प्रस, वीरगंज, २० मङ्सिर/
सामुदायिक सेवा केन्द्र, मुर्ली– श्रीपुरको आयोजनामा सोमवार वीरगंज–११ स्थित अल्पाइन माविमा निश्शुल्क आँखा तथा दाँत शिविर सम्पन्न भएको छ ।
शिविरको उद्घाटन सांसद प्रदीप यादवले गरेका थिए । उनले सामुदायिक सेवा केन्द्रले गरेको कामको प्रशंसा गरे । साथै सामुदायिक सेवा केन्द्र वीरगंज महानगरपालिका मात्र सीमित भएकोमा दुःख व्यक्त गर्दै यसको दायरा अन्य पालिकाहरूमा पनि बढाउन सुझाए । सामुदायिक सेवा केन्द्रले समुदायभित्र रहेका सानातिना विवादहरूलाई निराकरण गर्ने हुँदा प्रहरीलाई अन्य काम गर्नमा सघाउ पुगेको हुनाले यसलाई पालिकाका अन्य स्थानमा पनि विस्तार गर्नुपर्ने बताए । सांसद यादवले सामुदायिक सेवा केन्द्र मुर्लीले जग्गाको व्यवस्था गरेको खण्डमा आफूले भवन निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।
केन्द्रका अध्यक्ष राम सर्राफको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद अन्सारी, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत, प्रनाउ प्रह्लाद कार्की, सामाजिक अभियन्ताहरू प्रकाश थारू, कमल चौगाईं, जसपाल सिंह, हीरा गिरी, रेखा घिमिरे, दिलीप प्रधान, विनोद उपाध्यायलगायतको सहभागिता थियो ।
कार्यक्रममा वीरगंज सामुदायिक आँखा अस्पतालका प्राविधिकहरूले विद्यार्थी र अभिभावक गरी एक हजारजनाभन्दा बढीको आँखा र दाँत परीक्षण गरेको अस्पतालका महेशसिंह धामीले बताए। उनले २६ जनामा मोतीबिन्दु र अधिकांश विद्यार्थीमा दृष्टिदोष फेला परेको जानकारी गराएका छन् ।