म्यानमाकी नेत्री सुकीलाई चार वर्षे जेलसजायको फैसला

0

याङ्गुन, २० मङ्सिर/एएफपी

म्यानमाकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई म्यानमाको सैनिक सरकारले चार वर्ष जेलसजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोना भाइरसविरुद्धका नियमहरू उल्लङ्घन गरेको आरोपमा उनलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।

सुकीसँगै पूर्वराष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेलसजाय तोकिएको छ । दुवैजनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया नेत्री सुकीलाई म्यानमाको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उनलाई कारागार चलान गर्नुपर्ने फैसला सोमवार गरिएको भएपनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकीन भने नभएको समाचारमा जनाइएको छ ।

कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्दा लगाएर दोषी देखाएको आरोप पनि लगाएका छन् । नेत्री सुकीलाई योबाहेक आर्थिक अनियमितता गरेको, शक्ति र स्रोत साधनको दुरुपयोग गरेकोलगायतका दर्जनौं मुद्दा सैनिक सरकारले लगाएको छ । ती मुद्दाहरूमा दोषी ठहर भएमा उनलाई आजीवन जेल सजाय हुनेछ । ती मुद्दाहरूमा अहिले सुनुवाइ भइरहेको छ ।

तर सुकी र उनका समर्थकहरूले भने राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले झूटा आरोप र मुद्दाहरू लगाएको दाबी गरेका छन् । निर्वाचित सरकार र संसद्लाई समेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेबु्रअरी १ मा सत्ता हातमा लिएको हो । सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमामा लामो समय आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १३ सयभन्दा बढीको मृत्यु भएको थियो भने अरू कैयौं घाइते भएका थिए । त्यसैगरी, आन्दोलनमा सहभागी भएकामध्ये हजारौंलाई प्रहरीले गिरफ्तार गरेको छ ।

तत्कालीन नवगठित संसद्को निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट रहेको सेनाले फेरि निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दाबी गरेको छ । तर अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन । सैनिकले निर्वाचित सरकार र संसद्लाई विघटन गरी आफूखुशी सत्ता हातमा लिएपछि विश्वभरिबाट विरोध भएको छ भने कतिपयले सहकार्य र सहयोग पनि रोकेका छन् । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here