सारथि लघुवित्त सहकारीमा करोडौंको घोटाला

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, १८ पुस/

नयाँ सारथि लघुवित्त सहकारी संस्था लिमिटेडको पर्सागढी नगरपालिका–३ बडनिहारस्थित शाखामा करोडौंको घोटाला भएको तथ्य सार्वजनिक भएको छ । शाखा घाटामा रहेको तथ्य बाहिरिएपछि प्रधान कार्यालयले सोसम्बन्धी अनुसन्धान शुरू गर्दा करोडौंको घोटाला भएको तथ्य बाहिरिएको हो ।

शाखामा रहेका चार सयजना सदस्यमध्ये ३०८ जना सदस्यको नाममा फर्जी ऋण प्रवाह भएको र सोमा शाखा प्रमुख भोजेन्द्र ठाकुर लोहारसहितका कर्मचारीहरूको संलग्नता रहेको छ । शाखा प्रमुख लोहार भदौ ४ गते बडनिहार शाखाबाट सरुवा भएर बारा जिल्लाको बरियारपुर शाखामा गएका थिए । उनी गएपछि केन्द्रीय कार्यालयले यसबारे अनुसन्धान गरेको र अडिट रिपोर्टबाट ५ करोड ५० लाख रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भएलगत्तै मङ्सिर २५ गते शाखा प्रमुख ठाकुरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले ठाकुरलाई पक्राउ गरी उच्च अदालतमा हाजिर गराएको र ६० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए। उनले बैंक ठगी कसूरमा निजविरुद्ध कारबाई प्रक्रिया अगाडि बढाइएको बताए । प्रउ बस्नेतले ठाकुरलाई रौतहटको चन्द्रपुरस्थित निजको घरबाट पक्राउ गरेको बताए ।

प्रारम्भिक अनुसन्धानमा ठाकुरले बैंकमा खाता रहेका चार सय सदस्यमध्ये ३०८ जनाको नाममा किर्ते गरी रकम निकासा गरेको देखिएको छ । ३०८ जना सदस्य र खाता बन्द गरिसकेका केहप् सदस्यहरूको नाममा पनि ऋण प्रवाह भएको देखिएको छ । यसरी साढे ५ करोड रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुसन्धानमा खुलेपछि केन्द्रीय कार्यालयले निजविरुद्ध कानूनी कारबाई प्रक्रिया अगाडि बढाएको हो ।

यसै घटनामा मुछिएका नयाँ सारथि लघुवित्त वित्तीय संस्था पर्सागढीका कर्मचारीहरूले भने प्रमुखको दबाबमा आफूहरू संलग्न रहेको बयान दिएका छन् । नयाँ नेपाल सारथि लघुवित्त वित्तीय संस्था, प्रधान कार्यालय, काठमाडौंका सिइओ सरोज घिमिरेले शाखा प्रमुख लोहार पक्राउ परेको र निजविरुद्ध अनुसन्धान भइरहेको बताए । उनले घटनाको अनुसन्धानपछि थप कुरा बाहिरिने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस