर्थ व्यवस्था पिल्सिएको अवस्थामा छ । नेपाली अर्थ व्यवस्थाले प्रभावकारी किसिमले काम गर्न सकेको छैन । वामपन्थीहरूको राष्ट्रिय अर्थ व्यस्थाप्रतिको अलमलले गर्दा नेपालको राष्ट्रिय गरीबी कम हुन सकेको छैन । नेपालको अर्थ व्यवस्था ‘रेमिट्यान्समुखी हुन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here